काठमाडौँ महानगरका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गतका संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधवार सूचना निकालेर नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण नगरेका संस्थागत विद्यालयहरूलाई सात दिनभित्र शिक्षा विभागमा अनिवार्य सम्पर्क गर्न भनेको छ । शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूलाई सात दिनभित्र शिक्षा विभागमा अनिवार्य सम्पर्क गर्न भनिएको छ ।

सात दिनभित्र सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढ्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानून बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस