स्रोत सुनिश्चिता बिनै कसरी अघि बढ्यो सरुवा रोग अस्पतालको भवन निर्माण ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्रोत सुनिश्चिता बिनै कसरी अघि बढ्यो सरुवा रोग अस्पतालको भवन निर्माण ?


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । पछिल्लो समय बजेटको सुनिश्चितता नै नभएको योजनाको टेन्डर गरी ठेक्का दिएर ‘कमिसन’ बटुल्ने होडबाजी चलेको छ । यसको पछिल्लो उदाहरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको नयाँ भवन निर्माणको ठेक्का हो । स्रोत सुनिश्चितता नै नगरी सुरु भएको अस्पतालको नयाँ भवन निर्माण प्रक्रिया यति बेला रोकिएको छ ।

स्रोत सुनिश्चितता नभई खरिद प्रक्रिया अगाडि नबढाउन शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनालाई राष्ट्रिय सतर्कता केन्द्रले पत्र काटेसँगै यो घटना बाहिर आएको थियो । निर्माण प्रक्रिया रोकिएको विषयमा आयोजना प्रमुख गणेश कर्माचार्यले यो ठुलो मुद्दा बनाउनुपर्ने विषय नै नभएको प्रतिक्रिया दिए । कर्माचार्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट बहु वर्षीय खरिद गुरु योजना स्वीकृत भएर आएकै कारण खरिद प्रक्रिया अगाडि बढेको दाबी गरे पनि मन्त्रालय स्रोतले स्रोत सुनिश्चिता नभएको जानकारी दियो । 

मन्त्रालयका एक अधिकारीले भने, ‘यदि पहिले स्रोत सुनिश्चितता भएको भए कागजात हुनु पर्ने, त्यस्तो कागजात मन्त्रालयमा छैन । कुनै व्यक्तिसँग भए थाहा भएन ।’ ती अधिकारीका अनुसार एक पटक स्रोत सुनिश्चितता भएको योजनालाई प्रत्येक वर्ष स्रोत सुनिश्चितता गर्नुपर्ने आवश्यकता पर्दैन । उनले भने, ‘स्रोत सुनिश्चितता भएको भए टेन्डर सम्झौता हुने थियो, प्रक्रिया अगाडि बढ्थ्यो, यो समस्या नै आउँदैनथ्यो । प्रक्रियामा गई सकेको ठेक्काको मन्त्रालयले बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई लेख्न मिल्दैन । कानुनी अड्चन छन् ।’

टेन्डर प्रक्रिया होल्ड भएसँगै शहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र स्वास्थ्य मन्त्रालयका एकाथरी कर्मचारीहरू स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालय धाइरहेका छन् । भवन निर्माण आयोजनाले स्रोत सुनिश्चितताको जिम्मेवारी स्वास्थ्य मन्त्रालयको भएको बताउँछ । यसबारे बुझ्दा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले घुमाउरो जवाफ दिए । ‘स्रोत सुनिश्चितता गराउने, प्रक्रिया पुर्‍याउने काम उहाँहरू (आयोजना कार्यालय) को हो । टेन्डर खोल्ने/नखोल्ने भन्ने बारेमा स्वीकृत मागे स्वीकृत दिने काम मात्र हाम्रो हो’, उनले भने, ‘मन्त्रालयको तर्फबाट गएको पैसा सबै सदुपयोग होस् र सबै योजना सम्पन्न हुन् भन्ने मेरो चाहना हुन्छ । भवनको ठेक्का लगाउने विषय उहाँहरूकै हो । सिलिङ भित्र बसेर काम गर्नुपर्ने उहाँहरूको कर्तव्य हो ।’ 

मन्त्रालयले दिएका १७ वटा योजना मध्येको एक उक्त अस्पताल निर्माण पनि हुन सक्ने उनको भनाई छ । ‘टेन्डर रोक्न पत्र काट्ने सतर्कता केन्द्रको अधिकार हो कि होइन भन्नेमा नै क्लियर छैनौँ । यो छलफलको विषयमै छ’, पोखरेलले भने । 

अस्पतालको भवन निर्माणका लागि दुई पटक टेन्डर भए पनि स्रोतको सुनिश्चितता भएको थिएन । आयोजनाले गत वर्ष चैतमा कोन्टेक–गौरी पार्वती जेभीसँग सम्झौता गरेको थियो । उक्त कम्पनी कालोसूचीमा परेपछि गत मङ्सिरमा पुनः अर्को टेन्डर भयो । तीन अर्बको हाराहारीमा आह्वान गरिएको टेन्डरमा शर्मा एण्ड कम्पनी, समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभी प्राविधिक रूपमा छनोट भए । तर, स्रोत सुनिश्चितता नहुँदा प्रक्रिया नै रोकियो ।

बहुवर्षिय योजनाको ठेक्का सम्बन्धी कार्यविधि अनुसार पहिलो चरणमा सबै कागजातसहित निर्णय गराएर राष्ट्रिय योजना आयोगमा पठाउनु पर्छ । आयोगले स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयमा लेखी पठाउँछ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गर्न सक्ने भएमा मन्त्रीस्तरको निर्णयबाट स्वीकृत गरी योजना आयोगमा फर्किन्छ र आयोगले बहुवर्षिय आयोजनाका रूपमा प्रक्रिया अगाडि बढाउन अनुमति प्रदान गर्दछ । 

आयोगको अनुमतिपछि मन्त्रालयले आयोजनालाई अगाडि बढाउनु पर्ने हुन्छ । तर, टेकुस्थित अस्पतालको नयाँ भवन निर्माणको हकमा कुनै योजना आएको आयोगमा जानकारीमा छैन । आयोग प्रवक्ता यमलाल भुसाल भन्छन्, ‘यो प्रक्रिया माघ मसान्त भित्र भई सक्नुपर्छ । अस्पतालको नयाँ भवन निर्माणको योजना आयोगमा आएको मेरो स्मरणमा छैन ।’ 

यसैगरी अर्थ मन्त्रालयले पनि उक्त अस्पतालको नयाँ भवन निर्माणका लागि बहुवर्षिय योजना ठेक्का सम्बन्धी स्वीकृत प्रदान नगरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता धनिराम शर्माले भने, ‘अस्पतालको नयाँ भवन निर्माणको लागि स्रोत सुनिश्चितता दिएको छैन ।’

सम्बन्धित समाचार : स्रोत सुनिश्चितता नहुँदै शहरी विकासलाई ठेक्काको हतारो, जाँदाजाँदै महानिर्देशकद्वारा ‘वित्तीय अपराध’

Tags :
प्रतिक्रिया दिनुहोस