म पनि परीक्षामा छु, तर ‘प्रचण्ड’ चाहिन्छ भन्ने पुष्टि भएको छ : प्रधानमन्त्री « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

म पनि परीक्षामा छु, तर ‘प्रचण्ड’ चाहिन्छ भन्ने पुष्टि भएको छ : प्रधानमन्त्री


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको व्यवस्थामाथि बढ्दै गएको भ्रमलाई सबै मिलेर चिर्नुपर्ने बताएका छन् ।

बुटवलमा पार्टीको लुम्बिनी प्रदेश समिति स्कुल विभागले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय आधारभूत स्कुलिङ प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रचण्डले गणतन्त्र उल्टाउने सपना देख्नेहरू सलबलाउन थालेको बताए ।

उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशलाई अस्थिर बनाउने षड्यन्त्र असफल पारिने दाबीसमेत गरे ।

गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबै खाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षा गर्न १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौँ ।’

उनले आजभोलि दार्शनिक एवं सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको बताए । ‘विचारको पक्षमा चिन्तनमनन कमजोर भएको छ । त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन ख‍ोज्दैछन् । तसर्थ विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ’, प्रचण्डले भने, ‘हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रुचि थियो । त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो ।’

पार्टी विभाजित हुँदा माओवादी कमजोर भएको र प्रतिक्रान्तिहरूको मनोबल उठ्न थालेको भन्दै उनले त्यसलाई चिर्न रूपान्तरणका साथ अगाडि बढ्नुको विकल्प नभएको औँल्याए ।

‘रूपान्तरण नेताहरूबाट हुनुपर्छ, अरूलाई उपदेश दिएर हुँदैन’ उनले भने, ‘गणतन्त्र, सङ्घीयताको रक्षा हामीले मात्रै गर्न सक्छौँ, अरूलाई खास चासो पनि छैन, उनीहरूको एजेन्डा पनि होइन । माओवादी कमजोर भए संविधान मात्रै विघटन हुँदैन, देश नै विघटनको खतरा रहन्छ । पछिल्लो समय धरान, नेपालगञ्ज, सर्लाहीलगायतका स्थानमा जे प्रयत्न गरियो, त्यो सामान्य छैन । गणतन्त्र नै उल्टाएपछि सङ्घीयता पनि रहँदैन, त्यसपछि देश नै टुक्राउन सकिन्छ भन्ने गम्भीर षड्यन्त्र छ । यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एक ठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्नेबारे दलहरूबीच छलफल चलिरहेको उनले सुनाए ।

‘केही दिनमा बैठक बसेर ठोस समीक्षासहित अगाडि बढ्छौँ’, दाहालले भने, ‘भूराजनीतिक दृष्टिले विश्वका महाशक्तिको दबाबमा हामी छौँ । हाम्रा कारणले होइन महाशक्ति राष्ट्रहरूको शक्ति सङ्घर्षको चेपुवामा हामी पर्न सक्ने खतरा छ । रूस-युक्रेन, इजरायल-हमास युद्ध र विश्वव्यापी परिघटना हेर्दा परिस्थिति ध्रुवीकरणतर्फ गएको छ । तसर्थ, नेपालले सन्तुलित र परिपक्व कूटनीतिक बाटो लिनुपर्छ । त्यसमा सरकारले सकारात्मक पहल लिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा हाम्रो पहल उत्कर्षमा पुगेको छ ।’

प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरूले बाँचुञ्जेल परीक्षा दिनुपर्ने बताए । ‘म पनि परीक्षामा छु, तपाईँहरू पनि परीक्षामा हुनुहुन्छ । यसपटक सरकारले निकै विवेक र दृढताका साथ कदम चालेको छ । भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, भू-माफियाहरूलाई कारबाही, कूटनीतिक सन्तुलनलगायतका जति काम गरिएको छ, तिनीहरूको रणनीतिक महत्त्व छ’, उनले भने, ‘अहिले नै उत्पात, चमत्कार गर्न सकिँदैनथ्यो । हामी गठबन्धनमा छौँ, त्यसका सीमा र जटिलताहरू पनि छन् ।’

सरकारमा रहेका पार्टीहरू सडक जाने भनेको जनतालाई प्रशिक्षित गर्न भएको उनले बताए । ‘सडक कब्जा गर्ने भनेको जनतालाई प्रशिक्षित गर्न खोजेको हो । अर्को भाषामा भन्ने हो भने सडक कब्जा पनि हो । के हामीले ज्ञानेन्द्रलाई सडक छाडिदिनु पर्ने हो ?’, प्रधानमन्त्रीको प्रश्न छ ।

उनले काठमाडौँमा नेताहरूबीच सल्लाह गरेर नै वडा र पालिकास्तरका जनतालाई व्यापक परिचालन गरेर संविधान, लोकतन्त्र र माओवादीको रुपन्तारणको पक्षमा सम्झाउने बुझाउने तयारी भएको बताए ।

आफू प्रधानमन्त्री भएपछि देशमा सुशासन, न्याय र समृद्धिका कामहरू भएको दाबी गर्दै उनले ‘प्रचण्ड चाहिन्छ’ भन्ने पुष्टि भएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस