फूल व्यापारी भन्छन्, ‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएन, बिकेकै छैन’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

फूल व्यापारी भन्छन्, ‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएन, बिकेकै छैन’


२६ कार्तिक २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वदेशी उत्पादनको फूल सहुलियतमा बिक्रीका लागि निश्चित स्थान तोकेको छ । त्यसरी तोकिएको स्थानमा लगेर फूल बिक्री गर्न बसेका व्यवसयीहरु निरास बनेका छन् ।

नयाँ ठाउँ र उपभोक्तालाई अपायक पर्ने स्थान भएकाले फूल बिक्री नै नभएको भन्दै उनीहरूले यसबाट आफूहरूलाई निकै घाटा पर्ने गुनासो पनि गरेका छन् । फूल बेच्ने निश्चित स्थान तोकेर व्यवस्थित गर्नु राम्रै भए पनि अलि अगाडि गर्नुपर्ने काम निकै ढिलो गरेकाले समस्या भएको व्यवसायीको भनाइ छ ।

महानगरले स्वदेशी उत्पादन बिक्रीका लागि निश्चित स्थान तोक्ने काम गरे पनि त्यो ढिलो भएको र उपभोक्ताहरुसम्म जानकारी पनि पुग्न नसकेकाले फूल खोज्दै आउनेहरू नभएको उनीहरुको भनाइ छ । शनिबार महानगर, नेपाल फ्लोरिकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले सयुक्त रूपमा काठमाडौँको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा मात्रै फूलको व्यापार गर्न निर्देशन दिएका थिए । 

उक्त निर्देशनपछि फूल व्यापारीहरू तोकिएको स्थानमा गए पनि बिक्री नहुँदा आक्रोशित भएका छन् । असन, इन्द्र चोकतिर रोडको पेटीमा बेच्ने गरेको फूललाई कसैले पनि नचिनेको स्थानमा ल्याएर राखेको भन्दै फूल व्यापारी अशोक अधिकारीले गुनासो गरेका छन् । उनले सरकारले भारतबाट फूलको आयात बन्द गर्ने भएपछि किसानहरुले फूलको खेती गरेको तर अहिले व्यापार प्रभावित हुने गरी व्यवस्था गरेको भन्दै फूलको बिजोग मात्रै भएको बताए । 

उनले भने, ‘सरकारले भारतबाट फूल आउन नदिने भयो, किसानहरुले फूलको खेती बढाए । अहिले बिजोग छ । बिकेकै छैन । असन, इन्द्र चोकतिर सडकको पेटीमा बेच्ने गरेका थियौँ । त्यता हुँदा धेरै ग्राहकहरू फूल खोज्दै आउँथे । अहिले त्यहाँ बेच्न नपाएर यहाँ आएका छौँ । यहाँ माला बेच्न राखेको पहिलो पटक हो त्यसकारण यहाँ किन्न मान्छेहरू नै आउँदैनन् । जस्तो ल्याएर राखेको त्यस्तै छ, सोध्न आउने पनि कोही छैनन् ।’

चाडवाड आएका बेला अलिकति पैसा कमाउँ, चेलीबेटीलाई बोलाउँ भन्ने सोचले फूल बेच्न आएका व्यापारीहरुको विजोग भएको उनले बताए । उनले भारतबाट फूल ल्याउन बन्द गरिएको भने पनि भित्रन नछाडेको भन्दै सरकारले जनतालाई आवश्यक भएको कुरा आयात गर्न छोडेर नेपाली किसानलाई मार पर्ने हिसाबमा फूल ल्याएको आरोप लगाए । यस्तै, अर्का व्यापारी चतुरी विकले पहिला जेजसो भए पनि बेचेर जाने गरेकामा अहिले मान्छे नै नआउने स्थानमा ल्याएर राख्दा घर जान पुग्ने पैसा पनि नउठेको गुनासो पोख्छिन् ।

उनले यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए थोरै पैसा भए पनि आउने भन्दै आज एक दिनका लागि यसरी रोक नलगाएको भए हुने बताइन् । उनले भनिन्, ‘पहिला जेजसो भए पनि बेचेर जाने गरेका थियौँ । यसपालि घर जाने पैसा पनि नउठ्ला जस्तो भएको छ । यस्तो हुने हो भने त्यहाँदेखि आएको केही फाइदा छैन । जे गरे पनि मर्ने भनेको गरिब किसान नै हो । यस्तो कोही नआउने स्थानमा ल्याएर राख्दा बिक्री भएको छैन । यसपालि पहिलाकै स्थानमा बस्न दिएर अर्को वर्षदेखि यसरी राखेको भए हुन्थ्यो ।’

महानगरपालिकाले फूल बेच्नका लागि तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए केही पैसा कमाउने मौका पाउने अवस्था हुने तर ढिला गरी यस्तो व्यवस्था गरिएकाले मर्कामा परेको फूल व्यापारी दिपक गिरी बताउँछन् । उनले आजबाट बेच्न ल्याएको फूल बेकार भएको भन्दै यसको जिम्मेवारी महानगरले लिने हो कि कसले लिने भन्दै प्रश्न पनि उठाएका छन् । 

उनले भने, ‘महानगरपालिकाले फूल बेच्न तोकिएको केन्द्रको विषयमा हप्ता दिन अगाडि नै जानकारी र प्रचार गरेको भए सजिलो हुन्थ्यो । केही पैसा कमाउने मौका हुन्थ्यो तर तर अब यो फूल आजबाट काम नलाग्ने हुन्छ ।’ फूल तत्कालै बिक्री गर्न नसके बिग्रिएर जाने भन्दै गिरीले यसबाट धेरै नोक्सानी हुने बताए । धेरैजसो ग्राहकहरूलाई फूल कहाँ पाइन्छ भन्ने जानकारी नै नभएकाले कोही खोज्न नआएको उनको भनाइ छ ।

उनले भने, ‘आज बिक्नुपर्ने सामानहरू नबिकेपछि के छ महानगरपालिकाको योजना रु महानगरले भारतीय फूललाई प्रतिस्थापन गर्नुपर्छ भनेर नेपाली फूललाई प्रवर्द्धन गर्ने कुरा गरेको थियो । हामीले त्यही हिसाबमा फूल लिएर आयौँ । तर बिकेको छैन । यो फूललाई महानगरले उचित मूल्य दिएर व्यवस्थापन गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस