लाइसेन्स परीक्षामाथि नै प्रश्न: निर्देशिका अनुसार छैनन् ट्रायल सेन्टर, प्राविधिक रिपोर्ट ठिकठाक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लाइसेन्स परीक्षामाथि नै प्रश्न: निर्देशिका अनुसार छैनन् ट्रायल सेन्टर, प्राविधिक रिपोर्ट ठिकठाक


२९ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टर कानूनविपरीत रहेको पाइएको छ ।

काठमाडौँ उपत्यकाका ट्रायल सेन्टर सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार नभएको पाइएको हो । जसका कारण ती सेन्टरबाट भएका प्रयोगात्मक परीक्षा नै विधिसम्मत भएनन् । लाखौँ लाइसेन्समाथि यसले प्रश्न चिन्ह खडा गरेको छ ।

निर्देशिका अनुसार सवारी चालक अनुमति पत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दा ले आउट र टेस्टहरूमा बिचको दुरी कम या बढी राख्न नपाइने उल्लेख छ । यसैगरी ट्राफिक लाइट पोलको स्थान जेब्रा क्रशिङ भन्दा पछाडि राखेको हुनु पर्ने निर्देशिकामा उल्लेख छ । तर, ट्रायल सेन्टमा निर्देशिका अनुसारको ले आउट र सिक्वेन्स मिलाइएको छैन । ट्राफिक लाइट फरक स्थानमा छ भने जेब्रा क्रसिङ पनि निर्देशिका अनुसार राखिएको छैन ।

ट्रायल सेन्टरले परीक्षार्थीलाई सजिलो बनाउन स्पीड ब्रेकर टेस्टमा मेटल प्लेट राखी लामो बनाइएको पाइएको छ । निर्देशिकामा मेटल प्लेट राख्ने प्रावधान छैन । 

ग्यारेज पार्किङ टेस्ट एउटा हुनु पर्नेमा सँगसँगै दुई वटा रहेको,  लेआउटमा राइट टर्नको प्रावधान निर्देशिकामा नरहे पनि दुई वटा राइट टर्न राखेको पाइएको छ ।

प्रवेशको चौडाइ, पहेँलो मार्किङको चौडाइ, बम्पको उचाइ निर्देशिका अनुसार छैनन् । निर्देशिकाले सरकारी ट्रायल सेन्टरमा सिक्वेन्स हुनै पर्ने अनिवार्य गरेको छ । तर, निजीलाई यो बाध्यात्मक छैन । तर, निजीमा पनि जेब्रा क्रशिङ मेटिएको अवस्था छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको स्थलगत छानबिनको क्रममा ट्रायल सेन्टर कानुनले तोके बमोजिम नभएको पाइएको हो । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा प्रयोजनको लागि काठमाडौँ उपत्यकाभित्र रहेका ट्रायल सेन्टरहरू प्रचलित कानुनमा तोकिएको मापदण्ड अनुरूप भए/नभएको सम्बन्धमा केन्द्रले स्थलगत छानबिन गरेको केन्द्रका सचिव राम आधार साहले जानकारी दिए । 

प्र.ना.उ. बुद्धिराम खनाल, ना.अ. बिमला क्षेत्री, ई. दिनेश भण्डारी र स.ई. सुनिल कुमार यादवको टोलीले करिब १० दिन लगाएर उपत्यकाका ट्रायल सेन्टरको स्थलगत निरीक्षण गरेको थियो । यातायात व्यवस्था कार्यालयबाट सञ्चालन भएका प्रयोगात्मक परीक्षा स्थल निर्देशिका अनुसारका सञ्चालन नभएको पाइएको प्र.ना.उ. खनालले बताए ।

केन्द्रले सरकारी ट्रायल सेन्टर र निजी प्रशिक्षण सेन्टरको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बिदामा भएको कर्मचारीको परिचयपत्र झुुण्डाएर बाहिरी मान्छे खटिएको पाइएको थियो ।

कानुनको उल्लङ्घन, निर्देशिका विपरीत ट्रायल सेन्टर
काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका ट्रायल सेन्टरले कानूूनको उल्लङ्घन गरेका छन् । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ ले तोकेको मापदण्डविपरीत ट्रायल सेन्टर बनाइएको छ । 

इजी वे ट्रायल सेन्टर प्रालि, राधेराधे, भक्तपुर– दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लागि तोकिएको लेआउटको क्रम नमिलेको पाइएको छ । दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म राखिएको छैन । 

न्यारो प्लङकको स्लोप पार्ट बिग्रेकोले वास्तविक नाप लिन नसकिएको केन्द्रले जनाएको छ । ग्यारेज पार्किङ टेस्ट एउटा हुनु पर्नेमा सँगसँगै दुई वटा रहेका छन् । लेआउटमा राइट टर्नको प्रावधान निर्देशिकामा नरहे पनि दुई वटा राइट टर्न राखेको पाइएको छ ।

बुढाथोकी ट्रेडर्स एण्ड ट्रेनिङ स्कुल, भक्तपुर– स्थलगत निरीक्षणका क्रममा उक्त सेन्टरमा तोकिएको लेआउटको क्रम मिलेको र अन्य प्रावधान पनि मिलेको अवस्थामा पाइएको थियो ।

भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रा.लि, गुर्जुधारा– दुई पांग्रेको लागि तोकिएको लेआउटको क्रम नमिलेको पाईको छ । स्पीड ब्रेकर टेस्टमा मेटल प्लेट राखी लामो बनाइएको छ । 

चार पाङ्ग्रे (साना सवारी, मझौला सवारी, ठूूला सवारी)को तोकिएको लेआउटको क्रम नमिलेको पाइएको छ । निर्देशिकामा तोके अनुसार ट्राफिक सिग्नल टेस्ट नभएको पाइएको छ ।

नेपाल डाईभिङ एण्ड रिकण्डिसन सेन्टर प्रा.लि., गोकर्णेश्वर– सबैको तोकिएको लेआउटको क्रम मिलेको पाइएको छ । दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म नभएको पाइएको छ । 

सुजुकी ड्राइभिङ स्कुल प्रा.लि., एकान्तकुना – दुई पाङ्ग्रे÷चार पाङ्ग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको पाइएको छ । केन्द्र विन्दुमा रुख÷पोल भएकोले फिगर आठ टेस्ट÷यु टर्न टेस्टको एकिन नाप जाँच गर्न नसकिएको केन्द्रले जनाएको छ। 

दुई पाङ्ग्रे सवारी साधनको बम्पी टेस्ट अन्तर्गत पिसिसि प्लेटफर्म नभएको पाइएको थियो । दुई र चार पाङ्ग्रे सवारी साधनको ट्राफिक सिग्नल निर्देशिकामा तोकिए बमोजिम नभएको पाइएको थियो । 

सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र, ललितपुर (निजी)– यो सेन्टरमा पनि लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नाप जाँच गर्दा तोकिए बमोजिम नभएको पाइएको थियो ।

एकान्तकुना ड्राइभिङ सेन्टर, ललितपुर (निजी)– लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नाप जाँच गर्दा तोकिए बमोजिम कुनै मापदण्डमा पुरा गरिएको छैन ।

प्राविधिक रिपोर्ट ठिकठाक
ट्रायल सेन्टरको अनुगमन तथा निर्देशन दिने निकाय यातायात व्यवस्था कार्यालय हो । तर, कार्यालयका जिम्मेवार पदाधिकारीले निर्देशिका विपरीतका ट्रायल सेन्टरलाई कारबाही गर्नुको सट्टा उल्टै प्राविधिक रिपोर्ट ठिक रहेको प्रतिवेदन तयार गरेका छन् । अनुगमन गर्ने प्राविधिकले निर्देशिका अनुसार नभएकालाई पनि स्वीकृति प्रदान गरी प्राविधिकरुपमा दुरुस्त रहेको प्रतिवेदन तयार गरेका छन् । 

निर्देशिका विपरीत सञ्चालन अनुमति प्रदान प्राविधिकहरूलाई कानुन बमोजिम कारबाही गर्न र कानुन अनुसार तोकिएको मापदण्डबमोजिम सञ्चालनमा ल्याउन निर्देशन दिने तयारी सतर्कता केन्द्रले गरिरहेको छ ।

अर्कोतर्फ निजी ड्राइभिङ स्कुलहरू के÷कति सञ्चालनमा छन् भन्नेबारेमा पनि कार्यालयहरू बेखबर छन् । अनुमति लिए÷नलिएको र नवीकरण भए/नभएको विषयमा पनि एकिन विवरण सरकारसँग छैन । 

निजी ड्राइभिङ स्कुलहरूले मनलाग्दी ढङ्गले रकम असुलउपर गरेको गुनासो आउने गरेको छ । मापदण्डमा सञ्चालन भएकालाई सेन्टरलाई नवीकरण गरी सञ्चालनमा ल्याउने, दर्ता भएका तर नवीकरण नभएकालाई तोकिए बमोजिम नवीकरण गर्ने, दर्ता नभएकालाई मापदण्ड अनुसार प्रयोगात्मकता परीक्षा स्थल बनाउन लगाउने र मापदण्ड पुर्‍याउन नसक्नेलाई बन्द गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस