सहयोगी नहुँदा परीक्षाबाट वञ्चित श्रवण दृष्टि विहीन « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

सहयोगी नहुँदा परीक्षाबाट वञ्चित श्रवण दृष्टि विहीन


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । …सर म आज घरमै छु, क्याम्पसमा आन्तरिक जाँच चलिरहेको छ । त्यसैले क्याम्पस गएकी छैन ।

जाँचको बेला पनि किन क्याम्पस नगएको त ?

मसँग कुराकानी गर्ने सरिताको घर रुपन्देही हो । तर, अहिले उनी काठमाडौँमा स्नातक सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् । सरिता मेहनती छिन् । उनी पढाइको अलावा साहित्यमा पनि त्यति नै रुचि राख्छिन् । 

भेट हुँदा जहिले गीत, कविता, गजल सुनाई हाल्छिन् । उनीसँग कुराकानी गर्दा मलाई पनि रमाइलो लाग्छ । समय मिलेसम्म म उनीसँग कुरा गर्छु । कहिले भेटेर त कहिले फोनमा कुराकानी हुन्छ । सामाजिक सञ्जालमा पनि हामी कुरा गर्छौ ।

उनीसँग कुराकानी गर्न अन्यसँग जस्तो सहज हुँदैन । किन कि उनी निकै कम सुन्छिन् । उनीसँग कुराकानी गर्दा नजिक गएर बोल्नु पर्छ वा ठुलो स्वरमा बोल्नु पर्छ । तर, फोनमा मैले लेखेर र उनले बोलेर कुराकानी हुन्छ ।

जन्मजात दृष्टि विहीन सरिताले कक्षा १० पढ्दादेखि कम सुन्न थालेकी हुन् । उनले कानको उपचार पनि धेरै ठाउँमा गराई सकिन् । तर, उनको कानको सुन्ने क्षमता निकै कम भइसकेको छ । काठमाडौँमा भएको उपचारका क्रममा उनले ७० डि बि भन्दा कमको आवाज सुन्न नसकेको पाइयो । डाक्टरले उनलाई हेयरिङ एड लगाउन सुझाएका छन् । तर, पछिल्लो समय त्यसले पनि काम गरेको छैन । उनी दृष्टि विहीनबाट श्रवण दृष्टि विहीन अपाङ्गताको वर्गमा पुगेकी छिन् ।

‘श्रवण दृष्टि विहीनता एक पृथक् वर्गको अपाङ्गता हो । श्रवण दृष्टि विहीनतालाई दुई इन्द्रियसम्बन्धी अपाङ्गताका रूपमा पनि बुझ्न सकिन्छ जसमा सुनाई तथा दृष्टिसम्बन्धी अपाङ्गता एकै व्यक्तिमा रहेको हुन्छ । 

सुनाई तथा दृष्टि क्षमतामा आउने ह्रासका कारण उक्त व्यक्तिलार्ई अन्य व्यक्तिसँग कुराकानी गर्न, आफ्नो दैनिक जीवनका आवश्यकता पुरा गर्न, शिक्षा प्राप्त गर्न कठिनाई आउने गर्दछ । साथै स्वतन्त्रतापूर्वक आफै हिड्डुल गर्न समेत अर्को व्यक्तिको सहयोगको आवश्यकता रहन्छ । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ले श्रवण दृष्टि विहीन अपाङ्गतालार्ई “सुनाई सम्बन्धी र दृष्टि सम्बन्धी दुवै अपाङ्गता भएको वा दुई वटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति” भनेर परिभाषित गरेको छ ।’

…त्यो दिन पनि मैले सरितालाई सधैँ झैँ उनको हालखबर बुझ्नलाई फोन गरेको थिए । सरिताको जवाफले लाग्यो, उनको स्वास्थ्यमा समस्या आयो कि ? मलाई लाग्यो उनलाई बिसन्चो पो भयो कि ?

…मैले हतार–हतार सोधे– किन क्याम्पस नगएको, के भयो र तिमीलाई ?

उनले भनिन्– क्याम्पसमा आन्तरिक जाँच चलिरहेको छ, त्यसैले म घरमै छु ।

उनको यो जवाफले झनै खुल्दुली भयो । मेहनती मान्छेले परीक्षा किन छोडेको होला ?

उनी भन्दै थिइन्– सर हामी त सधैँ यस्तै हो । फाइनलको मात्रै जाँच दिने हो । आन्तरिक जाँचमा त हामी सहयोगी लेखक राख्न सक्दैनौँ । फाइनल जाँचको लेखकको पैसा तिर्न र मान्छे पाउन पनि कति गाह्रो हुन्छ । आन्तरिकमा त न लेखक पाइन्छन् न पैसा नै हुन्छ ।

मैले सोधे– तिमी ब्रेलमा त लेख्छौ ? अनि जाँच ब्रेलमा दिन मिल्दैन त ? 

उनको जवाफ– थियो, म त लेख्छु नि सर । तर, मेरो कपी जाँच कसले गर्छ ? 

म अवाक् भए, पछि कुरा गर्छु है भन्दै फोन राखे ।

… 

म समावेशी शिक्षाको विद्यार्थी पनि हुँ । र लामो समयदेखि अपाङ्गताको क्षेत्रमा काम पनि गर्दै आइरहेको छु ।

संयोगले हाल श्रवण दृष्टि विहीनता भएका बालबालिकाको लागि समावेशी शिक्षासँग सम्बन्धित परियोजनामा आबद्ध पनि छु । सरिताको कुराले मलाई निकै सतायो, शिक्षा र अपाङ्गतासँग सम्बन्धित विभिन्न कानुनी दस्ताबेज हेरेँ ।

राष्ट्रिय शिक्षा नीतिको खण्ड छ, समावेशी र विशेष शिक्षाअन्तर्गत १०.२८.९ मा मेरा नजर अड्कियो, जहाँ लेखिएको छ– अपाङ्गताको प्रकृति अनुसार लचिलो पाठ्यक्रम तथा पाठ्यपुस्तक, वैकल्पिक सिकाइ सामग्री तथा शिक्षण विधिमा जोड दिनुको साथै विद्यार्थी मूल्याङ्कन प्रणालीलाई अपाङ्गता भएका बालबालिका अनुकूल बनाइने छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ चौँथो संशोधनको दफा ११ मा विशेष परीक्षार्थीहरूको हकमा उपदफा २ मा दृष्टि विहीन र लेख्न नसक्ने शारीरिक अपाङ्गता भएका परिक्षार्थीहरुको हकमा सम्बन्धित विद्यालयले उक्त विद्यालयमा नियमित रूपमा बढीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई लेखकका रूपमा जिल्ला शिक्षा कार्यालयबाट सिफारिस गरी पठाएमा केन्द्राध्यक्षले परीक्षार्थीले भनेको कुरा लेखकद्वारा लेखाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । र, लेखक विद्यार्थीको सबै प्रमाणित कागजात केन्द्राध्क्ष कहाँ पठाउने जिम्मा विद्यालयको हुने उल्लेख गरिएको छ ।

अपाङ्गता भएका परीक्षार्थीलाई निजको अपाङ्गताको प्रकृति हेरी निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा सम्बन्धित जिल्ला शिक्षा कार्यालयको निर्देशनमा सम्बन्धित केन्द्राध्यक्षले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । नीतिमा यति धेरै लेखिँदा पनि किन कार्यान्वयन यति फितलो ?

उच्च शिक्षामा भने विश्वविद्यालयले वा नीतिमा यस सम्बन्धमा कुनै व्यवस्था गरिएको पाइएन । उच्च शिक्षाका विद्यार्थीको संख्या न्यून हुने भए पनि विश्वविद्यालयले अनदेखापन गरिदिँदा विद्यार्थीले सधैँ सास्ती झेल्नु परेको छ, दुःख पाइरहेका छन् । यस्तै पीडामा सरिता पनि परिन् ।

उनको लेखन सहयोगीको खर्च न त विश्वविद्यालयले दिन्छ, न त सहयोगी लेखक नै खोजिदिन्छ । आफैले सहयोगी खोज्दा सहयोगी पाउनै मुस्किल, पाइहाले पनि पारिश्रमिक तिर्नै नसकिने, यो विषय सरिता र उनी जस्तैका लागि पिडादायी बनेको छ । 

डा. बाबुराम ढुङ्गानाले सहयोगी लेखकका विषयमा लेखेका छन्– ‘कक्षामा सिकाइका क्रममा दृष्टि विहीन वा सुनाइ अपाङ्गता भएका विद्यार्थीहरूले कक्षा समय भन्दा पछि अध्ययन गर्नका लागि कक्षाको निर्देशन वा प्रवचन बमोजिम टिपोट गर्न सहयोग लिनु पर्ने अवस्थामा नोट टेकर वा दोभासेको प्रयोग हुन्छ । तर, बाह्य परीक्षाका समयमा आफ्नै कक्षाका सहपाठीबाट यस्तो सहयोग लिन नमिल्ने भएकाले यो काम अरु नै कसैले गरी दिनु पर्ने हुन्छ । यसरी परीक्षामा अरूले भनेको लेखेर सहयोग गर्ने व्यक्तिलाई लेखक वा लेखन सहयोगी भनिन्छ ।’ 

सरिताको परिवारमा पाँच जना मध्ये दुई जना दृष्टि विहीन र दुई जना श्रवण दृष्टि विहीन हुनुहुन्छ । परिवारमा एक जना बुवा मात्रै देख्न र सुन्न सक्ने अवस्थामा हुनुहुन्छ । बुवाकै कमाइले घर चलेको छ । उहाँ पनि उमेरले ६० वर्ष कटि सक्नु भएको छ । आर्थिक अवस्था निकै कमजोर, त्यसमाथि परिवारमा सबै अपाङ्गता भएका व्यक्ति । यो परिस्थितिमा सहयोगी लेखक राखेर उसलाई पारिश्रमिक दिएर परीक्षा दिनु सरिताका लागि ठुलो चुनौती हो ।

एकतर्फ समावेशी शिक्षाको नारा, अर्को तर्फ अपाङ्गता भएका विद्यार्थी पढ्नबाटै वञ्चित, यो दोहोरो चरित्र कहिले सम्म ? सरिता त एक उदाहरण मात्रै हुन् । जनगणनालाई आधार मान्ने हो भने उनमा जस्तै समस्या भएका १० हजार बढी छन् । हजारौँ सरिताले यसै गरी पढ्ने इच्छा, जाँगर हुदाँहुदै पनि शिक्षा पाउनु पर्ने आधारभूत मानव अधिकारबाटै वञ्चित हुनु परेको छ । 

प्रश्न गर्न मन लाग्छ- यो देशको नीति बनाउने र कार्यान्वयन गर्न व्यक्तिका सन्तती सरिताकै अवस्थामा भएको भए के उनीहरू यसैगरी मौन बस्थे ?

Tags :
प्रतिक्रिया दिनुहोस