कपिलवस्तु प्रशासनले गर्‍यो सुरक्षा चुनौती र कार्यालयका सेवाबारे ६ निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कपिलवस्तु प्रशासनले गर्‍यो सुरक्षा चुनौती र कार्यालयका सेवाबारे ६ निर्णय


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र जिल्लामा क्रियाशील संचारकर्मीहरुसँग छलफल गरेको छ ।

नजिकिँदै गरेका चाडबाड र सो क्रममा हुन सक्ने सुरक्षा चुनौती र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भइरहेको सेवाको चालु र गत आ व को प्रगति सम्बन्धमा छलफल गरेको हो ।

कपिलवस्तु प्रशासनका अनुसार जिल्लामा शान्ति सुव्यवस्था र सुशासन कायम गर्न जिल्ला प्रशासन कार्यालय अनवरत रूपमा लागिरहेको र त्यसका सकरात्मक प्रभाव समेत देखा परिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले नियमित सुरक्षा व्यवस्था तथा चाडबाड लक्षित गरी विशेष सुरक्षा योजना पारित गरी लागु गरिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

जिल्लामा चाडबाड लक्षित बजार अनुगमन सरकारी कार्यालयहरूको नियमित अनुगमन निरीक्षण सरकारी कार्यालयहरू र स्थानीय तहसँगको समन्वयमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार कार्यालयले प्रत्येक तहले नागरिकको सेवामा अनवरत लागिरहेको अवस्थामा समेत बिचौलिया प्रवृत्तिका व्यक्तिहरूले कार्यालयको विषयमा गलत मनसाय वाट प्रेरित रहेर मिथ्या सूचना भ्रामक असत्य र कपोकल्पित सूचना प्रवाह गर्दा सेवा प्रवाह गर्ने निकाय कर्मचारी आम सेवाग्राहीमा पर्ने नकारात्मक प्रभाव र स्वयं पत्रकार लगायत सम्बन्धित पक्षको पेशागत मर्यादा आचरणमा समेत प्रश्न चिन्ह खडा हुने तर्फ सचेत रहन अनुरोध गरेको छ ।

सो अवसरमा सेवा प्रवाह चुस्त एवं सेवाग्राही मैत्री भएको तथा जिम्मेवार पूर्ण ढङ्गले कार्य सम्पादन गरेको हुँदा गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को कार्य सम्पादन मूल्याङ्कनको नतिजामा ९२ अङ्क प्राप्त गरी कपिलवस्तु जिल्ला अति उत्कृष्टको सुचीमा पर्न सफल भएको छ । यसमा सबै पक्षको साथ र सहयोग रहेको छ तथा आगामी दिनमा समेत थप सहयोगको अपेक्षा गरिएको प्रजिअ आचार्यले बताए ।

देशको विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न भइरहेको र कपिलवस्तु जिल्ला समेत सो हिसाबले संवेदनशील जिल्ला रहेकोले यस तर्फ सबै सजग रहनुपर्ने तर्फ बैठकका सहभागीहरूले जोड दिएका थिए ।

यस्ता छन् बैठकका निर्णयहरू

१. जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले प्रचलित कानून एवं आचारसंहिताको पूर्ण पालना गर्दै सत्य र तथ्य, वस्तुनिष्ठ भई समाचार र सन्तुलित विचार सम्प्रेषण गर्ने ।

२. पत्रकार तथा सञ्चार माध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषा भाषी र अल्पसङ्ख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुर्‍याउने ।

३. पत्रकार तथा सञ्चार माध्यमले प्रचलित कानून बमोजिम विभिन्न जात–जाती, धर्म सम्प्रदाय संस्कृति बिचको सु–सम्बन्ध र सामाजिक सद्भाव खलल पार्ने जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी सामाग्री प्रकाशन तथा प्रसारण नगर्ने ।

४. जिल्लामा हुन सक्ने विभिन्न किसिमका गैरकानूनी क्रियाकलापहरूको सूचना समयमै स्थानीय प्रशासनलाई गर्ने तथा त्यस्ता क्रियाकलापलाई आ–आफ्नो क्षेत्रबाट निरुत्साहित गर्न क्रियाशील रहने ।

५. समाचार प्रकाशन तथा प्रसारण गर्दा त्यस्तो समाचारको विश्वसनीयता, त्यसले सामाजिक रूपमा पार्ने असर र विषयको गाम्भीर्ययतालाई मध्यनजर गर्दै सही समाचार सम्प्रेषण गर्ने तथा आफ्नो परिचय लुकाइ गलत समाचार सम्प्रेषण नगर्ने ।

६. विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने र राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्मसम्मानमा ठेस पुर्‍याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढावा दिने सामाग्री प्रकाशन तथा प्रदर्शन सम्बन्धी कार्य कानुनतः दण्डनीय हुने हुँदा प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन नगर्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस