वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे


२८ बैशाख २०८१, शुक्रबार


चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।  चोरी सिकारी गर्नेले दुई वटा मारेका तथा अन्य १९ वटा काल गतिले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सात वटा भाले, सात वटा पोथी र पहिचान नभएका सात वटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् । संख्या बढेपछि वासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्न सके गैँडा संरक्षणमा सहयोग पुग्छ ।” यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए।

गत आर्थिक वर्षमा  १३ वटा भाले, सात वटा पोथी र एउटा पहिचान हुन सकेको गैँडा मरेको थियो । हाल निकुञ्जमा  छ सय ९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस