सुरक्षण मुद्रण सम्बन्धी विधेयक शिक्षा समितिबाट पारित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुरक्षण मुद्रण सम्बन्धी विधेयक शिक्षा समितिबाट पारित


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरेको छ ।

समितिको सोमवार बसेको बैठकले राष्ट्रिय सभामा प्रस्तुत भई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त सभाबाट पारित भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई संशोधनसहित पारित गरेको हो ।

बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो । छलफलपछि समितिले सर्वसम्मत रूपमा विधेयकलाई पारित गरेको छ ।

समिति सभापति अम्मरबहादुर थापाले विधेयक मङ्गलवार (भोलि) बस्ने प्रतिनिधि सभा बैठकमा पेश हुने गरी विधेयक पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरेका थिए । लगत्तै सबै सदस्यहरूले सहमति दिएसँगै विधेयक पारित भएको हो ।

पारित भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयकमा सुरक्षण मुद्रण सामग्री भन्नाले प्रयोगका लागि तयार गरिएको नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्तशुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र, जग्गाधनी दर्ता प्रमाण पुर्जा वा डिजिटल नक्सा सम्झनुपर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुरक्षण मुद्रण सामग्री भनी तोकिएका अन्य सामग्रीलाई समेत जनाउँछ भनेर परिभाषित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस