डढेलोबाट प्रभावित भएकाहरूको व्यवस्थापन गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

डढेलोबाट प्रभावित भएकाहरूको व्यवस्थापन गर्न माओवादीले गरायो सरकारको ध्यानाकर्षण


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरूलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति पुगेको भन्दै आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको बताएका छन् ।

पार्टी एवं भातृ सङ्गठनका नेता-कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ। विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको अपिल गर्दछौँ ।’

विपद्का जोखिमहरू कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकावासीलाई जनचेतनाका कार्यक्रममार्फत घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस