बिउँझेको बन्दिपुर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिउँझेको बन्दिपुर


१६ कार्तिक २०८०, बिहिबार


२०८० साल कार्तिक ४ गते शनिवार पूर्वाह्न ११ बजे बन्दिपुर पुग्दा झलमल्ल घाम लागिरहेको थियो । छोरा विधानले केही दिन पहिले नै होटेल बुक गरेको हुनाले सजिलो पनि भयो । फुलपातीको दिन हुँदा काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनको भिडभाड थिएन । हाम्रो त्यो दिनको यात्रा अविस्मरणीय रूपमा सहज र रमणीय थियो ।

हामी गाडीबाट झोला उतार्दै थियौं , होटेलमा सहयोगीको भूमिकामा रहेका विमल श्रेष्ठ आएर विनम्र अभिवादन गरे । बन्दिपुरको खास बजारभन्दा पश्चिमतर्फ टुँडिखेलको छेवैमा अवस्थित ‘बन्दिपुर बिसौनी होटेल’ प्रथम दृष्टया नै राम्रो लाग्यो । हामीले एक तला माथिबाट बन्दिपुरको अवलोकन गर्‍यौं । निकै मन पर्‍यो ।

भोलिपल्ट बिहानै प्रभातफेरी एवं दृश्यावलोकनको उद्देश्यले दुई मिनेटको संक्षिप्त यात्रा गर्दै टुँडिखेल पुग्यौं । एउटा ठिक्कको सम्म परेको बान्किलो चउरलाई नै टुँडिखेल नाम दिइएको रहेछ । उत्तरतर्फ हेर्दा मनै आनन्दले विभोर भयो । एका बिहानै जवानीले उन्मत्त झैँ देखिने हिमालयहरू लय मिलाएर हाँसिरहेको थिए । दक्षिणतर्फको डिलमा लस्करै उभिएका  शताब्दी उमेर नाघेका वर र पिपलका वृक्षहरू बन्दिपुरको सांस्कृतिक परम्परा र धरोहरका साक्षी थिए ।

सपरिवार बन्दिपुर पुगेका हामी सबैले आ-आफ्नो चाख र चेतना अनुरूप अवलोकन र अनुभव गर्न थाल्यौं । म बन्दिपुरको दृश्यभित्रका दृश्यहरू पर्गेल्न चाहन्थें I  म त्यहाँ प्रकृति मात्र होइन , अपितु ‘मानिस भित्रको मानव’ को समेत सूक्ष्म अवलोकन र अनुशीलन गर्न उद्यत थिएँ । पात्र बिना प्रवृत्ति थाहा हुने कुरा भएन । म पात्रको खोजीमा निस्कें एक्लै । म बन्दिपुरको हृदयभित्र लीन भएर एकाकार र अद्वैत हुन चान्थे  I 

यस्तैमा विनायक खाजा घरको सामुन्नेमा रहेको अजङ्गको पिपल वृक्षको छहारीमा एक जना वृद्ध बसिरहेको देखें । मैले नजिकै पुगेर भने ,  ‘सन्चै  हुनुहुन्छ हजुर ?’ उनी मतर्फ फर्केर  मुसुक्क हाँसे । मैले नमस्कार मुद्रामा हात उठाएँ । उनी जुरुक्क उठे । ‘नमस्कार सर !’ उनको वाणीमा निर्मलता र अनुशासन थियो । ‘म बस्न सक्छु ?’  उनका कानहरूमा पनि बुढेसकालको प्रभाव परेको रहेछ । भने , ‘कहिले आउनुभयो ?’ मैले उनलाई समातेर कुर्सीमा बसालें र म पनि बसें। सलज्ज उनी झुकेको पारामा बसेर विनम्र मुस्कुराए ।

अपरिचितसँग बातचितको सुरुवात गर्न एउटा निहुँ त चाहिन्छ नै । मैले वृद्धको कानैमा मुख पुर्‍याएर भनें,  ‘तपाईं जान्ने हुँदा यो पिपल कत्रो थियो ?’  उनको संकोच समाप्त भइसकेको थियो । भने, ‘म अहिले असी वर्षको भएँ , तर मैले मेरो बाल्यकालमा पनि यो पिपललाई यस्तै देखेको हुँ । अघिका मानिसहरू वर पिपल रोप्थे ,  हुर्काउँथे र धुमधामले बाजा बजाएर विवाह पनि गरिदिन्थे । वर दुलहा र पिपल दुलही ।’

उनी हुन् रेशम बहादुर श्रेष्ठ । गरिबीलाई अत्यन्तै नजिकबाट देखेका र भोगेका उनी बन्दिपुरका भुईंमान्छे हुन् । उनको बाल्यकाल साह्रै दु:ख, दर्द र अभावमा बित्यो । युवावस्थामा साहुको घरमा गोठालो बसे । फेरि साथीहरूको आग्रहमा ‘अमृकानेको भारी बोक्न’ गए उनी । गोराहरूको भारी बोकेर उनी बुटवल र पाल्पा मात्र होइन, मनाङ र मुस्ताङ पनि पुगे ।

रेशम काकाले चुरोट सल्काए । ‘अरुथोक त देहीले माग्न छाड्यो  । तर चुरोट माग्न छाडेन । सबैले गाली गर्छन, तर सक्दिन ।’  सत्तरी वर्ष भयो धूम्रपान सिकेको । बाको लागि तमाखु भर्दा यसो तान्दातान्दै कहिले अम्मल बस्यो पत्तै भएन । वर्तमानप्रति सकारात्मक भाव राख्ने उनले अग्ला अग्ला होटेलतर्फ नियाल्दै भने ,   ‘उहिले त साह्रै दु:ख थियो नि । खानेकुराको दु:ख , बाटोघाटोको दु:ख , लाउने लुगाको दु:ख ।’ उनी मुलुकमा भएको परिवर्तनप्रति सन्तुष्ट छन् ।

अहिले छोरा बुहारीले होटेल खोलेका छन् । विनायक खाजा घर र तरकारी पसलतर्फ देखाउँदै उनी भन्छन् , ‘यो मेरा छोराहरूको हो ।’  श्रीमती बितेको एक वर्ष नपुगेको हुँदा रेशम काकाको परिवारले टीका लगाउने छैन ।  उनी भन्छन् , ‘अहिले एउटा पाडो र ससाना बोका पालेको छु । खाली बस्न मन लाग्दैन ।’  उनलाई प्रत्येक साँझ एक गिलास रक्सी खानै पर्छ । भन्छन् , ‘मैले खाने रक्सी मै बनाउँछु ।’ उनले रक्सी बनाउनका लागि आफ्नै परिश्रमले कोदो रोपेका छन् ।

उनी साढे पाँच दसकअघिको समय सम्झंदै भन्छन् , ‘त्यो बेला त च्या भन्दा रक्सी सस्तो नि ।’  गोराहरूको भारी बोकेर हिंड्दाको समयमा जाडोले कक्रक्क भएका उनलाई मनाङका भोटेनीले माया गर्दै आगो ताप्न दिएको घटना अझै बिर्सेका छौनन् उनी । उनलाई सारा बन्दिपुरले चिन्छ , किन्तु उनी एक जीउँदो इतिहास हुन् र उनको अनुभवलाई लिपिबद्ध गरेर नासोको रूपमा जगेर्ना गर्नु पर्छ भने बुझेको छैन । रेशम काका निरक्षर छन् , उनी सुन्दर शब्दमा आफ्ना सन्देशको प्रशारण गर्न जान्दैनन् । तर उनको इतिहास र वर्तमानले  आजको बन्दिपुरको प्रतिनिधित्व गर्दछ । ‘तिमी जे हौ त्यसैको अनुसरण गर । तिम्रो जीवनको जरो जहाँ छ , त्यसैमाथि अडिएर बस । जुन डालीसम्म तिम्रो पहुँच छ , त्यसैलाई समातिरहू । बोल्दाबोल्दै मौनी बन । कर्म गर , तर कर्ताभावको अभिमान नगर ।’ उनलाई मन्दिर जानु पर्दैन I सन्तको उपदेशको दरकार छैन । जो पूर्ण छ , उसले कसैबाट कुनै कुराको अपेक्षा पनि गर्दैन । जसले आफ्नो औकात जानेको छ , उसले जीवनमा पश्चात्ताप पनि गर्नु पर्दैन । जसले जीवनलाई निकटबाट चिनेको छ , उसलाई शिक्षा दिन कुनै विद्यापीठको आवश्यकता छैन ।

सडक पारी बुहारी नाङ्लाभरि पाडाको मासु काट्ने तरखरमा छिन् । दसैंको माहोल र मुड छ । टीका नलगाए पनि मासु त खानै पर्‍यो । होटेलमा बफको परिकार माग्नेलाई खुवाउनु पनि पर्‍यो । नेवारी बस्ती हो । दसैंमा यत्रतत्र टकेर्ना पाडा काटेका छन् । म महिलाको नजिकै गएँ । ‘तपाईंको नाम के हो नि बैनी ?’  म आफ्नो सोधालु बानीमा किञ्चित लज्जित पनि भएँ । फरासिली उनले मुस्कान भर्दै भनिन् , ‘मेरो नाम सुभद्रा हो सर ।’ अतिथिका हरेक जायज प्रश्नको उत्तर दिन तत्पर छ बन्दिपुर । र, कस्ता शब्दको सम्बोधनले अतिथि प्रसन्न हुन्छ भन्ने पनि ज्ञान छ उसलाई । मैले फेरि कोट्याएँ , ‘कति रुपैयाँ किलो नि यो पाडाको मासु ?’ उनले सहज भावमा उत्तर फिराइन् , ‘यो त हामीले एघार घर मिलेर साठी हजारको पाडो रैबन्दीमा काटेको नि ।’ मलाई महसुस भयो, बन्दिपुर बाठो छ । तर कुरा चपाउन जान्दैन ।

बन्दिपुर बिसौनी होटेलका प्रोप्राइटर सन्तोष श्रेष्ठको डुम्रेमा पनि कारोबार छ । बन्दिपुरबाट डुम्रेको दूरी करिब आठ किलोमीटर मात्र रहेको हुँदा उनलाई तलमाथि गरिरहन खासै कठिन छैन । पाँच तल्ले होटेलको आवासीय बन्दोबस्त र रेस्टुरेन्टको सारा प्रबन्ध सहयोगी भाइ विमल र बहिनी दुर्गाले धानेका छन् । भाइ विमलले केही समय भारतको राजधानी दिल्लीको होटेलमा काम गरेको हुँदा इन्डियन खाना बनाउन पनि माहिर छन् । बहिनी दुर्गाको शालीनता , विनम्रता , सुशीलता , जाँगर र सुन्दरता देखेर हामी सबै अचम्म पर्‍यौं । उनको कर्मशीलता , मधुरता , श्रीयुक्त व्यक्तित्व र सभ्यता देखेर एक जना अथिति महिला भन्दै थिइन् , ‘यस्तो भव्य महिला मैले कहिल्यै देखेकी थिइन ।’

बडा दसैंको बखत हुनाले गाउँ पालिकाको कार्यालयमा बिदा थियो । श्री पद्म पुस्तकालय बन्द थियो । विद्यालयहरूमा छुट्टी थियो । सारा संस्थागत चरित्रका कार्यालय बन्द थिए । त्यस परिस्थितिमा मेरा सूचनाका स्रोत प्राकृतिक व्यक्ति र प्रकृति मात्र हुन सक्थे । बेलुका मैले सन्तोषलाई सोधेको थिएँ , ‘बन्दिपुर चिन्न कसलाई सम्पर्क गर्नु राम्रो होला ?’ उनले आफूले जाने बुझेका धेरै कुरा बताएपछि भने, ‘तल बजारमा वंशीधर पिया हुनुहुन्छ, उहाँलाई सोध्नुहोला ।’ 

नवमीका दिन बिहानै म टुँडिखेल पुगें । सूर्यदयको समय हुँदै थियो । स्वदेशी र विदेशी पर्यटकहरू उदाउँदो सूर्यको अवलोकन गर्न व्यग्र थिए । सबैभन्दा पहिले पर माछापुच्छ्रेको शिरमा सूर्यको किरण देखियो । धौलागिरी अझै पर पश्चिमतिर भएको हुँदा बन्दिपुरबाट अलि सानो देखिन्छ । फेरि सूर्यका रश्मिहरू सारा हिमालयभरि मुस्कुराउन थाले ।

हिमाललाई निकै राम्ररी हँसाएपछि पूर्वको डाँडाको कोखातिरबाट सूर्य पनि  हाँस्यो । त्यो दृश्य अपूर्व र अद्भुत थियो । मैले केही भिडियोहरू खिचेर भविष्यका लागि जगेर्ना गरेर राखें I सारा पर्यटकहरू मन्त्रमुग्ध भए , सायद सबैले बन्दिपुर भ्रमणलाई औचित्यपूर्ण र सफल ठाने ।

टुँडिखेलको उत्तरी किनाराभन्दा तलतिर भयानक भिर छ । भिरको सिमाना सकिएपछि सुरु हुन्छ डुम्रेको फाँट र वरिपरिको दृश्य । तर त्यस सुन्दर बेसीको अवलोकन गर्न अलिक घाम छिप्पिएपछि मात्र सम्भव छ । बिहानभरि त त्यहाँ कपासै कपासको थुप्रो प्रतीत हुने हुस्सुले ढाकिरहेको हुन्छ । बिहान हिमाल हाँस्दा बेसीले घुम्टो ओडेको हुन्छ । जब लजालु बेसी दिउँसो प्रकट हुन्छ, बिहानको कपासरूपी घुम्टो हिमालको शिरमा पुग्दछ । लाग्दछ,  बेसी र हिमालय कहिल्यै नदेखिने र नभेटिने अनन्त प्रेमी हुन् ।

एउटा पर्खालमाथि एक जना मान्छे हिमालतर्फ पिठ्युँ फर्काएर बसिरहेका थिए । साठी नाघेका ती महाशयमा मैले मेरै दौंतरीको रूप देखें ।  मलाई लाग्यो , यी बन्दिपुरको बखान गर्न सक्ने असल वक्ता हुन सक्छन् । म उनको अगाडि गएर ठिङ्ग उभिएँ र भरसक संयत र शालीन हुने प्रयत्न गर्दै बोलें , ‘नमस्कार सर ।’ उनले टाउको उठाउने जाँगर पनि गरेनन् । आँखा मात्र उठाएर यसो हेरे । मेरो नमस्कार खेर गइसकेको थियो । तथापि म निराश भइन । निराश भएर बन्दिपुरलाई बुझ्न सम्भव पनि थिएन । मैले विनम्र हुँदै सोधें , ‘हजुर यहीँको स्थानीय हो ?’ यस पटक त उनले आँखा उठाउने जाँगर पनि गरेनन् । घोप्टो परेरै भने, ‘हो ।’

म उनको नजिकै बसें I मैले सनम्र शब्दमा भनें ,  ‘मेरो घर पाल्पा खस्यौली हो । मलाई बन्दिपर र पाल्पाबिच केही न केही ऐतिहासिक सम्बन्ध छ जस्तो लाग्छ । मलाई हजुरसँग केही कुरा सोध्न मन लागेको छ ।’ उनले शिर उठाएर हेरे । अनुहारमा अवसादका गहिरा धर्साहरू थिए । पढेलेखेका र बुझकी प्रतीत हुने उनले नकारमा शिर हल्लाएर निराश पारे । बन्दिपुर हँसिलो छ , शङ्का छैन , तर त्यहाँ पनि मानवीय दर्द र विषादको अस्तित्व अवश्य छ । त्यहाँ पनि भग्न हृदयहरू शब्दहीन भएर चाउरिन विवश छन् । त्यहाँ पनि घरेलु र वाह्य मानवीय समस्या छन् । त्यहाँ पनि अनेकौं मनभित्र कसैलाई भन्न नमिल्ने पीडा र क्लेशहरू छन् ।

खानासाना खाइवरी हामी बजारतिर लाग्यौं । बाटोमा धचा कसला (  डाडु पन्यो ) होटेल , होटेल आगमन , ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको बन्दिपुर शाखा र माथि टाकुरामा निर्माणाधीन ट्विन टावर होटेल जाने उकालो बाटोको फेदी हुँदै बजार पस्दा जम्मा तीन मिनेट जति मात्र बित्यो । थोरै पुरानो जस्तो सानो बजार सकिएपछि श्री पद्म पुस्तकालय रहेको चोकमा पुगिन्छ । त्यहाँबाट पनि पूर्वोत्तरतर्फ सिढी चढ्दै जाँदा होम स्टेहरु भेट्टाउन सकिन्छ । त्यस सिढीको थोरै बायाँतर्फको सिढी चढ्दै माथि जाँदा गाउँ पालिकाको कार्यालय पुगिन्छ ।

र, सिधै पूर्वतर्फ जाने हो भने बाकुन्टोल हुँदै  नेट्रोडाम स्कुल र अझै पर पुगेर ओरालो झरेपछि तिन धारा पुग्न सकिन्छ । तिन धारामा प्राकृतिक मूलका धाराहरू छन् । धाराको माथितिर वन छ । सायद त्यही वनमुनिको पानीलाई इङ्गित गर्दै त्यस ठाउँलाई ‘बन डी’ भनिन्थ्यो । मगर भाषामा बनको अर्थ जङ्गल या वन र डी को अर्थ पानी हुन्छ ।

कालान्तरमा त्यस ठाउँमा नेवारहरूको बस्ती बसेको र भक्तपुर , ललितपुर , कान्तिपुर एवं कीर्तिपुर जस्ता ठाउँबाट आएका हिन्दु र बौद्ध धर्मका अनुयायीहरूले स्वाभाविक रूपमा ‘पुर’ जोडेपछि सो स्थानको नाम बन्दिपुर कायम हुँदै गएको मान्न सकिन्छ ।

बन्दिपुर पुरानो बस्ती हो । बस्तीको पश्चिमतिर एउटा अग्लो टाकुरो छ । आफ्नो विजय अभियानका सिलसिलामा पूर्वसम्म जित्दै गएका पाल्पाली राजा मुकुन्द सेन ( प्रथम ) ले त्यहाँ एक गढी निर्माण गरेका थिए । तत्कालीन सन्दर्भमा हिमालयको काखमा रहेका राज्यहरूमध्ये एक प्रकारले साम्राज्य झैँ फैलिएको देशका दिग्विजयी राजा मुकुन्द सेन समयक्रममा वैरागी बने । उनी अचानक राजपाट त्यागेर देवघाटतिर तपस्या गर्न गए । पाल्पा राज्य उनकै सन्तानबिच बाँडचुड भएर टुक्रा टुक्रामा विभक्त भयो । तिनै विभाजित राज्यमध्ये एक थियो तनहुँ , र तनहुँका प्रथम सेन राजा थिए उनै मुनि मुकुन्दका जेठा छोरा भृङ्गी सेन ।

कतै कतै बन्दिपुरमा बस्ने नेवारहरू पृथ्वीनारायण शाहको पालामा भागेर आएको भन्ने कुरा पढियो । र कतै नेवारहरू बन्दिपुरमा बस्न थालेको साढे तिन या चार सय वर्ष बितिसकेको कुरा पनि सुन्न या पढ्न पाइयो । मलाई कस्तो लाग्दछ भने नेवारहरू राजा मुकुन्द सेन ( प्रथम ) कै पालामा बन्दिपुर आउन थालेका हुन् । मुकुन्द सेनले विक्रम संवत  १५८० को दशकमा काठमाडौंमाथि आक्रमण गरेर विध्वंस गरेका थिए । काठमाडौंबाट फर्कंदा काल भैरवका साथसाथै थुप्रै नेवार शिल्पी र व्यापारीहरूलाई पाल्पामा ल्याएर बसालेका थिए । त्यसै क्रममा उनले सामरिक र व्यापारिक महत्व भएको ‘बन डी’  मा  केही उद्यमी , शिल्पी र व्यापारीहरूलाई पनि लिएर आए हुनन् भन्ने कुरा अनुमान गर्न कठिन छैन । कालान्तरमा काठमाडौं उपत्यकामा गोर्खाली आक्रमण र नियन्त्रणका समयमा केही नेवार परिवारहरू त्यहाँबाट पलायन गरेर आफ्ना स्वजहरू खोज्दै बन्दिपुर पुगे होलान् भन्ने अनुमान गर्न पनि कठिन छैन ।

हामी भ्रमणको क्रममै माथि शिखरमा निर्माणाधीन ‘ट्विन टावर’ होटेलको निर्माण स्थलमा पुगेका थियौं । त्यहाँ फेला परेका मजदुरहरू शत प्रतिशत इन्डियन रहेछन् । कामको  स्तर अनुसार दिनको ८०० देखि १५०० सम्म ज्याला पाउने मजदुर थिए त्यहाँ । अझै दुई वर्षसम्मका लागि त्यहीँ नै काम पाइरहनेमा ढुक्क देखिए उनीहरू । उनीहरू एउटा टहरोमा दस पन्ध्र जनाका दरले बस्ने र खाने गरेका रहेछन् । युपी र बिहारको कुम्भीपाक गर्मीबाट मुक्ति पाएर प्रसन्न थिए उनीहरू । हिन्दुस्तानीहरू  ढुक्क थिए , किनकि उनीहरू जान्दथे कि नेपाली युवा साउदीको प्रचण्ड गर्मीमा गधा चराउन मन्जुर छ, तर बन्दिपुरमा मजदुरी गर्न राजी छैन ।

त्यो टोलको नाम रहेछ बरालथोक । किन्तु अचेल मानिसहरूले बरालथोकलाई ‘केवल कार’ टोल बनाइसकेका छन् । पाल्पाली राजा मुकुन्द सेनले आफू तखतमा छँदै पाल्पाबाट बराल थरका मगर परिवारलाई ल्याएर यहाँ र पारी मुकुन्देश्वर गढीमा जमिन दिएर राखेका रहेछन् । केही वर्ष अगिसम्म यहाँ पाल्पाली बरालका थुप्रै घरहरू थिए । अचेल उनीहरूको बस्ती पातलो छ तापनि आपसमा मगर भाषामै कुरा गर्छन् । बन्दिपुरकै सेरोफेरोमा रान्थोक लगायत नाम गरेका अन्य थोकहरू पनि रहेका छन् ।

पाल्पास्थित मुकुन्द सेनको राजधानी वरिपरि हाटथोक ( हाल हार्थोक ) , नारायणथोक , कोर्थोक र सिलङ्गीथोक जस्ता ठाउँहरू रहे झैँ यहाँ बन्दिपुरमा सरेर आएका बरालहरूले आफ्नो टोलको नाम पनि बरालथोक राखेको अनुमान गर्न सकिन्छ । शिल्पी र सिपाहीलाई आवश्यक ठाउँमा तैनाथ गर्ने त्यस बखतको चलनलाई विचार गर्दा बन्दिपुर र पाल्पाको राम्रै ‘कनेक्सन’  देखिन आएको छ । यस सन्दर्भमा ‘रुरल डेभलपमेन्ट’  विषयमा स्नातकोत्तर गरेकी र करिब बिस वर्ष आइएनजीओमा काम गरिसकेकी फुलमति बरालसँगको भेट अत्यन्तै फलदायी रह्यो । फुलमतीको  सादगी, विनम्रता, ज्ञान र सहयोगी भावनाले मेरो मन जित्यो ।

एक दिन अगाडि नै म टुँडिखेलको सुनौलो बिहानी सकेर एक्लै बाकुन्टोल पुगेको थिएँ । महा अष्टमीको दिन थियो । पुरुषहरू माछा मासुको जुगाडमा थिए भने महिलाहरू पूजा अर्चनामा । सुन्दर परिधानमा यताउता गरिरहेका पाका  महिलाहरू पुराना घरहरूलाई मर्मत , संभार र सौन्दर्यीकरण गरेर मनोरम पारेको बन्दिपुर जस्तै प्रतीत हुन्थे । बन्दिपुर निकै गजबले बिउँझेको छ , तर यो युवाविहीन छ । लगभग सबै होटेलहरू युवा सन्तानले छाडेर हिँडेका वृद्धवृद्धाले सहायकहरूको भरमा चलाएका छन् ।

हिँड्दाहिँड्दै मैले एक जना वृद्धलाई कुर्सीमा बसिरहेको देखें I  मैले उनलाई नजिक गएर  नमस्कार गरें  । यिनले पनि टुडिखेलमा ढुङ्गामाथि बसेका मानिसले झैँ तिरस्कार गरे भने ? मेरो हृदय सिरिङ्ग भयो । तर यी वृद्धका आँखा जीवन्त थिए । अनुहारमा आशावाद झल्कन्थ्यो । उनले नम्र भावमा नमस्कार फर्काए र एउटा हलुका कुर्सी ल्याएर बस्ने आग्रह गरे ।

उनी रहेछन् एकासी वर्षीय सूर्यकुमार श्रेष्ठ । गोपालका छोरा र रामप्रसादका नाति रहेछन् उनी । चार छोरा , चार छोरी , बिस नातिनातिना र पाँच पनातिपनातिनाका अग्रज उनी आफ्नो वर्तमानप्रति सन्तुष्ट छन् । उनलाई राम्रो सम्झना छ , उस बखतको बन्दिपुर आज झैँ सजह थिएन । उनी दस – बाह्र वर्षको हुँदा पिता गोपालप्रसाद लमजुङको भलामखोलामा कपडा दुकान खोल्न गए । व्यापार त राम्रै थियो । परन्तु विडम्बना ! पिता त्यहीँ बिफरको बेथाले ढले । रोग सर्ने भयले केराको पातमा सुताइएका पिताको सारा शरीर पिप नै पिपले भरिएको थियो । धन्न माहिला भाइ भक्तुले आफ्नो दाजुलाई बन्दिपुर लिएर आए ।

कालको मुखबाट बाँचेका गोपाल चितवनतिर झरे । त्यो पनि बाढीले बगायो । उनी बर्दिया पुगेर सरकारले क्षतिपूर्ति दिएको जग्गामा बस्न थाले । सूर्यकुमार भन्छन् , ‘यो कुरा करिब २०२५ साल तिरको हो ।’ अहिले उनका दुई जना भाइ बर्दियाको शीतल बजार ( उनको शब्दमा मुग्लान बस्ती ) मा बस्छन् ।

उनलाई झल्झली सम्झना छ , २०२५ ।२६ सालतिर तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौली सारिएको थियो । त्यस घटनाले बन्दिपुरको आधा ज्यान पक्षाघात भए झैँ भएको थियो । सिद्धार्थ राजमार्गमा यातायात सुरु भएपछि त बन्दिपुर हल न चल भयो । हजारौं हजार यात्रुहरू हिँड्ने बाटोमा पर्ने बन्दिपुर एकाएक यात्रीहीन भयो । व्यापार चौपट भयो , रौनक बेमाख भयो । एक प्रकारले बन्दिपुर टुहुरो झैँ हुन पुग्यो । आजको बन्दिपुर पाएर सूर्यकुमार साह्रै खुसी छन् । परन्तु मनमा एउटा पिर छ । बजार त गुल्जार भयो तर युवा युवती सबै विदेसिन थाले । सूर्यकुमार र म अत्यन्तै दोस्ताना तवरमा कुराकानी गर्दै थियौं I अकस्मात ठुलै भूकम्पले धक्का दियो । भुइँचालोका चिर भुक्तभोगी सूर्यकुमार र म धक्कापछि पनि पूर्ववत कुर्सीमै बसिरह्यौं ।

पुस्तकालयबाट सरासर पश्चिम जाँदा एउटा दोबाटोमा पुगिन्छ । त्यहाँ डल्ले साहुको खाजा घरबाट तलतिर झर्नासाथ एउटा फेन्सी पसलमा एक जना वृद्ध साहुजी देखिए । हँसिला उनी मलाई देखेर मुसुक्क मुस्कुराए । म पारीतिर पेटीमा बसें I त्यसै बखतमा तल्लो टोलतिरबाट एउटा छ – सात वर्षको केटो हस्याङ र फस्याङ गर्दै आयो । उसले साहुजीलाई रुपियाँ देखायो । साहुजीले रुपियाँ लिए र यसो फुकाएर हेरे । ‘बिस रुपियाँ भनेर पाँचको नोट दिने ? सधै झुक्याउन खोज्ने ?’ केटो पत्तातोड भाग्यो ।

प्रेमकुमार साहुका तीन जना छोरा छन् । उनी भन्दै गए , ‘एउटा विदेशमा , अर्को काठमाडौंमा र कान्छो सँगै छ ।’ सरल र अहङ्कारहीन उनलाई पुरानो बखतको बन्दिपुरका साराका सारा कुरा याद छ । उस बखतमा मनाङसम्मका मान्छे यही बाटो हुँदै मधेसतिर झर्थे । भारबाहक मानिस र पशुको लर्को लाग्थ्यो । बाटाभरि गोबर र मुत्र मात्र हुन्थ्यो । यात्रुहरू बन्दिपुरे साहुहरूका पेटीमा नअटाएर रुखमुनि समेत बस्थे । उहिले चिया पसल र खत्राकखुत्रुक सामानका पसल हुन्थे भने अचेल आधुनिक होटेल । उहिले यो बजार ढाक्रेले भरिन्थ्यो भने अचेल स्वदेशी र विदेशी टुरिस्टले । उहिले नुन , तेल र जडाउरीका लागि मधेस झर्ने अकिञ्चनहरूको रेला हुन्थ्यो भने अहिले पैसावाल नेपाली र विदेशीको भेला ।

‘पहिले राम्रो कि अहिले ?’  भन्ने प्रश्नमा उनको प्रस्ट उत्तर छ , ‘तुलना नै हुन सक्दैन नि । अहिले त कति राम्रो राम्रो ।’

सूतक परेको हुँदा विजया दशमीका दिन पनि हामी फुर्सदैमा थियौं । बिहान सबेरै टुँडिखेलमा  विदेशीहरूको भेला थियो । धेरै गोरा , केही जापानी र कोरियन जस्ता देखिनेहरूका माझमा फाट्टफुट्ट हिन्दुस्तानी पनि देखिन्थे । सबै फोटो खिच्न र भिडियो बनाउनमा तल्लीन । आकाश सफा थियो । हिमालय र त्यसमा बिहानीको प्रथम झुल्को देख्न लालायित हामी सबै दङ्ग थियौं । म सहसा कविवर माधवप्रसाद घिमिरेका शब्द याद गर्न पुगें , ‘हामीले हिमाल  उठायौं एसियाको माझमा…..। नाचौंला हामी हिमालमा ज्योतिको पङ्ख उचाली ।’  म महाकविको ‘के नेपाल सानो छ’ सम्झेर गर्वले प्रफुल्ल भएँ ।

भिरको टाउकोमा लगाइएको तार जाली एक ठाउँमा खुस्केको रहेछ । एक जना दामी खालको खास्टो ओडेकी युवती त्यस्तो निम्छरो भिरमाथि बसेको देखेर मनै सिरिङ्ग भयो । उनी घनघोर तपस्वीले  झैँ एकोहोरो हिमालतिर हेरिरहेकी थिइन् । एक मनले सोचें , यिनलाई त्यो लखतरापूर्ण स्थानमा नबस्नुहोस् भनेर सम्झाऊँ । तर झस्केर भिरबाट लडिन् भने ? मलाई सहसा याद आयो , यतातिर त अचेल वन भोज गर्न पनि मनाही छ रे ! भोजको मुडमा धेरै युवा युवतीले फाल हालेर ज्यान गुमाएको इतिहास छ यहाँ  ।

केही वर्ष अघिको घटना हो । पोखरातिरबाट पाँच जना जोसिला नौजवानहरू बन्दिपुर घुम्न आएछन् । उनीहरू सबै हुनेखाने घरका र पढेलेखेका जस्ता देखिन्थे । बियरको नशामा  मदहोस उनीहरूबिच एउटी ठिटीलाई लिएर वादविवाद परेछ । एउटाले भनेछ , म फलानीलाई दिलो ज्यानले प्रेम गर्छु । अर्कोले भनेछ , होइन त्यो त मेरी हो । अझै अर्कोले भनेछ चुप लाग मुला केटाहरू ! तिमीहरूको के औकात छ र उसले तिमीहरूलाई प्रेम गर्ने ? यस्तैमा एउटाले भनेछ , ल त उसलाई सच्चा प्यार गर्छस् भने यो भिरबाट फाल हालेर देखा ! एक एक गरेर पाँचै जना फाल हाले । दुई जनाले ज्यान गुमाए , बाँकी तिन जना बुटामा अड्केर बाँचे ।

जे होस् , ती भिरको थाप्लोमा बसेकी युवती उठेर सुरक्षित स्थानतिर आइन् । बन्दिपुर घुम्न जाने सबै टुरिस्टहरू टुरिस्ट मुडमा हुँदैनन् । कोही कोही हार्दिक दर्द र पीडामा पनि हुन्छन् । यन्त्रवत यात्रा गर्छन् , यन्त्रवत खान्छन् र जीवन निर्वाहका तमाम कर्महरू पनि यन्त्रवत सम्पादन गर्छन् उनीहरू । मानव जीवन कठिन छ र मनोरम पनि । बुद्धदेवले उहिल्यै भनेर गएका छन् , कि जीवनमा दु:ख छ । धेरैजसो मानिसहरू त्यही दु:खभित्र पनि खुसी खोजेर घडी दुई घडी रमाउन समर्थ हुन्छन् भने कोही भने हिमाल हाँसेको देखेर पनि विषादमै डुबिरहन्छन् । जटिल छ जिन्दगानी ।

अलि वरतिर ससाना नानीहरू पिङ खेल्दै थिए । मेरो चार वर्षको नाति सुबीजले पनि पिङ खेल्छु भनेर जिद्दी गर्न थाल्यो । उनीहरू सरक्क पन्छिए र पिपलको फेदमा गएर बसे । मैले सोधें , किन खेल्न छाडेको ? खेल न ! उनीहरूमध्ये अलि ठुली देखिने नानीले भनिन् , ‘हजुरहरू गेस्ट हो नि त । हजुरहरू पहिले खेल्नुहोस् । हाम्रो त घरै यहीँ हो , जहिले खेले पनि भयो ।’ उनीहरूको आतिथ्य भाव देखेर म नतमस्तक भएँ । मैले उनीहरूको नाम सोधें  । जराकजुरुक उठेर सबैले आ-आफ्नो नाम भन्न थाले । ‘म आरुसी श्रेष्ठ , म प्रीति गुरुङ , म रेस्मा गुरुङ , म बिनिसा श्रेष्ठ र म रोजित नेपाली ।’ 

एकादशीका दिन साँझ फेरि श्री पद्म पुस्तकालय रहेको चोकमा पुगियो । मैले पुस्तकालयको फोटो लिएँ । इस्वी सम्बत १९४४ अर्थात विक्रम सम्वत् २००१ मा भानु पुस्तकालयको नाममा खुलेको पुस्तकालयलाई राणाशाहीको नजर लाग्यो । तर चतुर बन्दिपुरेहरूले पद्म शमशेर श्री ३ महाराज भएको मौका छोपेर पुस्तकालयको नाम नै श्री पद्म पुस्तकालय राखेर त्यो धरोहरलाई बचाउने काम गरे ।

साँझको बन्दिपुरको मुख्य बजार झिलिमिली र रोमाञ्चक देखिन्थ्यो । बजारभित्र कुनै पनि सवारी साधन लैजान नपाइने हुँदा रेस्टुरेन्टको बाहिरपट्टी कुर्सी टेबल सजाएर राखिएका थिए । आकाशमा शारदी चन्द्रमा मुस्कुराइरहेको थियो । विशेष गरेर गोरे टुरिस्टहरू बाहिरै खानाको आनन्द लिइरहेका थिए । न धुवाँ , न धूलो र न त धम्की दिन आउने हुल्लडबाज ठिटाहरू । वृद्धवृद्धाले चलाएका होटेलहरूमा ग्राहक पनि प्रायः वृद्धवृद्धा नै देखिन्थे । बजारमा छाडा पशु र वानरहरू देखिएनन् । भुस्याहा कुकुर प्रशस्तै थिए तापनि आज्ञाकारी बालबालिका झैँ अलि परै बसिरहेका देखिन्थे ।

मैले एक जना मानिसलाई वंशीराम पियाको घर कता होला भनेर सोधें । उनी पनि सज्जनतामा सिद्धहस्त बन्दिपुरे रहेछन् । भने , ‘ऊ त्यो कुर्ता सुरुवाल झुन्ड्याएको दुकान उहाँकै हो ।’  शिक्षण पेसाबाट अवकाश प्राप्त गरेका पिया सर बहत्तर वर्षको उमेरमा पनि आफ्नो कर्ममा सरिक थिए । उनले मलाई स्वागत गर्दै कुर्सी टक्र्याए । त्यसै बिचमा एउटा गोरा टुरिस्ट आयो र ‘आई वान्ट द्याट वान’  भन्दै कुनै सामान देखायो । पिया सर ‘किन्ने सिन्ने होइन , खाली भाउ बुझ्न आउने त हौ नि तिमीहरू’  भन्दै उठे । गोरे सामानको भाउ बुझेर ‘गुड नाइट म्यान’  भन्दै निस्क्यो । फेरि दुइटी गोरी बुढीहरू आएर दस मिनेटसम्म भाउताउ गरेपछि ‘थ्याङ्क यु सो मच’  भन्दै त्यसै निस्के । सरले भने , ‘अत्यन्तै मोलतोल गर्छन् यिनीहरू । दुनियाँ चाहारेर र सबै कुरा बुझेर मात्र कुनै सामान किन्छन् । पैसा चिनेका छन् ।’

पिया सरलाई बन्दिपुरको इतिहास र वर्तमानको पात पातको ज्ञान छ । बन्दिपुरको दशा लाग्नुका मुख्य दुई कारणहरू थिए । पहिलो थियो , सदरमुकाम दमौली सारिनु र दोस्रो थियो सिद्धार्थ राजमार्ग । २०३८ सालतिर त बन्दिपुर झन्डै ‘डेड सिटी’ नै हुन पुग्यो । २०४२ सालमा ‘नेट्रोडाम मिसनरी स्कुल’ खुलेपछि यसले थोरै सास फेर्न थाल्यो । पूर्व झापादेखि पश्चिम बाँकेसम्मका विद्यार्थीहरू यस बोर्डिङमा पढ्न आए । परन्तु विडम्बना ! माओवादीको कथित ‘जनयुद्ध’ सुरु हुनासाथ पुनः बरबादीका दिन फर्केर आए । समग्र बन्दिपुर परित्यक्त झैँ नि:सहाय र एक्लो हुन पुग्यो ।

हरेक नराम्रो घटनाको केही न केही राम्रो परिणाम पनि हुन्छ । बाध्य भएर आफ्नो थलो छाडेका प्रायः बन्दिपुरेहरू जहाँ गयो त्यहीँ सफल भए । गण्डकी बोर्डिङ स्कुल पोखरामा अध्ययनरत पिया सरका छोरा प्रसन्न पिया २०६० सालको एसएलसी परीक्षामा बोर्ड सेकेन्ड भए । बाह्रमा नेपाल टप गरेर पुलचोक इन्जिनियरिङ कलेजबाट इलेक्टि्रकल इन्जिनियरिङ विषयमा स्नातक पूरा गरेर विदेशतिर लागे उनी । पीएचडी पूरा गरेका प्रसन्नले अहिले व्याङ्कुबर क्यानाडामा राम्रो काम पाएका छन् । कान्छी छोरी डा. रन्जना पिया अस्ट्रेलियाको सिड्नीस्थित विश्वविद्यालयमा केमिस्ट्रीकी प्रोफेसर छिन् । बन्दिपुरका अन्य वृद्धवृद्धाहरू झैँ  सन्तानले छाडेका पिया सर पनि धर्मपत्नीसँग बसेका छन् ।

विभिन्न कारणले थलो छाडेर गएका बन्दीपुरेहरू स्वदेश या विदेश जहाँ रहेको भए तापनि प्रायः आफ्नो पुर्ख्यौली सम्पत्ति बेच्न मन गर्दैनन् । कतिपयले बिना कुनै शुल्क बजार बाहिर छेउछाउका घरमा कुरुवा राखेका छन् । कुरुवाले वरिपरिको जमिनमा कोदो खेती गरेका छन् । बन्दीपुरमा हरियो सागपात रोपेको खासै देखिएन । पखेराभरि जताततै कोदो नै कोदो  । एक प्रकारले ‘कोदोले भरिएका बारी र टुरिस्टले भरिएका घर’ को बस्ती भने पनि हुन्छ बन्दिपुरलाई ।

Tags :
प्रतिक्रिया दिनुहोस