तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन वर्षदेखि प्राविधिक नहुँदा पूर्वाधारका काम प्रभावित


१७ मंसिर २०८०, आइतबार


पर्वत । भौतिक विकास निर्माण तथा पूर्वाधारसम्बन्धी काम गर्ने प्रमुख कार्यालयको रुपमा रहेको पूर्वाधार विकास कार्यालय पर्वत लामो समयदेखि प्राविधिकविहीन छ । 

दरबन्दी अनुसारका प्राविधिक नहुँदा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, ग्रामीण सडक स्तरोन्नति तथा खेलमैदान निर्माणलगायतका चालु आर्थिक वर्षका एक सय ७२ योजना प्रभावित बनेका छन् । पूर्वाधार विकास कार्यालय विगत तीन वर्षदेखि प्राविधिकविहीन हो । 

पाँचौँ, छैटौँ, सातौँ, आठौँ तहका प्राविधिक गरी १० जनाको दरबन्दी रहेको कार्यालयमा पाँचौँ र छैटौँ सहायक प्राविधिक दुई जना मात्र कार्यालयमा कार्यरत छन् । तीन जना सातौँ र आठौँ तहका प्राविधिकको दरबन्दी रहेको कार्यालयमा अहिले एक जना पनि कार्यरत छैनन् । सातौँ-आठौँ तहको दरबन्दी भए पनि कार्यालयमा अहिले तीन वटा पदविहीन बनेको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । 

जिल्ला ग्राभेल सडक, सडक पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माणको गतिविधिको अगुवाइ गर्ने कार्यालयमा इञ्जिनियरको दरबन्दी तीन जनाको हो तर एक जना पनि छैनन् उनले भने, “सब-इञ्जिनियर अधिकृत स्तर पाँचौंँ-छैटौँको सात वटा दरबन्दी छ तर अहिले कार्यरत सब-इञ्जिनियरको सङ्ख्या जम्मा दुई जना मात्रै छ ।”

दरबन्दी अनुसारको कर्मचारी नभएपछि आफूहरूलाई कामको अत्यन्तै चाप रहेको अधिकारीको भनाइ छ । “सीमित जनशक्तिका कारण सबै योजनाको विस्तृत लागत तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको बताउँदै कतिपय योजनामा प्राविधिककै कारण ढिलाइ हुने गरेको उनले बताए ।

योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति रु.  एक हजार दुई सयदेखि रु. एक हजार पाँच सयसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रुपमा तीन जना सव-इञ्जिनियरलाई काममा लगाइएको कार्यालय प्रमुख अधिकारीले बताए । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नुपरेको हो । 

पूर्वाधार विकास कार्यालय पर्वतमा इञ्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्या कार्यालय सहयोगीसहित जम्मा आठ जना मात्रै छ । उक्त कार्यालयमार्फत अहिले पर्वत जिल्लामा नौ वटा बहु वर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा मोटरेवल पुल निर्माणाधीन छन् ।

चार वटा मोटरेवल पुलमध्ये लिदी खोला सडक पुल राम्जा र छत्तीसेघाट सडक पुल पैँयु गरी दुई वटा पुल निर्माणाधीन छन् भने अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी एक सय ७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् । यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा रु. एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय स्थापना भएपछि पर्वतमा अहिलेसम्म ८१ दशमलव ३७ किमी पक्की सडक निर्माण भएको छ भने ३४ दशमलव सात किमी सडक ग्राभेल गरिएको कार्यालयले जनाएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावमा तोकिएअनुसारको काम गर्न समस्या भएको कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस