एमालेले जनताका मुद्दा सम्बोधन गर्छः उपमहासचिव ज्ञवाली  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमालेले जनताका मुद्दा सम्बोधन गर्छः उपमहासचिव ज्ञवाली 


१ बैशाख २०८१, शनिबार


दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् ।  एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताए ।

उपमहासचिव ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाइएको उल्लेख गरे । उमले भने, “विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो, तर त्यो सम्भव थिएन र भएन ।”

एमाले जनताको प्रिय पार्टी भएकाले सिध्याउन सम्भव नभएको भन्दै उनले वर्तमान राजनीतिक कोर्षलाई सही दिशामा ल्याउन एमालेको भूमिका रहेको उल्लेख गरे । उनले भने, “सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ । देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ ।”

घेराबन्दीको बाबजुद पनि एमाले देशको प्रमुख शक्ति भएको हुँदा एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनको भनाइ थियो । भ्रष्टाचारविरुद्धको लडाइँमा कुनै पक्षपात नगरिने हुँदा अब देश निर्माणमा सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा ज्ञवालीले जोड दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस