उपत्यकामा उच्च सुरक्षा सतर्कता : सिडिओ भन्छन्, प्रदर्शनकारी भेट नहुने गरी रुट मिलाएका छौं « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपत्यकामा उच्च सुरक्षा सतर्कता : सिडिओ भन्छन्, प्रदर्शनकारी भेट नहुने गरी रुट मिलाएका छौं


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार (आज) काठमाडौँमा आयोजना गरेको प्रदर्शनलाई लिएर उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित अराजक, अवाञ्छित र उत्छृङखल गतिविधिहरू नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर (जेओसिसी) गठन गरिएको छ ।

दुई पक्षले गर्ने प्रदर्शनका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ । संघले तीनकुने र प्रसाईं पक्षले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कार्यक्रममा सहभागी हुन जाने मार्ग पनि फरक फरक तय गरिएको छ । उनले भने, ‘एकआपसमा जम्का भेट नहुने गरी रुट तय गरेका छौं । सोही अनुसार सुरक्षा व्यवस्था पनि मिलाएका छौं ।’

बिहानैदेखि काठमाडौँका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । काठमाडौँ भित्रने सबै नाकामा निगरानी बढाइएको छ । बाहिरबाट आएका प्रदर्शनकारी बस्ने स्थान होटल, पार्टी प्यालेसमा पनि निगरानी भइरहेको बस्नेतले बताए । सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।

सार्वजनिक सम्पत्ति संरक्षणमा विशेष जोड दिइएको छ । घुसपैठ गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको हो । बैङ्क, वित्तीयसंस्था, सहकारी, व्यापारिकघराना लगायतका स्थान, विशिष्ट व्यक्ति तथा उच्चपदस्थअधिकारीहरुको निवासमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख केन्द्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आवश्यक क्षेत्रमा अत्याधुनिक सुविधासम्पन्न साधनहरू सहित सुरक्षाकर्मी परिचालन गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । उनले भने, ‘जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको निर्णय र सहमति अनुसार दुवै पक्षको आन्दोलनलाई जुध्न नदिने र शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनलाई सहजरुपमा सम्पन्न गर्न दिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।’

जनजीविकाका विषयमा असर नपर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । कुनै पनि नागरिकले भय र त्रास लिनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारीहरूले बताए । कहीँ कसैले घुसपैठ गरेर अथवा प्रदर्शनकारी समूहकै अराजक व्यक्तिहरूबाट कुनै किसिमको अवाञ्छित र गैरकानूनी क्रियाकलाप भएमा तत्कालकै एक्सन लिने गरी तयारी भएको छ ।

दुवै पक्षले प्रदर्शनमा सहभागी गराउन बाहिरी जिल्लाबाट पनि मानिस ल्याएका छन् । तर, सामाजिक सञ्जालमा प्रचार गरिएको जस्तो ठूलो संख्यामा प्रदर्शनकारी बाहिरबाट अहिलेसम्म आएको अवस्था छैन ।

प्रमुख जिल्ला अधिकारीहरूका अनुसार दुवै पक्षले कार्यक्रमलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस