चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण


१३ मंसिर २०८०, बुधबार


भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ। चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ।

तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले जानकारी दिए।

उनले बन र वन्यजन्तु संरक्षणका लागि युवालाई सूचना सङ्कलन, जनचेतना, वन्यजन्तुको आनीबानी लगायतका विषयमा प्रशिक्षित गरिएको बताए। उनका अनुसार संरक्षणमा यसअघि प्रयोग भएका विधि र अबका दिनमा गर्नुपर्ने कामका विषयमा प्रशिक्षण दिइएको छ।

तालिममा चितवन राष्ट्रिय निकुञ्जका चार समितिका २४ जना र पर्सा राष्ट्रिय निकुञ्जको एक समितिका ६ जना सहभागी छन्।

चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै झण्डै पाँच सय युवा सक्रिय छन्। सहभागीलाई सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक प्रशिक्षण पनि प्रदान गरिएको भू-परिधि कार्यक्रम (ताल)का पूर्वी क्षेत्र संयोजक प्रेम पौडेलले जानकारी दिए।

मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, मानिसको व्यवहार परिवर्तनका विषयमा पनि युवालाई जानकारी गराइएको छ। प्रशिक्षणमा सहभागी युवाले आफ्नो गाउँ ठाउँमा गएर त्यहाँका युवालाई प्रशिक्षण दिनेछन्। प्रभावित क्षेत्र, महिला समूह, सामुदायिक बन, युवा लगायतका समाजमा रहेका हरेक नागरिकलाई प्रशिक्षण लिएका युवा आफूले सिकेको ज्ञान प्रदान गर्ने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस