सुन र मानव तस्करी काण्डले विमानस्थल जान मान्दैनन् कर्मचारी, सरुवा दिए खाली हुने स्थिति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन र मानव तस्करी काण्डले विमानस्थल जान मान्दैनन् कर्मचारी, सरुवा दिए खाली हुने स्थिति


३ पुस २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति बेला सुन तस्करी र मानव तस्करी गर्ने ठाउँको रूपमा परिचित छ । सुन तस्करी र मानव तस्करीमा विमानस्थलमा कार्यरत कर्मचारी संलग्न भएको पाइएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र तस्करको मिलेमतोमा विमानस्थलबाट सुन भित्रिएको अनुसन्धानले देखाएको छ । अर्कोतर्फ नेपाल वायुसेवा निगम र अध्यागमनका कर्मचारी तथा ट्राभल्स एजेन्सीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी भएको पाइएको छ । 

प्रहरीले सुन तस्करी र मानव तस्करीमा विमानस्थलमा कार्यरत विभिन्न निकायका कर्मचारी संलग्न भएको तथ्य सार्वजनिक गरेपछि यति बेला विमानस्थलमा कार्यरत कर्मचारी सरुवा हुन चाहिरहेका छन् भने बाहिरबाट त्यहाँ जानबाट कर्मचारी हच्किएका छन् । कर्मचारीका लागि आकर्षक मानिने विमानस्थलमा एकपछि अर्को काण्ड भएपछि कर्मचारीहरू हच्किएका हुन् ।

स्रोतले भन्यो, ‘बाहिरको कर्मचारी सरुवा भएर विमानस्थल जान चाहँदैनन्, भएकाले पनि सरुवा मागी रहेका छन् । सरुवा मागेका सबैलाई दिने हो भने विमानस्थल खाली हुन्छ ।’ बाटोमा हिँडिरहेका कर्मचारीहरू माथि प्रहरीले क्षेत्राधिकार नाघेर धरपकड गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरूले केही दिन अघि असन्तुष्टि पनि जनाएका थिए । प्रहरीले निजामती कर्मचारीको मनोबल गिराउने काम गरेको भन्दै उनीहरूले आन्दोलनको चेतावनी समेत दिएका थिए ।

विमानस्थलमा भएको सुन तस्करी र भिजिट भिसामा विदेश पठाउने प्रकरणमा माथिल्लो तहका कर्मचारीहरूको समेत मिलेमतो हुनसक्ने देखिएको छ । यसमा अन्य कर्मचारीको समेत संलग्नता रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सुन तस्करी र भिजिट भिसामा विदेश पठाउने प्रकरणमा पक्राउ परेका कर्मचारीहरू माथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मोटो रकम लिएर भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको छ । भिजिट भिसामा विदेश पठाउने प्रकरणमा संलग्न अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्का, नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू होमनाथ पोखरेल, अरविन्द यादव र विश्वनाथ कोइरालासहित ३२ जना पक्राउ परेका छन् । यसमध्ये केही धरौटीमा छुटेका छन् ।

नेपाल वायुसेवा निगमले पक्राउ परेका अधिकृत पोखरेल र वरिष्ठ सहायक यादवलाई निलम्बन गरेको छ । पक्राउ परेका खड्कामाथि अनुसन्धान गर्ने क्रममा अन्य कर्मचारीको समेत मिलेमतो देखिएको हो । विमानस्थल भन्सार कार्यालयका केही कर्मचारीको संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । 

यसै गरी तस्करी गरेर ल्याएको सुन राख्न विमानस्थलको अपाङ्गमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । यसमा पनि कर्मचारीकै संलग्नता पाइएको छ । प्राधिकरणका कर्मचारी र तस्करले ती दराज प्रयोग गर्ने गरेका थिए । दराजमा राखिएको अवैध सुन प्राधिकरणका कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको खुलेको छ ।

भन्सार विभागका अनुसार मंसिर २१ को मध्यरात विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि गरेको अनुसन्धानमा तस्करी गरेर ल्याएको सुन दराजमा लुकाउने गरेको प्रमाण भेटिएको हो । विभागले सुन तस्करी काण्डमा १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमध्ये प्राधिकरणका ७ कर्मचारी छन् । सुन तस्करीबारे छानबिन गर्न विभागले निर्देशक मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस