हुम्लाको नाम्खा : एक जोखित तर मनोरञ्जनपूर्ण यात्रा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हुम्लाको नाम्खा : एक जोखित तर मनोरञ्जनपूर्ण यात्रा


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


हामी कामको सिलसिलामा मुचु जानु पर्ने । मुचु नाम्खा गाउँपालिकाको सदरमुकाम याल्वाङ्ग बाट तीन घण्टाको दुरीमा पर्दछ । जिल्ला सदरमुकाम सिमिकोटबाट याल्वाङ्ग पुग्न १ दिन लाग्छ । तर हामीलाई एक दिन र एक बिहान लागेको थियो ।

हुम्ला सडक सञ्जालले अन्य जिल्लाहरूसँग नजोडिएको एक मात्र जिल्ला हो । त्यसैले म र मेरा दुई जना साथीहरू पैदल यात्रा गर्दै थियौँ । बाटोमा जाँदै गर्दा दुई जना डाँडाफायाका स्थानीयहरूले २ वटा झुपा(गोरु) मा दाउरा ल्याई सिमिकोटमा बेचेर फर्कँदै रहेछन् । हामीले सिमिकोटको लाग्ना(भज्याङ्ग) मा उनीहरूलाई भेट्यौँ । लाग्नाबाट माथिल्लो डाँडाफाया जान करिब ४५ मिनेटको बाटोमा झुपावालाहरु हाम्रो साथी भए । हामीले ब्याग झुपालाई बोकायौँ ।

हुम्लामा प्रमुख माल समान बोक्ने साधन खच्चर, घोडा, झुपा, भेडा तथा बाख्राहरू हो । तथापि जिल्लाका केही स्थानहरूमा आन्तरिक रूपमा यातायातका साधनहरू चल्ने गर्दछन् ।

तिब्बतबाट पनि हुम्लाको केही स्थानहरूमा स्थलगत यातायातको साधनहरू आउने गर्दछन् । जिल्ला सदरमुकाम सिमिकोटबाट खुर्पानाथ गाउँपालिकाको खुर्पानाथ, नाम्खा गाउँपालिकाको हेप्का, चौहनफायासम्म यातायातका साधनहरू चल्ने बाटोहरू बनेको छ । त्यसैगरि चीनबाट नाम्खाको केर्मि भन्ने ठाउँसम्म हिउँदमा हिउँ नपर्दासम्म यातायातका साधनहरू फाट्टफुट्ट चल्ने गर्छन् ।

चीन तिरको बाटोमाबाहेक सिमिकोट तिरबाट खार्पुनाथ जानको लागि ३–४ वटा जिपहरू नियमित चल्ने गर्छन् भने नाम्खाको हेप्का चौवनफायातिर रिजर्भ गर्दा मात्र जाने गर्दछ । खार्पुनाथ मन्दिर खार्पुनाथ गाउँपालिकाको एउटा महत्त्वपूर्ण धार्मिक महत्त्व बोकेको स्थान हो । यो ठाउँमा महादेवले तपस्या गरेको भन्ने स्थानीय बासीहरूको विश्वास रहेको छ ।

यो मन्दिरबाट करिब तीन किलोमिटरको दुरीमा खार्पुनाथ गाउँपालिकाको सदरमुकाम याङ्चुबगर रहेको छ । मन्दिरबाट अगाडी एउटा दोजाम खोला छ । खार्पुनाथ मन्दिरको तल पट्टी कर्णाली र दोजाम खोला मिसिन्छ । खार्पुनाथ जानको लागि दोजाम खोला तर्नु पर्ने हुन्छ । खोला तर्ने बित्तिकै याङ्चुबगरसम्म सडक राम्रो बनेको छ । गत वर्षको फागुनतिर पारी लगेर एउटा जिप गाउँपालिकाको सदरमुकामसम्म जाने आउने गर्नका लागि सञ्चालनमा रहेको थियो । यही असारको ३ गते यात्रुहरूलाई लिएर याङ्चुबगर जाँदै गर्दा उक्त जिप दुर्घटना भएर कर्णालीमा खसेको थियो । उक्त दुर्घटनामा खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष सहित १० जनाको मृत्यु भएको थियो ।

नाम्खा गाउँपालिकाको केर्मि भन्ने ठाउँसम्म चीनबाट हिल्सा हुँदै आउने बाटो खुलेको छ । केर्मि गाउँको तल एउटा च्याछरा भन्ने भिर रहेको छ । च्याछरा भिरमा कडा खालको चट्टान तथा ठाडो भिर भएकाले उक्त भिरमा मोटर बाटो बनाउन कठिन छ ।

नेपाली सेनाले बाटो बनाउने क्रममा भिरमा बम ब्लासिटङ्ग गरेर केही बाटो बनाउँदै पनि छ । त्यसै क्रममा हिँड्ने बाटो भत्कँदा एक ठाउँमा यात्रुहरू डोरीमा झुण्डिएर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । हामी पनि उक्त भिरमा जोखिमपूर्ण तरिकाले डोरी समातेर पार गरेका थियौँ ।

तल कर्णाली एक दम बेगले बगीरहेकोछ । घामको तातोले डाँडाको मथी माथि रहेको हिउँ पग्लेर कर्णाली नदीमा मिसिएर नदीको बेग तीव्र बनेको छ । बाटोमा डोरीको सहायताले भिर पार गर्ने क्रममा डोरीबाट हात छोडियो भने जीवन रहने वाला छैन । त्यस भिरमा पुग्नु भन्दा अलिकति वर एउटा गज्जबको झर्ना रहेको छ । त्यो झर्ना हेर्दा एक दम आनन्द आउने खालको छ । पानी धेरै माथिबाट खस्दाको फोर्सले गर्दा बाफ जस्तो उडेको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस