राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी : मन्त्री साउद « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी : मन्त्री साउद


९ पुस २०८०, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।

सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् ।

उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू विदेशिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान् व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए ।

उनले देशको कुल जनसङ्ख्यामध्ये युवाहरूको जनसङ्ख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले काम गर्ने जनसङ्ख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । उनले अहिले काम गर्ने समय भएको भन्दै सबैको ध्यानाकर्षण गराए ।

उनले भने,‘धेरै पढे, लेखेका मान्छेहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरू पनि बाहिर गइरहेका छन् । र कामदार वर्गपनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठूलो लगानी भएको बुद्धिजीवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम गर्‍यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदि नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरूले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ । अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउँथ्यो । बिजनेस सेक्टरको मेनपावर भए त्यसले व्यापारिक सम्भावनाहरूमा अगाडी बढ्थ्यो । तर हाम्रो स्कील्ड र क्षमता बनेको, दिएको, भएको शक्ति बाहिर जाँदाखेरी हाम्रो मुलुकलाई क्षति भइरहेको छ । हाम्रो देशमा युवाको जनसङ्ख्या धेरै छ । कुनैपनि देशको समग्र जनसङ्ख्याभित्र युवाहरूको हिस्सा सबभन्दा ज्यादा हुन्छ । कुनैपनि देशले विकास गर्ने त्यही बेला हो । आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ । आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो । यसपछि तपाई हामी बुढा हुँदै गइसकेपछि फेरि बसी खाने बेला आउँछ । जनसङ्ख्या बसी खाने भएपछि आर्थिक गतिविधि कम हुन्छ । विकास कम हुन्छ । त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहन्छु ।’

मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस