शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन राष्ट्रपतिको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन राष्ट्रपतिको आग्रह


२ पुस २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा नीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्बोधन गर्दै उनले प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारीका सामुन्ने नेपालीले हासिल गरेको ज्ञान, कला, कौशल, सीप र क्षमतामा कुनै कमी हुन नहुने बताए ।

शिक्षा विकासमा सरकारले ठूलो लगानी गरे पनि पर्याप्त नभएको उनले औँल्याए । दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान, सीप, प्रविधि राष्ट्र निर्माणका लागि उपयोग गर्नसमेत उनले आग्रह गरे ।

‘सक्षम, सबल, तथा समृद्ध राष्ट्र निर्माणका लागि दीक्षित छात्रछात्राहरूको भूमिका महत्त्वपूर्ण हुनेछ,’ राष्ट्रपति पौडेलले भने, ‘भोलि देशलाई कुन दिशामा लैजाने हो । त्यो तपाईँहरूकै हातमा छ ।’

देशबाट मैले के पाए भन्दा पनि देशलाई मैले के दिए, के दिँदै छु र भविष्यमा के योगदान गर्न सक्नु भनेर सकारात्मक सोच लिनुपर्ने उनले सुझाव दिए । ‘आजको यस प्रतिस्पर्धात्मक वातावरणमा तपाईँहरूले बेहोर्नु परेको चुनौतीप्रति पनि राष्ट्र अनभिज्ञ छैन । एकातिर पढाइमा अब्बल बन्नुपर्ने दबाबमा अभिभावक र समाजबाट हुन्छ भन्ने अर्कोतर्फ आकर्षक रोजगारी पाइन्छ कि पाइन्न भन्ने चिन्ता पनि रहिरहन्छ,’ उनले भने, ‘यस प्रकारको अवस्थाको अन्त्य आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस