मुगु अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामी समस्यामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुगु अस्पतालमा एक्स-रे मेसिन नहुँदा बिरामी समस्यामा


२० माघ २०८०, शनिबार


मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स-रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ ।

जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स-रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स-रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पतालले जनाएको छ । 

उक्त एक्स-रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब रु दुई लाख ५० हजार रकम खर्च मर्मतमा लाग्ने तथा अस्पतालले रकम व्यवस्थापन गर्न सक्ने भए पनि  विद्युतीय भोल्टेजका कारण एक्स-रे मेसिन बिग्रने डरले मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटकलगायत अन्य बिरामीलाई एक्स-रे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता रहेको छ ।

जिल्लाका दूर दराजबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामी एक्स–रे मेसिन अभावले अन्योलमा पर्ने गरेका छन् । अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत कार्यका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा कमल ढुङ्गानाको भनाइ छ ।

उनकाअनुसार मुगुको विद्युत्को भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरण बिग्रिएर थन्क्याइएको छ । एक्स-रे मेसिन यसरी विद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताए । उनले लाखौँ रुपैयाँ खर्च गरेर एक्स-रे मेसिन बनाएर विद्युत्का कारणले बिग्रिहाल्ने बताए । 

केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गरिने र मेसिन चलाउन सक्ने विद्युत्को भोल्टेज पुगेपछि एक्स-रे मेसिन मर्मत गरी सञ्चालन गरिने निमित्त स्वास्थ्य प्रमुख ढुङ्गानाले बताए । मेसिन चलाउन दुई सय २० भोल्ट विद्युत्को आवश्यकता पर्ने गरेको र हालको विद्युत्को भोल्टेज अपुग छ । विद्युतीय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि  एक्स-रे सञ्चालन हुने स्वास्थ्य व्यवस्थापक डा ढुङ्गानाले बताए । 

जिल्ला अस्पतालबाहेक एक्स–रेको कुनै विकल्प मुगुमा नभएपछि यहाँका बिरामीलाई जुम्ला जान आउन सवारीसाधनको भाडा र होटल खर्च गरी न्यूनतम रु सात हजारभन्दा बढी रकम लाग्ने गरेको छ । विसं २०६३ मा जिल्लाका साविकका गम, सोरू, खतेड र करान भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १५ शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।

जिल्ला अस्पताल बिरामीका लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालका आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिकरुपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र रक्तसञ्चार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस