वी.पी प्रतिष्ठानका रजिस्ट्रारको अधिकार खोसियो, शिक्षक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वी.पी प्रतिष्ठानका रजिस्ट्रारको अधिकार खोसियो, शिक्षक र कर्मचारीको आन्दोलनले सेवा प्रभावित


१ माघ २०८०, सोमबार


धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारको आर्थिक तथा प्रशासनिक अधिकार खोसिएको छ । कायममुकायम उपकुलपति प्रा.डा. प्रहलाद कार्कीले रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई आइतबार पठाएको पत्रमा अख्तियारी फिर्ता लिएको जानकारी गराउँदै सबै काम कारबाही अनुमति लिएर मात्र गर्न भनेका छन् ।

‘तपाईँलाई का.मु. उपकुलपतिबाट मिति २०८०-०३-१७ गते मेरो का.मु. उपकुलपतिको नियुक्तिपश्चात् प्रतिष्ठानको ऐन र नियमावली अनुसार मैले दिइएको अख्तियारी आजैका मितिदेखि फिर्ता गरिएको जानकारी गराउँदछु’, पत्रमा भनिएको छ, ‘आजका मितिदेखि तपाईँले सुचारु गर्ने सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलापहरू (आन्तरिक बाह्य पत्राचार र मुद्दा मामिला सम्बन्धी कार्यहरू समेत) का.मु. उपकुलपतिबाट स्वीकृत गराएर मात्र सम्पन्न गर्नु हुन अनुरोध छ ।’

स्रोतका अनुसार रजिस्ट्रारले असहयोग गरेका कारण उपकुलपतिले अख्तियारी खोसेका हुन् । उपकुलपतिले समस्याको समाधान गर्नुको सट्टा कारबाही प्रक्रियामा लागेका छन् । आफै चार दिनदेखि कार्यालयमा उपस्थित नभएका कार्कीले सङ्ग्रौलालाई पत्र काटेको भन्दै शिक्षक र कर्मचारी आक्रोशित छन् ।
कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानले सहमति कार्यान्वयन हुने बेलामा उपकुलपति भागेको प्रतिक्रिया दिए । शिक्षकहरूले बिरामी हेरेको र कक्षा लिएको एक महिनाको विवरण उपलब्ध गराउन उपकुलपतिले रेक्टरलाई मौखिक आदेश दिएका छन् ।

शिक्षक र कर्मचारी आन्दोलनमा
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू आन्दोलित भएका छन् । बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका उनीहरूले आइतबारदेखि सेवा बहिष्कार गरेका हुन् ।

उनीहरूले उपकुलपति कार्यालय अघि धर्ना दिएका छन् । शिक्षक तथा कर्मचारीहरूले आइतबार बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रहलाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । तोकिएको समयमा आफ्ना माग सम्बोधन नभएपछि उनीहरूले सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

पुस २८ गतेसम्म माग पुरा नभए पुस २९ गतेदेखि हडतालमा उत्रिने उनीहरूले अल्टिमेटम दिएका थिए । इमर्जेन्सी, आइसियु, आन्तरंग वार्डको उपचार सेवा बाहेक सबै सेवा बहिस्कार गरिने शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजद्वारा प्रकाशित संयुक्त वक्तव्यमा जनाइएको छ ।

शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको आन्दोलनका कारण औपचारिक रूपमा प्रतिष्ठानमा बहिरङ्ग सेवा सञ्चालन हुन सकेका छैनन् । प्रतिष्ठानमा कार्यरत १६७ जना चिकित्सकले ९ वर्षदेखि तहगत बढुवा नभएको भन्दै यसअघि कार्तिकमा राजीनामा दिएका थिए । उनीहरूको माग सम्बोधन गर्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले बढुवा प्रक्रिया सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्तिक २० मा आन्दोलनरत शिक्षक, कर्मचारीहरूसँग व्यवस्थापन पक्षले छुट्टाछुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा आवश्यक विधि र प्रक्रिया पूरा गरेर पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्ने उल्लेख थियो । ‘प्रतिष्ठानलाई निकासा दिनु पर्‍यो, हाम्रो आन्दोलन गर्ने रहर छैन’, कर्मचारी कल्याण समाजका अध्यक्ष डा. सेराज खानले भने, ‘सहमति भएर पनि कार्यान्वयन नगर्नु दुःखद हो । उपकुलपतिको नियतमा नै समस्या छ ।’

सिनेट नबस्दा समस्या
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन । करिब साढे तीन वर्षदेखि सिनेट बैठक नबस्दा प्रतिष्ठानका १ हजार तीन सय भन्दा बढी कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ ।
बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनु पर्ने माग राख्दै शिक्षक तथा कर्मचारीहरूले पटक पटक आन्दोलन गरेका छन् । २०७७ साउन २९ यता बैठक बस्न नसकेको हो ।

कार्यकारिणी समितिको बैठक नबसी ११ वटा विभागमा प्रमुख परिवर्तन भएका छन् । नियमावलीमा समितिले निर्णय गर्ने भनिए पनि समितिको बैठक नै नबसी एकल निर्णयबाट प्रमुखहरू फेरिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस