अर्थतन्त्रमा सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनुपर्छ : वर्षमान पुन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अर्थतन्त्रमा सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनुपर्छ : वर्षमान पुन


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले मुलुकको आर्थिक अवस्था सुधारका लागि विशेष पहल गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभामा बिहीबार विशेष समयमा बोल्दै पुनले आर्थिक मन्दीको अवस्था अन्त्यका लागि विज्ञसहित सम्बद्ध क्षेत्रको सुझाव लिएर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

व्यवसायीहरूमा व्याप्त असुरक्षाका कारण बजारमा माग नहुँदा बैंकहरूमा रकम थुप्रिएर बसेको उनको भनाइ थियो।

पूर्वअर्थमन्त्री समेत रहेका पुनले सरकारले निजी क्षेत्रको मनोबल उठाउने गरी काम गर्नुपर्ने बताए।

‘पछिल्लो समय आर्थिक मन्दीको अवस्था छ। मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले त्यसबारे बोल्नुपर्छ। बाह्य क्षेत्र राम्रै रहे पनि आन्तरिक रूपमा अर्थतन्त्र चलायमान हुन सकेको छैन’, पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उठाउने काम गर्नुपर्छ। निजी क्षेत्रसहित सरोकारवाला सबैको सुझाव लिएर लगानीकर्तामा रहेको डर हटाउन सरकारले पहल गर्नुपर्छ।’

उनले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिए पनि विगतका वर्षहरूमा जस्तो आयात नहुनुको कारण खोज्न सरकारलाई आग्रह गरे।

सेयर बजार र घरजग्गाको कारोबारमा सुस्तता आएको, साना लगानीकर्ता टाट पल्टिएको र ठूला लगानीकर्ता पनि समस्यामा परेको उनको भनाइ थियो।

चाडपर्वमा कालोबजारी र अभाव रोक्न र सहज रूपमा उपभोग्य सामान पाउने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका सीप र धन नेपालको विकासमा लगाउन नीतिहरूमा आवश्यक लचकता अपनाउन जरुरी रहेकोमा जोड दिए।

संविधानको व्यवस्थाअनुसार हालै जारी भएको नागरिकता विधेयकले गैरआवासीय नागरिकताको व्यवस्था गरेको भए पनि व्यवहारिक जटिलता देखिएकाले त्यसमा सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता अन्तर्गत राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्थाले संसारभर छरिएका नेपालीलाई नेपालका लगानीको वातावरण बनाएको बताए।

‘गैरआवासीय नेपालीले नेपालमा लगानी गरिहेका छन्। थप लगानी गर्न चाहेका छन्’, उनले भने, ‘अमेरिकासहित केही देश र नेपालको करसम्बन्धी व्यवस्थामा मेल नखाएका कारण दोहोरो कर तिर्नुपर्ने अवस्था छ’, पुनले भने, ‘ती देशसँग दोहोरो कर अन्त्यसम्बन्धी सम्झौताका लागि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस