अदालतको आदेशपछि प्रहरी लिएर हाजिर हुन पुगे प्रशासकीय अधिकृत, अध्यक्ष भन्छन्-‘काम गर्न सकिँदैन’ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अदालतको आदेशपछि प्रहरी लिएर हाजिर हुन पुगे प्रशासकीय अधिकृत, अध्यक्ष भन्छन्-‘काम गर्न सकिँदैन’


९ पुस २०८०, सोमबार


https://yamunamaimun.gov.np/

काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा ओम प्रकाश यादव हाजिर भएका छन् । यादव प्रहरीको कडा सुरक्षा बिच आइतबार पालिकामा हाजिर भएका हुन् ।

जिल्ला समन्वय समिति रौतहटको जिल्ला समन्वय अधिकारी रहेका यादवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत मंसिर २२ मा यमुनामाई सरुवा गरेको थियो । त्यसअघि मन्त्रालयले गत मंसिर १२ मा यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध महतोलाई सरुवा गरी मंसिर १३ मा स्वास्थ्य तर्फका रामश्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । उनको जिम्मेवारी ८ दिनमै खोसियो ।

राजनीतिक दबाबमा भएको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरी निमित्त तोक्ने र निमित्तले काम गरेकै अवस्थामा अर्को प्रमुख प्रशासकीय अधिकृत खटाउने मन्त्रालयको कार्यप्रति गाउँपालिकाका जनप्रतिनिधिहरू रुष्ट छन् । यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद साउदले मन्त्रालयलाई मंसिर २४ मा पत्र नै लेखेर ओम प्रकाश यादवलाई कामकाजमा खटाएको प्रति असहमति जनाउँदै हाजिर नगराई फिर्ता पठाएको जानकारी गराएका थिए । 

आफूलाई हाजिर गराउने छाँटकाँट नदेखेपछि यादवले पुस ३ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा रिट दायर गरेका थिए । उनको रिटमाथि न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले हाजिर गराउन अन्तरिम आदेश गरेको थियो । अदालतको आदेशपछि आइतबार उनी कडा सुरक्षाबिच हाजिर हुन गाउँपालिका गएका हुन् ।

जनप्रतिनिधि र कर्मचारी बिच द्वन्द्व
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कारण स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी बिचको द्वन्द्व झन् बढ्दै गएको छ । द्वन्द्व बढाउन सामान्य प्रशासन मन्त्रीको पनि हात रहेको भन्दै आलोचना हुने गरेको छ । सामान्य प्रशासन मन्त्री अनिता देवी साहले रौतहटका पालिकामा सातापिच्छे प्रमुख प्रशासकीय अधिकृत फेर्ने, हाजिर नहुँदै सरुवा गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

धेरैजसो स्थानीय तहमा पालिका प्रमुखको समन्वयमा प्रमुख प्रशासकीय अधिकृत खटाउने गरिएको छ । तर, यमुनामाईमा पालिका अध्यक्षले अस्वीकार गर्दागर्दै पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । जसले विवाद सिर्जना गरेको छ ।

त्यसो त अहिले प्रमुख प्रशासकीय अधिकृत बनेर आएका ओम प्रकाश यादव गत भदौमै सरुवा लिएर गएका थिए । केही समय जिल्ला समन्वय समितिको बसाइपछि उनी पुनः यमुनामाई फर्किएका हुन् । 

गाउँपालिकाका अध्यक्ष महमद साउदले यादवसँग काम गर्न नसकिने प्रतिक्रिया दिएका छन् । ‘काम गर्न नसकेर केही महिना अघि सरुवा गरेर पठाएको व्यक्ति फेरि यमुनामाईमा आउनु भएको छ, कसरी काम गर्न सकिन्छ ?,’ उनले भने, ‘यादवसँग काम गर्न सक्दिन भन्ने बारेमा मन्त्रालयलाई जानकारी गराई सकेको छु ।’

यता प्रशासकीय अधिकृत यादवले आफू हाजिर नहुँदै अध्यक्षले फिर्ताको लागि पत्र लेखेकोले अदालत जानु परेको प्रतिक्रिया दिए । उनले अदालतको आदेशपछि हाजिर गर्न गएको बताए । आइतबार पालिकामा हाजिर हुने विषयमा अध्यक्षसँग समन्वय भएको यादवको दाबी छ ।

यादवलाई हाजिर गर्न नदिन महिलासहित स्थानीयले पालिका प्रवेशद्वारमा जम्मा भई अवरोध गरेका थिए । ‘स्थानीयले अवरोध गर्ने संकेत पाएर नै यादवले प्रहरी लिएर गएका थिए । यादव ठेकेदारको गाडीमा पालिका पुगे‘ स्रोतले बतायो । विरोध हुँदाहुँदै हाजिर भएको बारेमा यादवले भने, ‘मन्त्रालयले जहाँ पठाउँछ कर्मचारी त्यहीँ जाने हो । म पनि मन्त्रालयले पठाएको ठाउँमा जान्छु ।’

यमुनामाईका एक कर्मचारीले भने, ‘जनप्रतिनिधिसँग टसल भएपछि उहाँ भदौमा सरुवा लिएर जानु भएको हो । अध्यक्षको असहमति हुँदाहुँदै फेरि किन आउनु भयो ? रहस्यमय छ ।’ गाउँ परिषद् गर्न नसकेका यादव यसअघि पनि अध्यक्षसँग कुरा नमिलेका कारण कार्यालय बाहिरबाट काम गर्ने गरेका थिए ।

तराईका जिल्लामा प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा निकै ठूलो समस्या देखिएको छ । जसमा मलजल गर्दै आएको छ मन्त्रालयले । प्रशासनिक खटनपटन भन्दा राजनीतिक आग्रह/पूर्वाग्रहबाट खटाउने र हटाउने गरेकै कारण आगोमा घिउ थप्ने काम भइरहेको जनप्रतिनिधिहरूको गुनासो रहँदै आएको छ । जसको चेपुवाका कारण प्रमुख प्रशासकीय अधिकृतसमेत जान मानिरहेका छैनन् । 

Tags :
प्रतिक्रिया दिनुहोस