कालिकोटका अधिकांश स्थानीय तह निमित्तको भरमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कालिकोटका अधिकांश स्थानीय तह निमित्तको भरमा


१२ मंसिर २०८०, मंगलबार


कालिकोट । कालिकोट जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् । कतिपय स्थानीय तहले दरबन्दी अनुसार प्रमुख प्रशासकीय पाए पनि ती धेरै समय टिक्दैनन् भने कतिपय अहिलेसम्म निमित्तकै भरमा छन् ।

नौ वटा स्थानीय तह रहेको कालिकोटमा पाँच वटा पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, शुभकालीका गाउँपालिका, महावै गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । खाँडाचक्र नगरपालिकामा निमित्त प्रशासकीय अधिकृतको रूपमा प्रवलजंग शाही कार्यरत छन् ।

यसैगरी रास्कोट नगरपालिका पनि निमित्तको भरमा चलेको छ । जवान सिंह बम विगत तीन वर्षदेखि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा छन् । बिचमा दुई पटक प्रमुख प्रशासकीय अधिकृत पठाइएको भए पनि उनीहरू टिक्न सकेनन् । 

शुभकालीका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा चलेको छ । पालिकामा सातौँ तहको दरबन्दी रहे पनि छैटौँ तहका गणेश बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । उनी गत पुसबाट पालिकामा कार्यरत छन् । 

महावै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रकाश शाहीले पाएका छन् । सातौँ तहको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि छैटौँ तहमा शाहीले एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । यसअघि पनि उक्त पालिका निमित्तकै भरमा चलेको थियो ।

सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा २०७६ सालदेखि नेत्र राज शाही कार्यरत रहेका छन् । उनी छैटौँ तहका कर्मचारी हुन् । पािलकामा प्रमुख प्रशासकीय अधिकृतको लागि आठौँ तहको दरबन्दी छ । मन्त्रालयले उनलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्य गर्न जिम्मेवारी दिएको छ । 

रास्कोट र खाँडाचक्र नगरपालिकाले अहिलेसम्म दरबन्दी अनुसारको प्रशासनिक नेतृत्व पाएका छैनन् । केही पालिकामा पाँचौँ तहका कर्मचारी कार्यालय प्रमुख भएर कामकाज गदै आएका छन् । कर्मचारीले दुर्गममा काम गर्न इच्छा नदेखाउने भएका कारण कालिकोटका धेरैजसो स्थानीय तहले दरबन्दी अनुसार कार्यालय प्रमुख पाउँदैनन् ।

नरहरिनाथ गाउँपालिका, पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकामा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस