तिहारका लागि फूल र मालाको मूल्य निर्धारण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण


२१ कार्तिक २०८०, मंगलबार


चितवन । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको रु. एक सय र फूलको प्रतिकिलो रु. पाँच सय तय गरेको हो ।

निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए ।

उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूल खेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उनको भनाइ छ ।

छिमेकी जिल्लाबाट समेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उनको भनाइ छ । साथै भारतबाट समेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्प विकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उनले बताए ।

सङ्घका सचिव सुलभ श्रेष्ठले गत वर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूल खेती गरिएकोमा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिए । व्यावसायिक रूपमा खेती गर्ने किसान आठ जना रहेकोमा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उनको भनाइ छ । प्लास्टिकजन्य फूल मालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासन समक्ष माग गरिएको उनले जानकारी दिए ।

चाडपर्व लक्षित गर्दै भरतपुर महानगरपालिका-२३ मा २० बिघामा फूल खेती गरिएको छ । वडा कार्यालयको सक्रियतामा वडाभित्र सो क्षेत्रफलमा फूल खेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमा समेत अहिले फूल खेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूल खेतीमा युवा परिचालन गरी समूह बनाइ काम गरिएको उनले बताए ।

फूल खेती गर्ने किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उनले जानकारी दिए । उनले भने “कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूल खेतीबाट सुरु गरेका छौँ ।”

जगातपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूल खेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिए । उनले भने, “अघिल्लो वर्ष नौ कठ्ठामा खेती गरेका थियौँ । अहिले यसलाई बढाएर ३० कठ्ठा पुर्‍याएका छौँ ।”

संस्थाका शेयर सदस्य पदमप्रसाद चालिसे युवालाई स्वरोजगार बन्ने ठाउँका लागि कृषि कर्ममा लागिएको बताउँछन् । विदेशमा भएका युवाको सक्रियतामा यहाँ रहेका युवालाई एकजुट बनाउने काम गरिएको उनले बताए । उनले भने, “घरमै बसेर स्वरोजगार बन्नका लागि कृषि पेसा उत्तम छ । अझै फूल खेती नगदे बाली भएकाले यसको प्रवर्द्धन गर्न जरुरी छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस