अदालतको अवहेलना मुद्दामा ‘प्रचण्ड’ले पाए सफाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अदालतको अवहेलना मुद्दामा ‘प्रचण्ड’ले पाए सफाइ


२० पुस २०८०, शुक्रबार


काठमाडौँ ।  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारबाही गरिपाँउ भनी निवेदन दिएका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकर्ताको भेलामा ‘प्रचण्ड’ले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए ।

त्यतिबेला व्यक्ति हत्याको आरोपमा माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा दाहालले शान्ति प्रक्रिया विरुद्ध अदालत अघि बढ्दैछ भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिविरुद्ध तत्कालीन अधिवक्ता त्रिपाठीले अवहेलनाको आरोपमा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस