विपद् व्यवस्थापनमा तिलोत्तमाको नयाँ सङ्कल्प « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विपद् व्यवस्थापनमा तिलोत्तमाको नयाँ सङ्कल्प


२३ बैशाख २०८१, आइतबार


रुपन्देही । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रको विपद् व्यवस्थापन सम्बन्धमा नवीन सोच र सङ्कल्प अघि सारेको छ । 

विपद् व्यवस्थापनका लागि नगरपालिकाले विपद् व्यवस्थापन टाक्स फोर्स (डिजास्टर म्यानेजमेन्ट टाक्स फोर्स) बनाएर परिचालन गर्ने तयारी थालेको छ । यसै सन्दर्भमा नगरपालिकाले प्रत्येक वडाबाट पाँच/पाँच जना स्वयंसेवक छनोट गरी विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिमसमेत प्रदान गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बुँदा नं १२१ मा विपद् व्यवस्थापनको कार्यमा स्वयंसेवकको रूपमा कार्य गर्न इच्छुक प्रत्येक वडाका पाँच/पाँच जना स्वयंसेवकलाई विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तालिम प्रदान गरी विपद् व्यवस्थापन टाक्स फोर्सको रूपमा परिचालन गरिने उल्लेख भए अनुसार नगरपालिकाले तालिम प्रदान गरेको हो ।

यस प्रकारको डिजास्टर म्यानेजमेन्ट टाक्स फोर्सले विपद् व्यवस्थापन सम्बन्धमा नगरपालिकाको जनशक्तिलाई ठूलो सहयोग मिल्ने नगरपालिकाले विश्वास लिएको छ । समुदायमा विपद् नै आउन नदिन पूर्व सावधानीका उपाय अवलम्बन गर्न, विपद् आइ परेमा पनि बढी क्षति हुन नदिन विपद् उत्थानशील संरचना निर्माण गर्न, विपद्को समयमा खोज र उद्धारका कार्यक्रम सञ्चालन गर्न तथा विपद् पश्चात् पूर्व लाभ र पुनर्स्थापनाका कार्यहरू सञ्चालन गर्न समेत यो टाक्स फोर्स प्रभावकारी हुने नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले टाक्स फोर्सलाई आगामी वर्षमा थप क्षमता विकासका कार्यक्रम सञ्चालन गरेर अझ बढी प्रभावकारी बनाइने बताए । टाक्स फोर्सको व्यक्तिगत विवरण सहितको डाइरेक्टरी प्रकाशन गरेर नगरपालिका, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय पठाउने तयारी नगरपालिकाले गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार उनीहरूलाई परिचयपत्र तथा विपद् व्यवस्थापनका आधारभूत उपकरण समेत नगरपालिकाले प्रदान गर्ने कार्यक्रम रहेको छ । १७ वडामा पाँच जनाका दरले तयार पारिएका ८५ जना जनशक्ति समग्र जिल्लाकै विपद् व्यवस्थापनमा समेत नमुना रूपले परिचालित हुने अर्यालले बताए ।

वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्रीले नगर स्तरमा रहेको विपद् व्यवस्थापन समितिलाई वडा वडासम्म पुर्‍याउने योजना अनुसार प्रत्येक वडाबाट स्वयं सेवक छनोट गरेर टाक्स फोर्स बनाइएको र यसले विपद् न्यूनीकरणमा सहयोग पुर्‍याउने छ । टाक्स फोर्समा स्वयम् सेवाको भावना रहेका, शारीरिक रूपमा तन्दुरुस्त, उच्च मनोबल भएका व्यक्तिलाई समावेश गरिएको उनले बताए ।

सोमबार र मङ्गलवार चलेको तालिममा विपद् व्यवस्थापनका तालिमकर्मी/प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिएको थियो । तालिम समापनका अवसरमा प्रशिक्षार्थीले यो नितान्त नौलो अभ्यास भएको र यसले आफूहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा स्वयंसेवा प्रदान गर्न उत्प्रेरित गरेको धारणा व्यक्त गरे ।

स्थानीय सरकार सञ्चालन ऐन (२०७४),ले वन वातावरण तथा विपद् व्यवस्थापनलाई विकासको एक प्रमुख क्षेत्रको रूपमा व्याख्या गरेको छ । विपद्बाट आफ्ना बासिन्दालाई बचाउनु स्थानीय सरकारको प्रमुख कार्य जिम्मेवारी पनि हो ।

आपतकालिन कार्य सञ्चालन केन्द्र
तिलोत्तमा नगरपालिकाले केही दिनमा नै स्रोत, साधन सम्पन्न स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र (लोकल लेभल इनर्जी अपरेसन सेन्टर एलइओसी) सुरुवात गर्दै छ । गत महिना मात्र तिलोत्तमा नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय तह आपतकालिन केन्द्र सञ्चालन कार्यविधि पास गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

यसै गरी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक र प्रमुख रणनीतिक स्थानमा जडान गरेका सिसिटिभी क्यामेराहरूको कन्ट्रोल सेन्टरको रूपमा नगरपालिका परिसर भित्र ‘तिलोत्तमा इन्फरमेसन सेन्टरको सुरुवात यसै महिना भित्र गर्ने तयारी गरेको छ ।

तिलोत्तमा नगरपालिका अन्य क्षेत्रका अलावा वन, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा देशभरमै अनुकरणीय काम गर्ने नगरपालिका हो । नगरपालिका एमसीआर २०३० मा समेत संलग्न भई विपद् उत्थानशील संरचना निर्माणमा समेत सहभागी हुँदै आइरहेको छ । यसका अलावा तिलोत्तमा सिटीनेटको क्लाइमेट चेन्जको क्लस्टरमा समेत सहभागी भइ विभिन्न विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।

तिलोत्तमा नगरपालिकाको नगर सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान देशभरकै उत्कृष्ट कार्य मध्येको एक हो । गत वर्ष तिलोत्तमाले हरियाली प्रवर्द्धन तथा नगर सरसफाइ अभियानको १०० औँ शृङ्खला भव्यताका साथ मनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस