दिवा खाजामा स्थानीय रैथाने बालीको परिकार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दिवा खाजामा स्थानीय रैथाने बालीको परिकार


२५ फाल्गुन २०८०, शुक्रबार


बाजुरा । विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन् ।

सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो । जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ ।

नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताए । नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीय स्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उनले बताए ।

स्थानीय स्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्द्धन तथा प्रचार-प्रसार गर्ने गरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने नीति कार्यान्वयन भएको नगरप्रमुख अमर खड्काले बताए।

सरकारले दिँदै आएको दिवा खाजालाई थप प्रभावकारी बनाउन र गाउँमै उत्पादन गरिएको कोदोको प्रवर्द्धन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोलगायतका बालीको परिकार पकाएर खुवाउने गरेको नगरप्रमुख खड्काले राससलाई जानकारी दिए ।

रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्यसहित नगरले लिएको नीति अवलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यालयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको नगरपालिकाले जनाएको छ ।

प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एक पटक दिउँसो खाजा सुविधा पाइरहेका छन् । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा विद्यालयमा विद्यार्थी छाडेर जाने र विद्यालयमा नआउने हुँदा सङ्ख्या बढाउनका लागि सरकारले दिवाखाजा सञ्चालन गर्दै आएको छ ।

दिवाखाजा कार्यक्रमपछि विद्यालय छाड्नेको सङ्ख्यामा कमी र विद्यार्थीले नियमित रूपमा विद्यालय आउने गरेको कालिका आधारभूत विद्यालयका शिक्षक जङ्ग विकले बताए । कतिपय विद्यार्थीले बीचमै पढाइ छोड्ने, विद्यालयमा भर्ना भए पनि कम मात्रामा विद्यालय आउने र विद्यार्थीको सङ्ख्या दर घट्दै जाने गरेकाले दिवाखाजा कार्यक्रमले विद्यार्थीलाई आषर्कषण गर्दै आएको बताए । दिवाखाजा कार्यक्रमले विद्यार्थी निरन्तर विद्यालयमा आउने बानीको विकास भएको र विद्यार्थीको अनुपस्थित दर घटेको उनले सुनाए ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा बालबालिकालाई माघ २० गतेदेखि नै कोदो, फापर, मकैलगायतका खाद्यान्नको परिकारको दिवाखाजा बनाएर खुवाउने गरेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक बलबहादुर रोकायले बताए । रैथाने बालीको प्रवर्द्धन तथा बढावा दिन, प्रचार प्रसार र उपयोगिताबारेमा जानकारी गराउने उद्देश्यसहित सञ्चालन गरिएको शाखा प्रमुख प्रेमबहादुर महतले बताए ।

उनले २५ वटै विद्यालयमा चिनी, घ्यु र कोदोको हलुवा बनाएर हप्तामा एक दिन विद्यार्थीलाई खुवाउने कार्यक्रम रहेको कृषि शाखा प्रमुख महतको भनाइ छ । बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ५८ बालबालिकाले दिवाखाजा खाइरहेका छन् । रैथाने बालीको दिवाखाजा कार्यक्रमका लागि रु दुई लाख ७५ हजारको बजेट छुट्याएको कृषि शाखा प्रमुख महतले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस