मुख्यमन्त्री यादवको आरोप : संघ सरकारलाई संघीयता कार्यान्वयन हुँदा कमाउने धन्दा बन्द हुने डर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुख्यमन्त्री यादवको आरोप : संघ सरकारलाई संघीयता कार्यान्वयन हुँदा कमाउने धन्दा बन्द हुने डर


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयन गर्नेतर्फ संघ सरकारको नियत ठीक नभएको बताएका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरूको बैठकमा सहभागी हुन हेटौँडा आएका यादवले संघीय सरकारको नियतको कारण संघीयता कार्यान्वयनमा ठूलो समस्या आएको बताए ।

संघ सरकारको कमाउने धन्दा बन्द हुने डरले संघ सरकार संघीयता कार्यान्वयनको लागि सक्रिय नभएको उनले आरोप लगाए ।

पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष बितिसक्दा पनि अधिकार प्रत्यायोजन र कार्यान्वयन गर्न संघ सरकार तयार नहुनु उनीहरूको कमाइ खाने बाटो बन्द हुने डर हो भन्ने आफूहरूको बुझाइ रहेको बताए ।

उनले भने, ‘प्रहरी ऐन पास भएर पनि प्रमाणीकरण पनि भयो । तर, कार्यान्वयन कहाँ भयो त ? हामी यो विषयमा प्रधानमन्त्रीलाई पनि भेट्दैछौं ।’

भोलि हुने प्रधानमन्त्रीसँगको छलफलमा मधेश प्रदेशको तर्फबाट सीधा प्रश्न गर्ने उनले बताए । संविधान कार्यान्वयनमा मधेश प्रदेशले यसअघि सङ्कल्प प्रस्तावसमेत पास गरेको बताउँदै उनले संविधान कार्यान्वयनको लागि धर्ना, जुलुस गर्न आफूहरू तयार रहेको बताए ।

आफूहरूले संघीयताको पक्षमा धेरै काम गरेको बताउँदै मुख्यमन्त्री यादवले संघ सरकारको नियत ठीक नहुँदासम्म समस्या समाधान नहुने जिकिर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस