चोर बाटोबाट भित्रिन्छन् कामदार, स्वास्थ्य सुरक्षामा चुनौती « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चोर बाटोबाट भित्रिन्छन् कामदार, स्वास्थ्य सुरक्षामा चुनौती


१८ चैत्र २०७६, मंगलबार


बाँके । छिमेकी मुलुक भारतको दिल्ली, कानपुर र पञ्जाबबाट चोर बाटो हुँदै आइतबार नरैनापुर भित्रिएका कामदारको स्वास्थ्यजाँचपछि चिकित्सकले उनीहरुलाई घरमै बस्न सल्लाह दिएका छन् ।

कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै भारतले गरेको लकडाउनपछि ज्यालादारीमा काम गरिरहेका नेपाली मजदूरहरु भारतका विभिन्न शहरबाट फिर्ता हुन थालेका छन् । भारतको विभिन्न राज्यबाट उत्तर प्रदेशका लागि सञ्चालन गरेको बस सेवामा कुनै प्रकारले बसेर नेपालका विभिन्न नाकामा आइपुगेका मजदूरहरुलाई व्यवस्थापन गर्न सुरक्षा चुनौती हुँदै गएको पाइएको छ । तर पनि नागरिक स्वास्थ्यलाई मध्यनजर गरेर योजनाहरु अघि बढाइएका छन् ।

बाँके नरैनापुर गाउँपालिकाले नरैनापुरमा स्थापना गरेको १० शय्याको क्वारेन्टाइन र नेपालगन्जस्थित सञ्चालन गरेको ५० शय्याको क्वारेन्टाइन भरिएको गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए । ‘हामीलाई व्यवस्थापन गर्नमै समस्या उत्पन्न भइरहेको छ’, उनले भने ।

नरैनापुर गाउँपालिकाले भारतसंग जोडिएका सबै नाका गत शनिवारबाट नै बन्द गरेको छ । भारतीय क्षेत्रमा कोरोना सङ्क्रमण तीब्र रुपमा बढ्दै गएपछि सबै सीमानाकाबाट आवागमन अनिश्चित समयका लागि रोकिएको हो । तर पनि, घर आउने कामदारलाई सरकारले रोक्न सकिरहेको छैन् । नरैनापुर भारतीय क्षेत्र श्रावस्ती र बहराइचसँग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना सङ्क्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि त्यस क्षेत्रमा सुरक्षा निगरानी र सतर्कता बढाइएको छ । भारतको दिल्ली, पञ्जाब, महाराष्ट्र, हरियाना, मध्यप्रदेश, उत्तरप्रदेश लगायत राज्यबाट त्यहाँ काम गरिरहेका नेपाली नागरिक फर्कने क्रम जारी छ ।

नरैनापुरमा गाउँपालिकाले हालसम्म ४२ जनालाई नेपालगञ्जस्थित क्वारेन्टाइनमा र ५४ जनालाई घरकै क्वारेन्टाइनमा व्यवस्थापन गरेको छ । यसअघि १५० भन्दा बढीको स्वास्थ्य जाँच गरि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । रोजगारीका लागि भारततर्फ गएका कामदारहरु मुख्य नाका नभई विभिन्न भित्रीबाटो प्रयोग गरि आउन लागेकाले सुरक्षा चुनौती बढ्दै गएको हो । ‘हाम्रो काम नेपाल भित्रिएको कामदारलाई स्वास्थ्य कार्यालयको जिम्मा लगाउने हो’, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानबहादुर बिसीले भने, ‘यसरी भित्रिएका व्यक्तिहरुको आवश्यकता बमोजिम व्यवस्थापन हुन नसक्दा चुनौतीपूर्ण बनेको छ ।’ भारतीय क्षेत्रबाट फर्किने सबै कामदारको स्वास्थ्य जाँच गराउन स्वास्थ्यकर्मीहरु परिचलन गरिएको छ ।

दिल्लीबाट ३ दिनअघि पैदल हिँडेका नरैनापुर—५ का मनिराम यादवले भने, ‘त्यहाँ कम्पनी र काम सबै बन्द भएपछि फर्कनुको विकल्प थिएन ।’ उहाँसँगै नरैनापुर—५ र ६ का ५४ जना फर्किएका छन् ।

अझै भित्रिंदै सयौं नेपाली
भारतले गत मङ्गलबारदेखि देशलाई पूर्णरुपमा लकडाउन गरेको छ । मानिसलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ । तर, त्यसको पालना भने हुन सकेन । भारतमा आन्तरिक र विदेशी कामदारहरु आफ्नो गन्तव्यमा फर्किन पाएनन् । भारतबाट भारतकै विभिन्न ठाउँ तथा नेपालबाट त्यहाँ गएका लाखौं कामदारको भीड बसपार्कमा लाग्न थाल्यो । मानिसहरु हिडेर तथा बसको सहायताबाट अहिले पनि घर फर्किरहेका छन् ।

भारतको केन्द्र सरकारले राज्य सरकारलाई सीमा बन्द गर्न भने पनि घर फर्किनेहरुका कारण त्यो प्रभावकारी हुन सकेको छैन । लकडाउनको झण्डै एकसाता हुँदा पनि सयौं नेपाली अझै फर्किरहेका छन् । सोमबार विहान मात्रै भारतको रुपैडिहाबाट बाँकेको जमुनाह नाका हुँदै केही नेपाली स्वदेश फर्किएका छन् ।

भारतीय अधिकारीहरुले नेपाली अधिकारीको समन्वयमा उनीहरुलाई नेपाल पठाउने गरेको रुपैडिहाका पत्रकार सन्तोष शुक्लाले बताए । भारतबाट फर्कनेले अनेकौं दुःख भोगेर नेपाल फर्किएको बताएका छन् । कतै हिडेर त कतै बसको यात्रा गरेर उनीहरु रुपैडिहासम्म आइपुगेका हुन् ।

नेपाल प्रवेश गरेका नेपालीलाई प्रशासनले बसमार्फत सम्बन्धित जिल्ला पठाइदिने गरेको छ । भारतबाट फर्किने नेपालीलाई रोक्न नसकिने र उनीहरु भित्रिदा जोखिम बढिरहेको अवस्था अझै विद्यमान रहेको छ । भारतबाट भित्रिने नेपालीलाई यहाँ आएपछि निगरानीमा राख्न अत्यावश्यक छ । यद्यपि, आउने सबैको सीमामा स्वास्थ्य चेकजाँच भने हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस