‘राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, इतिहास भइसक्यो अब सम्भव छैन’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, इतिहास भइसक्यो अब सम्भव छैन’


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरी गतिविधि भइरहेको भन्दै त्यो सम्भव नरहेको प्रस्ट पारेका हुन् ।

‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन्। राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन ।’

उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने दाबी गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’

उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रूपमा नरहेको बताएका थिए । ‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो सङ्ख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’

आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस