सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउने प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वसाधारणको न्याय सम्बोधन सरल बनाउने प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् ।

संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुति राख्ने क्रममा सुवेदीले आफूले २१ वर्ष वकालत गर्ने क्रममा सर्वसाधारण मानिसको घर परिवार र समाजमा मुद्दाको उठान कसरी हुन्छ ? न्यायप्राप्ति गर्न उनीहरूलाई कस्तो कठिनाइ पर्छ ? अड्डा अदालतमा कस्तो जटिलता भोग्नुपर्छ र अदालतबाट अन्तिम भएको फैसलाको प्रत्याभूति कसरी प्राप्त गर्छन् भन्ने अनुभूति गरेको बताइन् ।

उनले अघि भनिन्, ‘मेरो पहिलो प्रतिबद्धता र पहल सर्वसाधारणको न्याय सम्बोधन सकेसम्म सरल र सुलभ तवरले गर्ने गराउने हुन्छ ।’

उच्च अदालतहरूमा १४ वर्षभन्दा बढी न्याय सम्पादन गर्दा कार्यबोझ भएका अदालतहरूमा रहेर ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभवले सर्वोच्चमा पनि चुस्त दुरुस्त रूपमा न्याय सम्पादन गर्ने उनको प्रतिबद्धता छ ।

न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न हर सम्भव प्रयास गर्ने भन्दै उनले मुद्दा र इजलासको समयमा सक्रिय पहल र सहभागिता जनाउने बताएकी छन् । न्यायिक सुधारमा अथक प्रयास गर्दै भन्दै सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुवेदीले भनेकी छन्, ‘नागरिकको मौलिक हकको संरक्षण संवर्द्धन, महिला बालबालिका, जेष्ठ नागरिक लगायतका विशेष संरक्षण आवश्यक पर्ने वर्गका मानिसहरूसँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटो छरितो रूपमा निरूपण गरी न्यायको प्रत्याभूति दिने कार्यमा मेरो विशेष पहल हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस