कुरो हैसियतको « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुरो हैसियतको


२५ चैत्र २०८०, आइतबार


अमात्यहरूमध्ये कन्नट नामको अमात्यले मौका पर्दा निजी सचिवलाई हेप्ने र निचा देखाउने कार्य गर्दथे। कन्नटको व्यवहार मन नपरे पनि निजी सचिवले कुनै प्रतिक्रिया दिएका थिएनन्। कन्नटको व्यवहार बिस्तारै सहन सक्ने क्षमताको बाहिर जान थालेकोले निजी सचिवले सम्झाउने प्रयास गरे तर ‘विनाश काले विपरीत बुद्धि’ भने जस्तै गरेर अझै अपमान गर्‍यो। निजी सचिवले कन्नटलाई पाठ सिकाउने सोच बनाएर आफूलाई संयमित राखे।

राजा सम्भव भएसम्म प्रायशः साँझपख बगैँचामा रानीसहित घुम्न जाने गर्थे। कुनै कुनै दिन एक्लै पनि टहल्न निस्कने गरेका थिए। एक दिन साँझपख राजा एक्लै बगैचातिर घुम्न निस्केका थिए। जाने बेलामा निजी सचिवले उठेर सम्मान गरे। आज अवसर मिलेको छ, यसलाई उपयोग गर्छु भनेर निजी सचिवले तयारी गरे। जब राजा फर्कदैं गरेको देखे, निजी सचिव आफ्नो योजना अनुसार तयार भए।

जब राजा उनको नजिक आई पुगे, झकाएको(निदाएको) बहाना गर्दै ‘त्यो कन्नट मन्त्री मौका पर्नासाथ रानीलाई आँखा लगाउने, लाज पचेको नकच्चरो, राजाको विश्वास नपचेको बदमास…’ जस्ता कुरा भन्न थाल्यो। राजा चुप लागेर सुनिरहे । केहिबेर कन्नटको विषयमा कुरा गरेर निन्द्राले लट्ठ भए जस्तो गरेर सुत्यो। राजा भित्र गए। केहिबेर सोचेर राजाले निजी सचिवलाई भित्र बोलाए। निजी सचिव डराएको भाउभंगीमा भित्र गएर हजुर सवारी भएको थाहा पाइन, रिसानी माफ होस भन्यो। राजाले कुनै प्रतिक्रिया दिएनन्।

राजाले केही बेरपछि दरबारमा मन्त्रीमण्डलको बैठक राख्न लगाए । राजा रानीसहित बैठकमा उपस्थित भए। छलफल शुरु भयो, राजाको ध्यान कन्नटतर्फ केन्द्रित थियो। राजालाई कन्नटको आँखा महारानीतर्फ मात्र लक्षित भए जस्तो लाग्यो । बेला बेलामा चिम्लिएको आँखाले रानीलाई संकेत गरेको भन्ने बुझे।

राजाले एकिन गर्नको लागि भोलिपल्ट निजी सचिवलाई बोलाएर हिजो अर्ध निन्द्रामा के भनेको भनेर सोधे । निजी सचिवले थर्थरी काँप्दै ‘सरकार नाति बिरामी भएकोले रातभरि अनिदो बस्नु पर्‍यो, त्यही भएर हजुर सवारी हुँदा झकाएछु, केही उचनिच भए क्षमा बक्सियोस्’ भने । राजाले अहिले जाऊ भनेपछि निजी सचिव बाहिर निस्कियो र तिर निशानामा लागेकोमा मुस्कुराए ।

केही बेरमा राजाले पुनः निजी सचिवलाई बोलाएर अर्ध निन्द्रामा भनेको कुरा सुनाए । निजी सचिवले त्यसो त नहुनु पर्ने महाराज भने। राजाले अत्यन्त विश्वास गर्ने भएकोले मन्त्रीपरिषद्को बैठकमा कन्नटको गतिविधिमाथि निगरानी गर्ने जिम्मा त निजी सचिवलाई सुम्पिए ।

केही बैठकहरूमा कन्नटको ध्यान महारानीतर्फ मात्र भएको महसुस राजाले गरे। आफ्नो सन्तुष्टिका लागि राजाले निजी सचिवलाई सोधे। निजी सचिवले ‘आफू त सानो मानिस ठुलाको के कुरा गर्नु’ भन्यो । राजाले कन्नटको कुरा सुन्ने कोसिससमेत गरेनन्। कन्नटलाई मन्त्री पदबाट बर्खास्त गरिदिए। कन्नट बिदाइ भेटको लागि निकै पटक धाए तर कहिले पनि अवसर पाएनन् । निजी सचिवले भने -‘मन्त्रीज्यू सबैको हैसियत हुन्छ, समय बलवान हुँदा अरूलाई नहेप्नु होला, नत्र यस्तै हुन सक्छ।’

कतै नेपालको शासन पनि यही मार्गमा त छैन ? बौद्धिक पलायनले गाँजेको परिस्थितिमा कर्मचारीमा वितृष्णा नबढोस्। कुनै दिन निजी सचिवले मन्त्रीको आदेश भन्दै मन्त्रालयका सचिवको बिदाइसमेत रोक्ने अवस्था सिर्जना नहोस्। चेतना भया।

Tags :
प्रतिक्रिया दिनुहोस