लोक सेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोक सेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका


२१ फाल्गुन २०८०, सोमबार


पर्वत । युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले यहाँका विभिन्न स्थानीय तहले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको हो । जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका हुन् ।

महाशिला गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरी गत महिनादेखि कक्षा सञ्चालनमा ल्याएको छ भने विहादी गाउँपालिकाले हालै सूचना जारी गर्दै तयारी कक्षामा सहभागी हुने पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका अन्य सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशिलामा २५ जनाले नियमित तयारी कक्षा लिइरहेका छन् ।

सरकारी सेवा क्षेत्रमा विहादीभित्रका युवाको न्यून उपस्थितिलाई उच्च बनाउन, आर्थिकरुपले विपन्न तथा जेहेन्दार युवालाई शैक्षिक र रोजगार क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए ।

लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गर्न लागेको हो । निजामती सेवा अप्राविधिकतर्फका नायब सुब्वा, खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा शुरु गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए ।

“गाउँपालिकाले तयारी कक्षा सञ्चालन गर्न लागेको छ, पहिला प्रस्ताव आह्वान गर्छौँ, त्यसपछि कार्यविधि बनाएर युवाको मागबमोजिम लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने । सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन सकिनेछ भन्ने लागेर कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

उनका अनुसार गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्यक्ति कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन् । युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाकारुपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

लोक सेवा आयोगमा यस क्षेत्रका युवाको पहुँच र सहभागिता अझै पनि उल्लेख्यरुपमा हुन नसकेको भन्दै गाउँपालिकाले कक्षा सञ्चालन गर्न लागेको उनको भनाइ छ । “युवालाई स्वदेशमै बाँच्न सकिन्छ भन्ने मानसिकता बनाइ रोजगारी दिन सकेमा पालिकासँगै देश समृद्ध बन्न सक्छ, शिक्षित युवा बेरोजगार हुँदा विदेश पलायन दर दिनप्रतिदिन बढेको छ”, उनले भने । कक्षामा सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आबद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने पनि पालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस