अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षमाथि अनुसन्धान जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरेको आरोपमा पक्राउ परेका वडाध्यक्षमाथि अनुसन्धान जारी


१६ पुस २०८०, सोमबार


सिराहा । सिराहाको कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेलमाथि अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय सिराहाले अनुसन्धान गरिरहेको छ ।

नगरपालिकाको वडा नं. १ बल्टिया स्थित चुरे वन क्षेत्र भित्रको कमला खोलाको बगरमा एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्य ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा कार्यालयले उनीमाथि अनुसन्धान गरिरहेको हो । कार्यालयले पोखरेललाई शुक्रवार नियन्त्रणमा लिई नगरप्रमुख भोला प्रसाद पोखरेलको रोहबरमा शनिवार बुलुका ७ बजे छोडेको थियो ।

वडाध्यक्षलाई नगरप्रमुखको रोहबरमा छोडे पनि उनी माथिको अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय सिराहाका प्रमुख सुजित कुमार झाले जानकारी दिए । स्रोतका अनुसार वडाध्यक्ष पोखरेल विगत लामो समयदेखि अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा संलग्न रहेका छन् ।

कार्यालयले यसअघि अवैध उत्खननमा संलग्न भएको आरोपमा दुई जना प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ पुर्जी जारी गरेको थियो । कार्यालय प्रमुख झाका अनुसार गिट्टी, बालुवा उत्खननका कारण पानीका मुहान सुक्न थालेका छन् । मधेसमा यही गतिमा खोला तथा नदीमा उत्खनन जारी रहने हो भने भविष्यमा पानीको समस्या हुने उनले बताए ।

अर्कोतर्फ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्नेले खोला तथा नदीमा पारेको ठुला खाडल नपुरी यत्तिकै छोडिदिँदा खाडलमा जमेको पानीमा परी बालबालिकाहरूको मृत्यु समेत हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस