विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न यातायातलाई गृहको पत्र


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनहरूको गति निर्धारण नगरिएको भए प्रति घण्टा ४० किलोमिटर भन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।

सरकारी एवं निजी विद्यालयहरूमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरूको दुर्घटना न्यूनीकरण गर्न सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएको भन्दै गृहले यातायात मन्त्रालयलाई पत्राचार गरेको हो । गृहले गति निर्धारण गरेको भए कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन पनि अनुरोध गरेको छ ।

‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरूमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरूको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरूको गति निर्धारण नगरिएको भए प्रति घण्टा ४० किलोमिटर भन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरूलाई ऐ.ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न/गराउन तहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशअनुसार अनुरोध छ,’ गृहले यातायातलाई लेखेको पत्रमा भनिएको छ ।

पछिल्लो समय गृह प्रशासनले हरेक क्षेत्रमा सुधारको प्रयास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस