धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट 


१० बैशाख २०८१, सोमबार


बरहथवा (सर्लाही) । घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका-१ शिवनगरमा आज तीन वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुई वटा पसल जलेको छ । त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उनकै औषधि पसल र जुत्ता-चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ । 

आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर  ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो । 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस