संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संवेदनशील भएर काम गर्न स्वास्थ्यमन्त्री ढकालको निर्देशन


१९ फाल्गुन २०७६, सोमबार


अत्तरिया । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन् । कैलालीको सेती प्रादेशिक अस्पतालको निरीक्षणका क्रममा आज धनगढी पुगेका उनले स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएकाले स्वास्थ्यकर्मीले इमान्दार भएर सेवा दिनुपर्ने बताए ।

सरकारले एक प्रदेश एक अस्पताल एक प्रतिष्ठानको नीति अवलम्बन गरेको बताउँदै सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न अस्पताल र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा विकास गरिने उनले जानकारी गराए । उनले खटाइएका स्थानमा स्वास्थ्यकर्मी काम गर्न नगए पहिलो सचेत, दोस्रो पटक लिखित जानकारी दिइने उल्लेख गर्दै अझै नमाने कामबाट बिदाइ गरिने बताए ।

उनले देशका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दीअनुसार कर्मचारी अभाव रहेकाले जुन ठाउँमा कार्यरत स्वास्थ्यकर्मी छन् त्यही व्यवस्थापन गरिने र अभाव भएका स्थानमा नीति बनाइ सरकारले स्वास्थ्यकर्मीको माग गर्ने उल्लेख गरे । सो प्रादेशिक अस्पताल सुदूरपश्चिमकै विश्वसनीय अस्पताल भएकाले स्तरोन्नतीका लागि संघीय सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस