गुटका नाममा आफैँमा बाझ्ने काम नगरौँ : डा. आरजू राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुटका नाममा आफैँमा बाझ्ने काम नगरौँ : डा. आरजू राणा


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छन् ।

नेतृ देउवाले नेताहरू आफैँमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन् । ‘हामी काँग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेको बाझ्यौ हुन्छौँ, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ’, उनले भनिन्, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिदिरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदिनुस् । तपाईँहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।’

प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौँ । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेरो पर्न आएको सुन्नमा आयो । तर यो घरभित्रकै अफ्ठेरो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।’

केन्द्रीय सदस्य देउवाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन् । मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुःखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन् । जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद देउवाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस