दैनिक २ करोडको कारोबार गर्दै बुटवल कृषि बजार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दैनिक २ करोडको कारोबार गर्दै बुटवल कृषि बजार


६ कार्तिक २०८०, सोमबार


बुटवल । बुटवलमा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा दैनिक झण्डै २ करोडको फलफूल तथा तरकारीको कारोबार हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रले ७ अर्ब २ करोड बराबरको कारोबार गरेको थियो । कृषि बजार व्यवस्थापन समिति बुटवलका अध्यक्ष घनश्याम भुसालले केन्द्रले केन्द्रले चीन र भारतसहित नेपालका ५६ जिल्लाका तरकारी आयात हुने बताए । यसलाई नेपालका मुख्य बजारमा निर्यात गर्ने उनले जनाए ।

पश्चिम क्षेत्रको फलफूल तथा तरकारी सङ्कलन गरी व्यवस्थित तरिकाबाट आन्तरिक र बाह्य बजारमा पुर्‍याउने उद्देश्यले बुटवलमा विसं ०६७ भदौदेखि कृषि उपज थोक बजार केन्द्र सञ्चालन भएको हो । केन्द्रमा बुटवल उपमहानगरपालिका, संघीय कृषि निर्देशनालय र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यापारी सङ्घको त्रिपक्षीय लगानी छ ।

सुरुका वर्षमा १० प्रतिशत मात्रै स्वदेशी कृषि उपजको बिक्री हुने केन्द्रमा हाल ३६ प्रतिशत स्वदेशी उत्पादनले ओगटेको छ । स्थापनाका बेला ६० प्रतिशत भारतीय हरियो तरकारी बिक्री हुने केन्द्रमा अहिले ७६ प्रतिशत स्वदेशी बिक्री हुन्छ । ९८ प्रतिशत आलु र प्याज भारतीय बजारबाट आएपनि स्वदेशी लसुनले ३० प्रतिशत ओगटेको छ ।

स्थापनाका बेला ९५ प्रतिशत विदेशी फलफूलमा निर्भर रहेकोमा हाल स्वदेशी केराले ७०, सुन्तला र आपले २० प्रतिशत ओगटेको छ । बुटवल उपमहानगरपालिकाका लेखा अधिकृत शङ्कर ढकालले केन्द्रबाट उपमहानगरले मात्रै वार्षिक ६० लाख रुपैयाँ आम्दानी गरेको बताए ।

१ बिगाह ८ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि उपज थोक बजार केन्द्रमा हाल ६ करोड ८० लाखको लगानीमा बनेका भुइँतलाका ६५ वटा सटरबाट कृषिउपज कारोबार हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस