जोखिममा भूकम्पपीडितको स्वास्थ्य, चिसोले ज्यान लिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जोखिममा भूकम्पपीडितको स्वास्थ्य, चिसोले ज्यान लिँदै


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ । जाडो छिप्पिँदै छ । दिनदिनै चिसो बढ्दो क्रममा छ । दिन जसोतसो कटाए पनि चिसा रात झेल्न सकस छ । जाजरकोटका भूकम्प प्रभावितले दिउँसो घाम तापेर राहत महसुस गरे पनि उनीहरूका लागि हरेक रात कष्टकर छन् ।

राहतको त्रिपाल र कम्बल जाडो थेग्ने खालका छैनन् । चुहिने पालमुनि शीत छल्दै रात काट्न विवश छन् । त्रिपालको ओत र पर्याप्त लत्ताकपडा नहुँदा स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार चिसोका कारण दम र निमोनियाका बिरामीहरू बढी प्रभावित छन् । उनले भनिन्, ‘चिसोका कारण रुघा खोकीका बिरामी बढेका छन् । न्यानो कपडा पर्याप्त नहुँदा स्वास्थ्यमा समस्या पनि देखिएको छ ।’ भूकम्पले घर भत्किएका कारण मानिसहरू खुला आकाश र टेन्टमा बस्नु परेको छ । दीर्घरोग भएका ज्येष्ठ नागरिकलाई चिसोमा निमोनियाको जोखिम उच्च हुन्छ । चिसोको बासकै कारण बितेको १० दिनमा जाजरकोटमा ११ दीर्घरोगी र वृद्ध वृद्धाको ज्यान गएको छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर कात्तिक १७ मा गएको शक्तिशाली भूकम्पबाट जसोतसो जोगिए पनि चिसोबाट जोगिन सकेनन् ।

ज्यान गुमाएकाहरू दीर्घरोगी र जेष्ठ नागरिक भएकाले चिसोकै कारण उनीहरूको मृत्यु भएको हो भन्ने स्वीकार गर्ने पक्षमा सरकारी अधिकारीहरू छैनन् । ‘घर भत्किएपछि बाँसको समस्या छ । ओत नभएपछि चिसो लाग्नु स्वभाविक हो,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, ‘सुत्केरी महिला, नवजात शिशु, वृद्धवृद्धा, दीर्घ रोगीलाई विशेष ध्यानमा राखेर राहत वितरणको काम भइरहेको छ ।’

चिसोबाट सुरक्षित राख्न र न्यानो बनाउन स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गरिएको उनले बताए । तत्काल अस्थायी टहराहरू निर्माणका लागि प्रक्रिया अगाडी बढाएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले भत्किएका भग्नावशेष हटाउने काम गरिरहेका छन् । यसका लागि ३ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले अस्थायी टहरा बनाउने काम भइरहेको उनले जानकारी दिए ।

कर्णाली प्रदेशस्थित स्वास्थ्य निर्देशनालयका अनुसार जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित छन् । यो प्रदेशको कुल जनसङ्ख्याको २२ प्रतिशत हो । तीमध्ये स्तनपान गराइरहेका आमा पाँच हजार ३४३ छन् । २० दिनकी सुत्केरीको पनि पालमुनिको बास छ । चिसोले सुत्केरी र बालबालिकामा रुघा खोकीको समस्या देखिन थालेको छ ।

चिसोका कारण थप स्वास्थ्य समस्या आउन नदिन पहल भइरहेको स्थानीय सरकारको भनाइ छ । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘चिसोका कारण देखिने स्वास्थ्य समस्याबाट जोगाउन र न्यानोपनका लागि प्रबन्ध गरेका छौं । र यसबारे विभिन्न दातृ निकायसँग सहयोग मागेको छु ।’ तत्कालका लागि न्यानो कपडा, ओतको लागि त्रिपाल, भाँडाकुँडा, खाद्यान्नको आवश्यकता रहेको उनले बताए ।

पालमुनिको सामूहिक बसाइले अर्को महामारी निम्त्याउने जोखिम उत्तिकै छ । एकै ठाउँमा बस्दा रुघाखोकी, झाडापखाला र हैजा फैलन सक्ने अवस्था रहन्छ । त्यसो त जाजरकोटले विगतमा पनि विभिन्न समस्या झेल्दै आएको छ । यस्ता महामारी यसअघि पनि पटक पटक फैलिसकेका छन् । २०६६ सालमा जीवनजल समेत नपाएर ३०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस