१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ


१ माघ २०८०, सोमबार


मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । 

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ । 

बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन् । 

बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक-पटक बालिकामाथि सामूहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र बहादुर थापाले जानकारी दिए । बलात्कारपछि बालिकाको पेटमा गर्भ छ । 

बालिकाले दिएको जाहेरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एक छिन काम छ भन्दै बाहिर बोलाएका थिए । डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पुर्‍याएका थिए ।

त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, वसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस