नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई


९ चैत्र २०८०, शुक्रबार


चितवन । भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ ।

यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधीनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसैगरी, महानगरले यसलाई निरन्तरता दिने भए सम्झौता समाप्त हुनुअघि नै नवीकरणका लागि ट्रष्टलाई अनुरोध गर्नुपर्ने र सम्झौता नवीकरण गर्ने/नगर्ने निर्णय एक महिनाभित्र गरिने सम्झौतापत्रमा उल्लेख छ ।

महानगरले सञ्चालन तथा व्यवस्थापन अन्त्य गर्न चाहेमा कम्तीमा एक महिनाअघि जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रशेन अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरले ऐतिहासिकस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पाएकामा खुसी व्यक्त गरिन्। औपचारिक रूपमा प्रयास गरेको तीन महिनामा जिम्मेवारी स्थानीय तहमा आएको उनले बताइन्। 

सङ्घीय र स्थानीय सरकारबीचको समझदारीमा बङ्गला सञ्चालनको जिम्मेवारी महानगरमा आएको बताउँदै प्रमुख दाहालले यसले भरतपुर भ्रमण गर्न आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताइन। उनले भनिन्, “यो स्थल पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।” ऐतिहासिकस्थलको अध्ययन केन्द्रका रूपमा यसको विकास हुने उनको भनाइ थियो । 

यसलाई महानगरले नमुना र उदाहरणीय समझदारी परियोजनाका रूपमा अघि बढाउने दाहालले बताइन् । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आगामी वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिने उनले जानकारी दिइन्। उनका अनुसार मर्मतसम्भारका लागि रू. ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षसँगै सञ्चालनमा ल्याउन लागिएको उक्त बङ्गला सञ्चालनको जिम्मेवारी महानगरले पाएसँगै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताए । नारायणी नदी किनार र देवघाटधाम नजिकै रहेको यस क्षेत्रमा पहिला राजपरिवार, सुरक्षा निकाय र केही कर्मचारीले मात्रै प्रवेश गर्न पाउने भए पनि अब छिट्टै सर्वसाधारणका लागि खुल्ला गरिने उनले बताए । 

विसं २०२८ सालमा राजा महेन्द्रको निधन यही भएकाले पनि यस क्षेत्रको महत्त्व रहेको उपप्रमुख अधिकारीले बताए । उनले भने, “ऐतिहासिक स्थलका रूपमा रहेको यस ठाउँलाई संरक्षण र संवर्द्धन गर्दै यसका बारेमा जानकारी गराउने अवसर महानगरले पाएको छ ।”

नेपाल ट्रष्टका सदस्यसचिव अधिकारीले ट्रष्ट सञ्चालक समितिको ८२औँ बैठकको निर्णयअनुसार संरक्षण, संवर्द्धन र प्रवर्द्धनको जिम्मेवारी महानगरलाई दिइएको बताए । ट्रष्टका तर्फबाट पहिलो पटक जिम्मेवारी स्थानीय सरकारलाई दिइएको उनको भनाइ छ ।

ट्रष्टका ऐतिहासिकस्थलहरु संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि दिइँदै जाने भन्दै पोखराको रत्न मन्दिर र मकवानपुरको कान्ति गृह स्थानीय सरकारलाई जिम्मेवारी दिने गरी प्रक्रिया अघि बढिरहेको सदस्यसचिव अधिकारीले जानकारी दिए ।

ट्रष्टले पूर्वराजा र राजपरिवारका नाममा रहेको २२ हजार रोपनीभन्दा बढी सम्पत्ति संरक्षण गरेको सो अवसरमा जानकारी दिइएको थियो । उनले भने, “आपसी सहमतिका आधारमा हस्तान्तरण गरेका हौँ । यो प्रक्रिया दुई सरकारबीचको सहकार्य मात्रै हो ।” संरक्षण गर्दै जाँदा क्रमशः ऐतिहासिकस्थलहरु स्थानीयका लागि खुल्ला गर्दै जाने योजनामा ट्रष्ट रहेको उनले जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र ट्रष्ट सञ्चालक समिति सदस्य सुनिताकुमारी गौतमले दियालो बङ्गलाको ऐतिहासिक महत्वका बारेमा आ-आफ्नो भनाइ राखेकान थिए।

के छ दियालो बङ्गलामा ?
बङ्गला (दरबार) भित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । 

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको इकाइ चलेको छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस