जीवन र खाद्यसँग पानीको एक जीवन्त सम्बन्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जीवन र खाद्यसँग पानीको एक जीवन्त सम्बन्ध


२० आश्विन २०८०, शनिबार


पानी एउटा अनुपम प्राकृतिक स्रोत हो जसले यो संसारलाई नै जीवन्त तुल्याएको छ । मानव जीवनका साथसाथै जङ्गली जनावर, चराचुरुङ्गी तथा बोटबिरुवाले हराभरा देखिएको यो संसार पानीमा नै आश्रित रहेका छन् । पानी हाम्रो जीवनको अभिन्न अङ्ग हो । पानी र जीवनबिच अन्योन्याश्रित सम्बन्ध छ। सबै जीवित प्राणी पानीमा निर्भर हुन्छन् । पानी जीवनको आधार मात्र नभएर जीवनलाई गतिशील बनाउने प्रमुख तत्त्व पनि हो ।

हामीले सास फेर्ने हावा जत्तिकै महत्त्वपूर्ण पानीलाई मानिन्छ। भनिन्छ “पानी र जवानी निरन्तर बगिरहने बस्तु हो”। यसको बुद्धिमत्तापूर्ण प्रयोग र व्यवस्थापन गर्न सक्नु पर्दछ नत्रभने यिनले नकारात्मक परिणामहरू पनि निम्त्याउँदछन् । यी दुबैलाई आफ्नो सीमा भित्र राख्न सकेमा जीवन सार्थक बन्छ अन्यथा घातक बन्न सक्छ । पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । यसका सञ्चित र भण्डारणका विभिन्न रूपहरू हुन्छन् । पृथ्वीको करिब ७० प्रतिशत भाग पानीले भरिएको छ। त्यसमध्ये ९४ प्रतिशत पानी समुद्र तथा महासागरको रूपमा रहेको छ जुन नुनिलो हुने हुँदा पिउनयोग्य छैन। पृथ्वीमा दुई तिहाइ भागमा पानी भए पनि पिउनयोग्य पानी (फ्रेस वाटर) ६ प्रतिशत छ । हिउँ जमेर बरफको रूपमा पृथ्वीका हिमाल र हिमशृङ्खलाहरू निर्माण भएका छन्। पृथ्वीमा रहेको सबै बरफ पग्लने हो भने यसबाट जति पानी पाइन्छ, त्यसबाट एक हजार वर्षसम्म पृथ्वीमा प्रयोग गर्न पुग्ने पानी उपलब्ध हुन्छ।

एउटा व्यक्ति स्वस्थ रहन दैनिक दुई देखि पाँच लिटर पानी पिउनु पर्दछ। तर शरीरको न्यूनतम आवश्यकता पुरा गर्न दैनिक करिब ७५० मिलिमिटर पानी आपूर्ति भएपनी शरीरले आफ्नो सम्पूर्ण कार्य गर्न सक्दछ। गर्मी ठाउँमा शरीरबाट पानी पसिनाको रूपमा वाष्पीकरण हुने भएको कारण शरीरलाई पानीको आवश्यकता गर्मी ठाउँमा बढी र जाडो ठाउँमा कम हुने गरेको पाइन्छ।

मानिसको शरीरको तौलको करिब ८० प्रतिशतसम्म पानी हुने हुनाले मानव जीवनमा यसको आवश्यकता र महत्त्व धेरै भएको हो। त्यसैले शरीरको तौलभन्दा २० प्रतिशत तरल पदार्थ घटेमा मानिसको मृत्यु हुने सम्भावना हुन्छ। यसरी पानीबिना मानिस १० दिन मात्र बाँच्न सक्छ । त्यसैले पानीलाई जीवनको एक अभिन्न अङ्गको रूपमा लिइएको हो।

धान: धान बालीमा प्रति दिन ७-१० मि. मि. गरी जम्मा ११०० देखि १२५० मि मि (मौसमको अवस्था अनुसार) पानी आवश्यकता पर्दछ । सो मध्ये ३% (४० मि. मि.) नर्सरीमा, १६% (२०० मि मि) जमिन तयारीको बेला, ८१% (१००० मि मि) रोप्ने देखि कटानी सम्म आवश्यक हुन्छ । धान बालीको सिचाई प्रति संवेदनशील अवस्थाहरू रोप्ने बेला, बिरुवा हुर्कने बेला, दाना लाग्ने बेला र दाना पाक्ने बेला हुन् ।

बदाम: बदाममा ५००-५५० मि. मि. पानीको आवश्यकता पर्दछ । बदाम लगाएको ३५ दिन देखि उखेल्नु भन्दा ३५ दिन अगावै पानीको वाष्पीकरण कम हुने हुँदा पानीको आवश्यकता कम पर्ने हुन्छ ।

उखु: उखु बालीमा १८००-२२०० मि.मि. पानीको आवश्यकता पर्दछ। उखु लगाएको १२० दिन पछि पानीको आवश्यकता अत्यधिक हुने गर्दछ। उखु पाक्ने बेला जमिनमा पानीको उपलब्धता कम गर्दै जानु पर्दछ जसले गर्दा उखुको वृद्धि विकास रोकिन्छ र Sucrose को मात्रा बढ्छ ।

मकै: मकैलाई ५००-६०० मि. मि. पानी चाहिन्छ । यसलाई धेरै पानी आवश्यक भएपनी पानीको उचित प्रयोग हुन्छ। मकैको सिचाइको लागि खासगरी टासिलिङ, सिल्कीङ र इयर्ली डग अवस्था बढी संवेदनशील हुन्छ ।

दलहन: यसलाई २००-४५० मि मि पानीको आवश्यकता पर्दछ । दलहन बालीहरू खासगरी आकाशको पानीको भरमा खेती गरिन्छ । उरिद, मुँगी आदी सिञ्चित जमिनमा लगाइने बालीहरू हुन जसलाई उम्रिने फुल फुल्ने र कोसा आउने जस्ता संवेदनशील अवस्थामा अनिवार्य सिचाइको व्यवस्था गर्नु पर्दछ ।

पानीमैत्री प्रविधि र अभ्यासहरू

·         तराई क्षेत्रमा जमिन मुनी र पहाडी क्षेत्रमा खोलानालाबाट पानी तानेर सौर्यउर्जाकोमा आधारित सिचाई प्रणाली प्रयोग गरी पानी अभाव हुने क्षेत्र वा समयमा खेतबारीमा सिचाई गर्न सकिन्छ ।

·         पहाडी क्षेत्रमा खेती गर्ने ठाउँको नजिकै पोखरी निर्माण गरी पानी जम्मा गर्ने र आवश्यकताको बेला उक्त पानी प्रयोग गर्न सकिन्छ ।

·         प्लास्टिक घरमा गरिने तरकारीबालीहरुमा थोपा सिचाई तथा फोहोरा सिचाई प्रविधि प्रयोगमा ल्याई पानीको उचित सदुपयोग गर्न सकिन्छ ।

·         लामो समय पानी परेको बेला उर्बरशिल जमिनको मलिलो माटो बगाएर लग्ने सम्भावना भएको हुँदा पानीको निकासको लागि उचित ढल व्यवस्थापन कार्यमा ध्यान दिनु पर्दछ ।

·         धान बालीमा अत्यधिक पानीको आवश्यकता पर्ने हुँदा सघन धान खेती प्रणाली अवलम्बन गरी कम पानीको प्रयोग गरी अत्यधिक उत्पादन लिन सकिन्छ ।

·         विभिन्न किसिमका पातपतिङ्गर, परालको छापो तथा प्लास्टिक मल्चिङगको प्रयोग गरी बढी समयसम्म माटोमा चिस्यान कायम गर्न सकिन्छ ।

·         खडेरी भएको बेला सुख्खा सहन सक्ने धानका जातहरू जस्तै सुख्खा धान १,२,३,४,५,६ र बाढीको प्रकोप भएको बेला डुबान सहन सक्ने धानका जातहरू जस्तै बहुगुणी १ र २, स्वर्णा सव १ र सावा मसुली सव १ धानका जातहरू लगाउन सकिन्छ ।

सन्दर्भ सामग्री:

Tags :
प्रतिक्रिया दिनुहोस