सुदूरपश्चिममा मनाइयो ‘पुसे पन्ध्र’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा मनाइयो ‘पुसे पन्ध्र’


१५ पुस २०८०, आइतबार


चैनपुर (बझाङ) आज पुस १५ गते उत्तरायणको सुरुआत । यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ । वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन् ।

पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ । केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ ।

संस्कृतिका जानकार विष्णुभक्त जोशी भन्छन्, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरुआत भएको कुरालाई अर्थ्याउने गर्दछन् ।” लामो दिनहरू सुरु हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सप्रने, नयाँ दिनको सुरुवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए ।

उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन् । कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने गरेको उनले बताए। वित्थडचिर गाउँपालिकाका महेश विष्ट पनि पुसे पन्ध्र विशेष पर्व भएको बताउँछन् । दिदी बहिनी माइती आउनेदेखि घर परिवारमा नयाँ नयाँ परिकार बनाएर नयाँ दिनलाई स्वागत गर्नका लागि यो पर्व मनाउने गरेको उनले बताए। उनले भने, “आज राति प्रत्येकको घरघरमा निसास्या (चामल पिठोको ठूलो रोटी) पकाएर खाने, वृद्धवृद्धाबाट लोक कथा, दन्त्य कथा, गाउँ खाने कथा सुन्ने सुनाउने प्रचलन छ । विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनी फल्ने कुरालाई खाने चलन छ ।”

उनका अनुसार यसरी खाँदा जाडो भाग्ने र शरीरमा फुर्तिलो हुने विश्वासले पनि रातभर जाग्राम बस्दै खाने किंवदन्ती छ । सुदूरपश्चिममा कुनै ठाउँमा पुसे पन्ध्रका दिन वन पूजा गर्ने चलन पनि छ । खप्तडछान्ना-४ का हेमराज जोशीले भने, “आजको दिन कृषि औजार बन्चरो, हँसिया, नाम्लो आदिको पनि पूजासमेत गरिन्छ । आजको दिन वन पूजा गर्दा काम गर्ने बेलामा चोटपटक नलाग्ने विश्वास रही आएको छ ।”

उनका अनुसार पुस पन्ध्रलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्कका रूपमा पनि व्याख्या गर्दछन् । रातभर खेलिने देउडा खेलमा सभ्यता, संस्कृति, पहिचान, रीतिरिवाजसँग सम्बन्धित रहेर देउडाका सवाल जवाफ हुने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस