भीड नियन्त्रणमा देखिएका समस्या र कारण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भीड नियन्त्रणमा देखिएका समस्या र कारण


९ माघ २०८०, मंगलबार


असन्तुष्टि, सरकारको विरोध लगायत विभिन्न कारणले जन्मने नागरिक अशान्तिको समयमा सार्वजनिक व्यवस्था कायमका लागि सङ्गठित या असङ्गठित भीडलाई व्यवस्थित गर्न र हटाउन  सुरक्षा निकायद्वारा कम भन्दा कम क्षतिका साथ विभिन्न रणनीति र उपकरणहरूको प्रयोगको आवश्यकता पर्दछ । यस्तो अवस्थामा सार्वजनिक व्यवस्था कायम राख्न, मेगाफोन, अश्रुग्याँस, पानीको फोहोरा, रबरको गोली र क्षति कम गर्ने लाठी जस्ता गैर–घातक उपकरणको आवश्यकता पर्दछ । तर तेस्रो मुलुकमा यी साधनका उपलब्धताको कमीका कारण घातक हतियार प्रयोग हुँदा जनधनको क्षति सामान्य देखिन्छ । 

साधन श्रोतका कमीका बिच काम गरी राखेको नेपाल प्रहरीले भीड नियन्त्रणका लागी न्यूनतम क्षतिका साधन नमागेको पनि होइन तर उसको मागमा सुनुवाइ नभएसँगै उपलब्ध घातक हतियार प्रयोग हुँदा मानवीय क्षतिका घटना भई राखेका छन् । २०६३ सालको जन आन्दोलनमा क्षति हुनुको कारण रबर बुलेट हो । यदि रबर बुलेट नभएको भए क्षति बढी हुनबाट कसैले रोक्न सक्दैन थियो । जुलुसमा मानवीय क्षति हुनुको एउटा मात्रै कारण छैन । राजनीतिकरण, दबाब, भिड र प्रहरीको मनोविज्ञान, जुलुसका प्रकार, उपलब्ध साधनलगायत विभिन्न कारण छन् । 

चरणगत रूपमा अगाडि बढ्ने : भीड नियन्त्रण भन्दा बाहिर जान लागेको अवस्थामा मौखिक चेतावनीबाट शुरु गर्नु पर्ने हुन्छ । त्यसबाट नियन्त्रित नभएमा चरणगत रूपमा पानीको फोहरा, लाठी, अश्रुग्याँस जस्ता गैर–घातक उपायहरू प्रयोग गरेर भिडलाई एकत्रित हुन नदिएर त्यो क्षेत्रबाट हटाउनु पर्ने हुन्छ । जब अवस्था नियन्त्रण भन्दा बाहिर गएर तोडफोड, आगजनी, नागरिक असुरक्षा र सुरक्षामा खटिएका कर्मचारीको ज्यान नै असुरक्षित हुन पुग्छ, त्यस्तो चरम परिस्थितिहरूमा हवाई फायर, रबर बुलेटका साथै अन्तिम उपायको रूपमा घातक बल प्रयोग गर्नु पर्ने हुन्छ ।

सञ्चार : भीडलाई नियन्त्रित गर्न लाउड स्पिकरद्वारा सूचित गर्नुका साथै भिडलाई नेतृत्व गर्ने नेताहरूसँग वार्ता गर्न र जिम्मेवार प्रदर्शन गर्न सम्झाउनु पर्दछ । यसका लागि भिडको मनोविज्ञान बुझ्ने अधिकारीका साथै भिडले बुझ्ने भाषामा कुरा गर्न सक्ने हुन जरुरी हुन्छ ।

न्यूनतम बल : सम्झाउँदा नमानेमा आवश्यक परेको खण्डमा न्यूनतम बल प्रयोग गरेर अहिंसात्मक भीडलाई  तितरबितर पार्ने र सङ्गठित नहुन दिने रणनीतिको सहारा लिनु पर्दछ । भीडलाई तितरबितर पार्न पानीको फोहोरा, रबरको गोली, अश्रुग्याँस, लाठीको प्रयोग गर्नु पर्दछ । न्यूनतम बल प्रयोगका साधन नदिएर घातक हतियार बोकेर पठाउँदा देखि नै क्षतिको सम्भावना रही रहन्छ ।

संयमता : भीड नियन्त्रणका लागि खटिएका कर्मचरीहरु संयमित हुन जरुरी छ, भीडलाई उत्तेजित पार्ने कार्यहरूबाट जोगिनु पर्दछ । 

संयमता अपनाउन भिड र सुरक्षा निकाय बिच अनावश्यक शारीरिक सम्पर्कलाई कम गर्ने र सम्भव भएसम्म द्वन्द्व बढाउने भाषा र शारीरिक हरकत देखाउनबाट जोगिनु पर्दछ ।

स्पष्ट र प्रष्ट आदेश : सुरक्षामा खटिएका कमान्डरले भीडलाई के गर्ने, के नगर्ने स्पष्ट र संक्षिप्त आदेशहरू सबैले सुन्ने गरी दिनु पर्दछ र सोको पालन गर्नका लागि पर्याप्त समय पनि दिनु पर्दछ । त्यहाँ हल्लाको वातावरण हुने भएकाले प्रेषित गरेका आदेशहरू बुझ्न सकिन्छ कि सकिँदैन सुनिश्चित गर्नु जरुरी हुन्छ । 

सुरक्षा गियर : भीड नियन्त्रणमा खटिएका सुरक्षाकर्मी हेलमेट, बढी प्रोटेक्टर, ढाल र अन्य उपयुक्त सुरक्षा गियरसँग खटिएका छन् कि छैनन् भन्ने कुरा सुनिश्चित गर्न जरुरी हुन्छ । पर्याप्त सुरक्षाको गियरले कर्मचारीको सुरक्षामा अवसर प्रदान गर्दछ । यदि सुरक्षाकर्मी आफै असुरक्षित भएमा भिडमा बढी क्षतिको सम्भावनालाई बढाउँछ । यो कुरा संसदीय समितिमा पनि प्रहरी महानिरीक्षकले प्रष्टसँग राख्दा सरोकारवाला निकायको कानमा घन्टी बज्ला त ? शङ्का नै छ ।

द्वन्द्वकालीन ह्याङओभर : सुरक्षा निकायमा १०वर्षे द्वन्द्वको बेला हतियार प्रयोगको ह्याङओभर अहिलेसम्म पनि कम भएको देखिँदैन । परिस्थिति अनुसार सुरक्षा निकायहरू अपडेट हुने र सोही अनुसार चल्नु पर्ने हुन्छ । 

राजनीतिकरण अहिले सुरक्षा निकायमा चर्को राजनीतिकरण छ । पुलिसिङ प्राविधिक विषय हो । राजनीतिज्ञहरूको त्यसमा पनि आदेशात्मक हस्तक्षेप हुँदा घटना प्रहरीको नियन्त्रणमा नरहन सक्छ । छिटो भिड हटाऊ, भिडसँग गरिने कार्यवाहीलाई आफ्नो किसिमले गराउन खोज्दा सुरक्षाकर्मी तथा भिडमा दुर्घटना निम्तने सम्भावना रहन्छ ।

ब्रीफिंङ डिब्रीफिंङ : भीड नियन्त्रण गर्न जाँदा सुरक्षा टोलीलाई उद्देश्य, अपनाउनु पर्ने सुरक्षाका मापदण्ड, भिडको प्रकार, भिडसँग गरिने व्यवहारलगायतको ब्रिफिङ र काम सकी सके पश्चात् आफूले गरेका कार्यवाही, राम्रो नराम्रो पक्ष र सुधार गर्नु पर्ने कुराका बारेमा डिब्रीफिङ गर्न जरुरी हुन्छ, जुन अहिले कम प्राथमिकतामा पर्दै गएको देखिन्छ । 

असुरक्षा : साधन श्रोतको कमी भएर प्रहरीले आफू असुरक्षित भएको महसुस गर्नु हुँदैन । यदि प्रहरीले असुरक्षित महसुस गरेमा भिडतर्फ क्षतिको सम्भावना बढी हुन्छ । 

नजिकको सम्पर्क(क्लोज कनट्याक्ट) : भीड नियन्त्रणका लागि प्रहरी र भिडको बिचमा डिमार्केसन क्षेत्र हुन जरुरी हुन्छ । यसको फायदा दुवै पक्षलाई हुन्छ र क्षतिको सम्भावना न्यून हुन जान्छ । तर हाम्रो यहाँ जहिले पनि प्रहरी र भिडका बिचमा डिमार्केसन क्षेत्र नछुट्टिँदा नजिकमा भिडन्त हुन गई टाउको र शरीरका संवेदनशील भागमा चोट लाग्ने सम्भावना एकदम बढी हुन्छ ।

हतियार ह्याण्डलिङ र जिम्मेवारी : हतियार बोकेर हिँडे पनि हाम्रो प्रहरीलाई हतियारको अभ्यस्ततामा कमी छ । हतियारसँगको अभ्यस्तताका लागि चाँदमारीको निरन्तर अभ्यास चाहिन्छ तर बजेटको सीमितताका कारण अभ्यास एकदम कम छ र अहिलेको अवस्थामा यसमा सुधार हुने सम्भावना पनि एकदम न्यून नै देखिन्छ । यसका लागि चाहिने श्रोत साधनका लागि सरकारले सुनुवाइ गरेको देखिँदैन । आफ्नो सेवा कालमा २/३ पटक भन्दा बढी चाँदमारीको अभ्यास नगरेका कर्मचारीको सङ्ख्या एकदम ठुलो छ । यसले दुर्घटनाको सम्भावनालाई बढाउ छ ।

तालिम : भीड व्यवस्थापनका तरिकाहरू, डी–एस्केलेसन रणनीतिहरू र उपकरणहरूको उचित प्रयोगका बारेमा दङ्गा नियन्त्रण एकाइहरूको लागि व्यापक प्रशिक्षण र निरन्तर अभ्यासको आवश्यकता पर्दछ । त्यसका लागि श्रोतको आवश्यकता पर्दछ । कार्यक्षमता बढाउन नियमित रूपमा सिमुलेशनद्वारा र व्यवहारिक रियल टाइम प्रशिक्षण सञ्चालन गर्न आवश्यक पर्दछ, यसका लागि आवश्यक श्रोत छ कि छैन सरकारले हेर्न जरुरी छ ।

कानुनी अनुपालन : भीड नियन्त्रण गर्दा मानवअधिकारको सम्मानका साथै स्थानीय र अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्दै काम गर्नु पर्दछ । शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीय प्रशासन ऐन, आत्मरक्षाका लागि प्रहरी ऐन तथा आवश्यक वस्तु संरक्षणका लागि आवश्यक वस्तु संरक्षण ऐनमा भएका व्यवस्था र निर्देश पालना गर्न र बुझ्न आवश्यक हुन्छ । भीड नियन्त्रणका लागि खटिने सदस्यहरूलाई यी ऐनमा व्यवस्था, आदेश, निर्देशका बारेमा पर्याप्त जानकारी हुनु पर्दछ ।

अन्त्यमा प्रभावकारी दङ्गा नियन्त्रणका लागि व्यापक दृष्टिकोणको आवश्यकता पार्दछ । एउटा कुरामा मात्रै ध्यान दिँदा अरू कारणले क्षति हुन सक्छ । क्षति न्यूनीकरण गर्न आवश्यक साधन श्रोत, तालिम, सही नेतृत्व र लगातार अभ्यासको आवश्यकता हुन्छ । जसले गर्दा सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राखेर क्षतिलाई न्यूनीकरण गर्न सहयोग पु¥याउँछ । तर न्युनतम् क्षतिका लागी साधन उपलब्ध न गराएर,जमिनी यथार्थता न बुझी भीड नियन्त्रणमा माथिबाट तारनतार दबाब दिएमा त्यो दबाबले नकारात्मक परिणाम दिने सम्भावना रहन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस