किन सफल भयो ‘टुवेल्थ फेल’? « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

 किन सफल भयो ‘टुवेल्थ फेल’?


४ माघ २०८०, बिहिबार


टुवेल्थ फेल

सन् २०२३ अक्टोबरमा प्रदर्शित विधु विनोद चोपडाको फिल्म ‘टुवेल्थ फेल’ ले भारतको मध्य प्रदेश स्थित चम्बल घाटीको बेल गाउँको एक सामान्य परिवारको मनोज कुमार शर्माको कथा  बोल्दछ । त्यस्तो पात्र जसलाई १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न पनि सङ्घर्ष गर्नुपरेको थियो, सोही व्यक्तिले कसरी भारतको सबैभन्दा कठिन मानिने युपिएससि (सङ्घ लोक सेवा आयोग) को परीक्षा पास गरेर आईपिएस (भारतीय प्रहरी सेवा) अफिसर बन्न सफल हुन्छ भन्ने विषयवस्तु वरिपरि फिल्म घुम्दछ । 

ओटिटिमा रिलिज भएपछि ‘टुवेल्थ फेल’ को चर्चा चुलिएको हो । सामाजिक सञ्जाल एनिमल मुभीको जमल कुडु, बबि देवलको क्यामियो अनि तृप्ति डिम्रीको अन्तरंग दृश्य, डंकी र सालारको हाईपले तातेको बेला एकाएक मनोज, श्रद्धा, प्रितम पाण्डे र गौरी भैया सञ्जालमा छाउन पुग्दछन् । क्रिसमस ट्रि का धपक्क बलेका तस्बिर भन्दा बढी टुवेल्थ फेल सम्बन्धित मीम शेयर भइराखेका हुन्छन्  सामाजिक सञ्जालमा । सशक्त विषयवस्तु, जीवन्त अभिनय र उम्दा निर्देशन छ भने सकारात्मक ‘वर्ड अफ माउथ’ ले चलचित्रलाई अमर बनाउँछ भन्ने कुरा आईएमडिबीको ९.२ रेटिङले पुष्टि गरेको छ, जुन कुनै पनि भारतीय चलचित्रले पाएको सबैभन्दा उत्कृष्ट रेटिङ हो ।

कथा सामान्य भएता पनि त्यसलाई प्रस्तुत गर्ने शैली असाधारण भएमा फिल्म बेजोडको बन्दछ भन्ने कुराको सशक्त दृष्टान्त पेश गरेको टुवेल्थ फेलले । फिल्ममा न त ठूल्ठूला नाम चलेका स्टारकास्ट छन् न त फिल्ममा व्यावसायिक मसाला नै हालिएको छ ।त्यसका बाबजुद फिल्मले लोकप्रियताको नयाँ उचाइ हात पार्न सफल रहेको छ ।

अब फिल्मलाई विभिन्न कोणबाट समीक्षा गरौँ । 

फिल्मको निर्देशन अद्वितीय किसिमको छ । अनुभवी विधु विनोद चोपडाले आफ्नो ५ दशक लामो फिल्म मेकिङ्गको अनुभवलाई फिल्ममा भरपुर प्रयोग गरेको प्रतीत हुन्छ । फिल्ममा अस्वभाविक द्वन्द्व, संवाद, सङ्गीत जस्ता तथाकथित मसला घुसाई अर्ग्यानिक फिल्ममा जबरजस्ती  कमर्सियल रङ्ग पोत्ने बाध्यताबाट चोपडाको निर्देशन पूर्णतया मुक्त देखिन्छ । फिल्ममा स-साना डिटेलिङमा विशेष ध्यान दिइएको पाइन्छ । पात्रलाई कमजोर र दुःखी देखाई दर्शकको सेन्टिमेन्ट जित्ने सस्तो फर्मुलाको प्रयोग गरिराख्नुपर्ने बाध्यताबाट समेत कोशौं टाढा देखिन्छ विधु विनोद चोपडाको निर्देशन । यसको सानो उदाहरणको रूपमा मनोज मिलमा काम गरिराखेको बेला पाण्डे र श्रद्धा आउँदाको दृश्यलाई लिन सकिन्छ । दुवै दृश्यमा पाण्डे र श्रद्धाले मनोजप्रति सहानुभूति भाव प्रकट गर्दछन् तर मनोजको मुहारमा छुट्टै तेज र उत्साह हुन्छ, उसलाई आफूप्रति दयाभाव नभई पूर्ण आत्मविश्वास हुन्छ । यसलाई चोपडाको स्मार्ट डाईरेक्सनको सानो नमुनाको रूपमा लिन सकिन्छ । 

फिल्मको अर्को बलियो पक्ष हो स्क्रिनप्ले । फिल्मको स्किनप्ले दर्शकलाई बाँधेर राख्न सक्षम देखिन्छ । यो निकै चलाखीपूर्ण तवरले लेखिएको देखिन्छ । साधारण कथालाई बेजोडको स्क्रिनप्ले फिल्मलाई नयाँ उचाइमा पुर्‍याइदिएको छ । अर्कोतर्फ, वास्तविक कथामा आधारित भएता पनि फिल्मको कथानक निकै अनप्रिडिक्टेबल रहेको छ । फिल्म हेरिरहँदा दर्शकहरूमा सस्पेन्स फेक्टर कायमै राख्न सफल हुनु फिल्मको अर्को मजबुत पक्ष मान्न सकिन्छ ।

फिल्मको अर्को सशक्त पाटो हो कलाकारहरूको अभिनय । यस फिल्मका कुनै पनि कलाकारलाई हेर्दा अभिनय गरेको जस्तो भान नै हुदैन् । सबैको अभिनय यति स्वभाविक र जीवन्त छ कि मानौँ दर्शकहरू फिल्म हेरिराखेको नभई स्वयं बेल गाउँ, ग्वालियर, राजेन्द्रनगर र मसुरी तिर बरालिरहेका होउन्  । कथाका सबै पात्रहरूले आफ्नो भूमिकालाई शत प्रतिशत न्याय दिएका छन्  । देहातबाट राजेन्द्रनगर छिरेर नाजुक आर्थिक अवस्था र कमजोर शैक्षिक पृष्ठभूमिका बाबजुद आईपिएस बन्ने सपना पाल्ने मनोज, डाक्टरी पेशा छोडेर सिभिल सर्भिसको सपना बुन्ने श्रद्धा, छ पटक प्रयास गर्दासम्म युपिएससी क्रयाक गर्न नसकेका तर आफूजस्तै दूर दराज र पिछडिएको वर्गबाट आउने युवालाई जाँच पास गर्न ‘रिस्टार्ट’ को सपना देखाउने गौरी भैया, सिभिल सर्भिसको तयारीमा रहे पनि टेलिभिजनको दुनियाँमा छिर्न चाहने साथै आफ्नो करियरप्रति कनफ्युज्ड तर उदार मनका प्रितम पाण्डे जस्ता पात्रहरूको सशक्त, स्वभाविक र सुन्दर अभिनय फिल्मलाई उच्च कोटिको बनाइदिएको छ । निकै छोटो भूमिका भए पनि डिएसपी दुष्यन्त सिंह तथा मनोजका हजुरआमा, आमाबुवा, दाईक‍ो भूमिकाले पनि फिल्ममा सुनमा सुगन्ध थप्ने काम गरेको छ । 

फिल्मको क्लाईमेक्स दृश्यमा पनि स्क्रिप्ट लेखनमा गरिएको मेहेनत र लेखकीय शिल्प प्रष्ट झल्किन्छ । फिल्मको क्लाईमेक्समा देखाइएको इन्टरभ्युको दृश्य विकास दिव्यकीर्तीले लेख्नुभएको रहेछ । लामो समयदेखि विकास दिव्यकीर्तीले दृष्टि मार्फत युपीएससीको तयारी कक्षा सञ्चालन गराई राख्नु भएको अनुभवले गर्दा पनि उक्त दृश्य अत्यन्तै वास्तविक लाग्दछ ।

समग्रमा, टुवेल्थ फेल सन् २०२३ को मात्र नभई बलिउडमा हालसम्म निर्माण भएका उत्कृष्ट चलचित्र मध्येको एउटा बेजोड चलचित्र हो । यसले दर्शकलाई मनोरञ्जन मात्र दिदैन्, सयौँ समस्या र व्यवधानका बाबजुद अलिकति पनि विचलित नभई आफ्नो लक्ष्य प्राप्तिका लागि इमानदार भई लाग्न अभिप्रेरित समेत गर्दछ । र, फिल्म पारखीहरूले यो फिल्मलाई बर्षौंसम्म आफ्नो स्मृति पटलमा सुरक्षित राख्ने कुरामा दुई मत नहोला ।

Tags :
प्रतिक्रिया दिनुहोस