काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
काठमाडौँको मूलपानी क्रिकेट मैदानमा भोलि शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ ।
३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ । यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ ।
नेपाल र यूएईबीचको खेल भोलि बिहान ११ बजे शुरु हुनेछ । यो खेल जितेमा नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
