बागमतीले सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य दियो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमतीले सुदूरपश्चिमलाई २४८ रनको लक्ष्य दियो


११ माघ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बागमती प्रदेशलाई हराउन सुदूरपश्चिम प्रदेशले दुई सय ४८ रन बनाउनु पर्ने भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो ।

बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ५४ रनको योगदान गरे । उनले केवल ६२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । कप्तान रित गौतमले पनि टोलीका लागि ४४ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रितले ६१ बलको सामना गरी नौवटा चौका पनि हिर्काए । पाँचौँ नम्बरका ब्याट्सम्यान अशोक पौडेलले पनि टोलीको खातामा ३१ रन थपे । उनले ४८ बलमा चार चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान सोनु देबकोटाले अविजित २८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान रबिन जोशीले पनि ३८ बलमा दुई चौकाको मद्दतले २४ रन बटुले ।

प्रतिशत जीसीले १७, बिपिन आचार्यले १२ र सूर्य तामाङले नौ रन जोडे । ओपनर इशान पाण्डे भने दुई रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए । रिजन ढकालले पनि टोलीको खातामा ६ रन थपे । कृजन गुरुङ चार रनमा अविजित रहे ।

बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र नारायण जोशीले तीन–तीन विकेट लिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । मिलन बोहराले पनि एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस