आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना कार्यशाला हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना कार्यशाला हुँदै


३ माघ २०८०, बुधबार


काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँले आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्ने विषयमा दुई दिने विशेष कार्यशाला गर्ने भएको छ । माघ ४ र ५ गते कार्यशाला हुन लागेको प्रतिष्ठानले जनाएको छ ।

कार्यशालाको पहिलो दिन माघ ४ गते अर्बिटल फ्र्याक्चर पुनस्थापना कार्यशाला सञ्चालन हुनेछ । जसमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञहरू र म्याक्सिलोफेसियल सर्जनहरू समेटिने गरी करिब १०० जना सहभागी हुने प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापित, म्याग्जीलोफेसियल सर्जन प्रा.डा. आलोक सग्तानी, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैजुको टोलीले पहिलो पटक आयोजना हुँदै गरेको अर्बिटल फ्र्याक्चर पुर्नस्थापना कार्यशाला सञ्चालन गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ । ओस्टियोपोर र टाइटेनियम प्लेटहरू जस्ता विभिन्न सामग्रीहरू प्रयोग गरेर फ्र्याक्चर पुर्नस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण भई त्यसका छलफल हुनु नै कार्यक्रमको मुख्य आकर्षण रहने प्रतिष्ठानले जनाएको छ ।

सोही दिन सर्जिकल कार्यशाला समापन भएपछि अर्बिटल ट्रमाका चुनौतीपूर्ण केसहरूमा निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुने छ । जहाँ शल्यचिकित्सकहरूले उत्तम सम्भावित व्यवस्थापनको बारेमा जटिल केसहरूमा छलफल गर्ने बताइएको छ ।

कार्यक्रमको दोस्रो दिन माघ ५ मा आँखामा थाइरोइड रोगले पार्ने असरहरू र चुनौतीपूर्ण केसहरूमा छलफल हुनेछ । पछिल्लो समय थाइरोइडको समस्या भएका मानिसहरू बढ्दै गएको र यसले आँखामा पनि प्रभाव पारिरहेको विशेषज्ञहरूले बताएका छन् । दोस्रो दिनको सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुने बताइएको छ ।

प्रतिष्ठानका अनुसार यस सत्रमा पनि नेसनल युनिभर्सिटी हस्पिटल, सिंगापुरका प्रसिद्ध ओकुलोफेसियल सर्जन डा. गंगाधर सुन्दरको नेतृत्वमा अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापित, हर्मोन रोग विशेषज्ञ डा. अलार्क देवकोटा रजौरिया, वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा.डा. रोहित सैंजुको टोलीले आफ्ना अनुभवहरू साट्ने छन् । आँखा स्वास्थ्यका विभिन्न विधामा अब्बल रहेर राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रशिक्षण प्रदान गर्दै आइरहेकोमा डा. गंगाधर सुन्दरको नेतृत्वमा आयोजना हुने २ दिने सर्जिकल प्रदर्शनसहितको कार्यशालाले फ्र्याक्वर पुर्नस्थापनामा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने प्रतिष्ठानले जनाएको छ ।

आँखाको विभिन्न विधाको उपचारमा विगत ३ दशकदेखि तिलगंगा आँखा प्रतिष्ठान क्रियाशील रहँदै आएको छ । प्रत्येक वर्ष प्रतिष्ठानमा करिब पाँच सय बिरामीहरू आँखा चोटका कारण आउने गरेका छन् । जसमध्ये ५० प्रतिशत भन्दा बढिलाई शल्यक्रिया आवश्यक हुन्छ ।

प्रतिष्ठानमा सन् २००४ देखि प्रा.डा. रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको पुर्नस्थापना शल्यक्रिया हुँदै आएको छ । विगतमा एक्सरे प्लेटहरू फ्र्याक्चर साइट पुर्न प्रयोग गरिन्थ्यो भने पछि गएर सिलिकन पाना प्रयोग गर्न थालिएको छ । विगत एक वर्षदेखि प्रतिष्ठानले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरेर मान्यताप्राप्त टाइटेनियम प्लेटहरू प्रयोग गरी जटिल फ्र्याक्चरहरु समेत पुर्नस्थापना गर्दै आएका छ ।

पछिल्लो समय सडक तथा अन्य दुर्घटनाका कारणले गर्दा आँखामा लाग्ने चोट र असरहरूका विषयमा सबैको ध्यान गएको छ । ती मध्ये, आँखा वरपरको हड्डी भाँचिएको पुर्नस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस